कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'स्वास्थ्य सामग्रीको दुई अर्ब भ्रष्टाचार र पशुपतिमा सुन भनी पित्तल राखेको' भन्ने शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गतेको बैठकमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरेको भनेको र पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेको भनेका शब्द हटाउन निर्देशन दिएका छन् । 

'स्वास्थ्य सामग्रीको दुई अर्ब भ्रष्टाचार र पशुपतिमा सुन भनी पित्तल राखेको' भन्ने शब्द हटाउन सभामुखको निर्देशन

प्रतिनिधिसभाको शनिबारको बैठकमा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी एमालेको माग र सोही विषयलाई लिएर संसद् अवरोध गरेपछि संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

एमालेले पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल राखेको भन्ने शब्द हटाउन माग गरेको थियो । तर, शनिबारको बैठकमा सभामुख घिमिरेले भने कोरोनाकालमा स्वास्थ्य सामग्री खरिदमा दुई अर्ब भ्रष्टाचार गरेको भन्ने शब्द पनि हटाउन निर्देशन दिइएको हो । 'स्वास्थत्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु,' सभामुखले भने ।

त्यसपहिले प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी दिएका थिए । उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले पशुपतिनाथमा जलहरी राख्ने क्रममा भएको अनियमितताको अख्तियारले स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने बताएका थिए । पशुपति विकास कोषससँग सम्बन्धित उक्त विषयको छानबिनमा सरकारले सघाउने पनि उनको भनाइ थियो ।

प्रतिनिधिसभाको जेठ १० को बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, पशुपतिनाथमा जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखिएको बताएका थिए । त्यतिबेला प्रधानमन्त्री औलीले त्यस्तो हुनबाट नरोकेको उनले बताएका थिए । सांसद दाहालको उक्त भनाइप्रति प्रमुख प्रतिपक्षी एमालेले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित : जेष्ठ १३, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?