कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय दुई वर्षभित्र टुंग्याउँछौं : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम दुई वर्षभित्र टुंग्याउने बताएका छन् । उनले प्रमुख राजनीतिक दलहरूबीच संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगोमा पुर्‍याउने समझदारी भएको पनि बताए । 

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय दुई वर्षभित्र टुंग्याउँछौं : प्रधानमन्त्री 

१४ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता र सत्य निरुपणको काम अन्तिम चरणमा रहेको बताए ।

'अब यो बेपत्ता योद्धाहरूको छानबिनको कुरा र सत्य निरुपणको कुरा पनि अन्तिम चरणमा छ । सबैतिर सहमति बनाएर अब केही दिनभित्र त्यो विधेयक पारित गरेर आयोगमार्फत हामीले हिजोमात्रै तपाईंहरूले सुन्नु भयो नीति, कार्यक्रममा हामीले अबको दुई वर्षभित्र सम्पूर्ण काम टुंग्याउने गरी काम अगाडि बढाउँछौं भनिएको छ,' उनले भने, 'त्यसकारण यो कुरा तपाईंहरुलाई आज सुनाउन पाउँदा मलाई विशेष खुसी र गर्व पनि महसुस हुन्छ, हामी टुंग्याउँछौं । त्यसमा नेपाली कांग्रेस, एमालेसहितका दलको पनि सहमति र प्रतिबद्धता भइसकेपछि हामीलाई धेरै सजिलो भएको छ, यो टुंगिन्छ ।'

प्रधानमन्त्री दाहालले बेपत्ता योद्धाहरूको स्थिति सार्वजनिक गर्ने, उनीहरूलाई सहिदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपुरणसहितको व्यवस्था गर्न आफू लागिपर्ने बताए । जनयुद्ध र जनआन्दोलनका योद्धाहरूलाई सहिद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले संसद्भित्र पनि सबै राजनीतिक दल र संसद् बाहिरका पीडितहरूसँग पनि समझदारी बनाएर सत्य निरुपण तथा बेपत्ता आयोग सम्बन्धी विधेयक पारित गर्ने पक्षमा सरकार रहेको बताए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक' दर्ता भएको छ । उक्त विधेयक संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा पुगेको छ । उक्त समितिले उपसमिति गठन गरेर काम अगाडि बढाएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले उक्त विधेयकलाई सहमतिमा नै टुंगो लगाएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउने बताएका हुन् ।

प्रकाशित : जेष्ठ ७, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?