कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिम्ब र वीर्य दानको केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ : सांसद गौतम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा महिलाको डिम्ब र पुरुषको वीर्य दानका लागि केन्द्रीकृत तथ्यांक राख्ने प्रणालीको व्यवस्था गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद गौतमले उक्त माग राखेकी हुन् । 

डिम्ब र वीर्य दानको केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ : सांसद गौतम

नेपालमा वीर्य र डिम्ब दानको अभ्यास बढिरहेको बताउँदै सांसद गौतमले यसका लागि सरकारले आधिकारिक तथ्यांक राख्ने प्रणाली राख्नुपर्ने बताइन् । 'बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणाली अपनाएर बच्चा जन्माउने पनि प्रचलन बढिरहेको छ । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक हुनुपर्छ,' उनले भनिन्, 'स्पर्म डोनेसन (वीर्य दान) र एग डोनेसन (डिम्ब दान)का कुराहरू निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।'

सांसद गौतमले नेपालमा 'पार्ट टाइम' जागिरको व्यवस्था गर्नुपर्ने र त्यसलाई राज्यले नै अपनाउनुपर्ने बताइन् । त्यसले श्रम संस्कृतिको विकास गर्ने र रोजगारी वृद्धि हुने उनको भनाइ थियो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा कुरा पनि समेटिएका सांसद गौतमको भनाइ थियो । 'सरकाले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू समेटिएका छन् । धेरै महत्वाकांक्षी कुराहरू पनि समेटिएका छन्,' उनले भनिन् ।

पुरानै नीति तथा कार्यक्रमलाई शब्द परिवर्तन गरेर ल्याइएको हो कि भन्ने सांसद गौतमको भनाइ थियो । 'हामी बुझ्छौं यस्तो किन भयो एउटा पुरानो ट्रे‍डिसनल कल्चर जस्तो पनि भइसकेको छ । नीति तथा कार्यक्रम होस्, बजेट होस्, पुराना शब्दहरूलाई फेरबदल गर्ने र तिनै पुराना कुराहरू दोहोर्‍याउने कल्चर पनि बनिसकेको छ,' उनले भनिन् ।

सांसद गौतमले रास्वपा रचनात्मक प्रतिपक्षी हुने बताइन् । उनले राम्रा कामको प्रशंसा र नराम्रा कामको विरोध गर्ने तथा सरकारलाई खबरदारी गरिरहने पनि जानकारी दिइन् । 'सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रूपमा बुझ्ने चलन छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ, रास्वपा रचनात्मक प्रतिपक्षी हो । सरकारलाई राम्रो कुरामा प्रशंसा गर्छ, सरकारलाई सघाउँछ पनि त्यसै समयमा सरकारलाई खबरदारी पनि गर्छ, नराम्रो काम गर्ने हो कि भनेर,' उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ ७, २०८० १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?