कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

नास्ट उपकुलपति नियुक्त गर्न प्रधानमन्त्री दाहालको बेवास्ता

४ महिनादेखि रिक्त रहेको उपकुलपति नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहाललाई नास्ट प्रशासनले पटक-पटक पत्राचार गरे पनि बेवास्ता गर्दै आएका छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नास्ट)को उपकुलपति नियक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बेवास्ता गरेका छन् । ४ महिनादेखि रिक्त रहेको नास्टको उपकुलपति नियुक्त गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले बेवास्ता गरेका छन् ।

नास्ट उपकुलपति नियुक्त गर्न प्रधानमन्त्री दाहालको बेवास्ता

निर्वतमान उपकुलपति सुनिलबाबु श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत माघ ३ गते बिदा भएका थिए । कार्यकाल सकिनुअघि उनले कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहाललाई पुसमै लिखित जानकारी गराएका थिए ।

नास्टले माघ १० गते श्रेष्ठको कार्यकाल समाप्त भएको लिखित जानकारी कुलपति दाहाललाई गराएको थियो । यस्तै, माघ २० गते उपकुलपतिको पद रिक्त भएको र खाली भएकाले व्यवस्था गरिदिनु भनेर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीलाई जानकारी गराएको थियो । त्यसपछि पनि नास्टले गत वैशाख २० गते विज्ञान मन्त्रीलाई अर्को पत्र लेखेर नास्टमा उपकुलपति रिक्त रहेको जानकारी दिएको थियो । नास्टको सहकुलपति शिक्षामन्त्री हुन्छन् ।

पटक-पटक गरेर नास्टमा उपकुलपति रिक्त भएको जानकारी दिँदासमेत प्रधानमन्त्रीले बेवास्ता गर्दै आएका छन् । उपकुलपतिको नियुक्ति प्रधानमन्त्री(कुलपति)ले गर्ने व्यवस्था छ । यसका लागि कुलपतिले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्यहरुको रहेको एक सिफारिस समिति गठन गर्ने व्यवस्था छ । समितिले सिफारिस गरेका व्यक्तिहरुमध्येबाट एक जनालाई उपकुलपतिमा प्रधानमन्त्रीले चयन गर्ने व्यवस्था छ ।

नास्टका प्राज्ञसमेत रहेका मौसमविज्ञ मदनलाल श्रेष्ठ विज्ञान तथा प्रविधिको क्षेत्रमा देशकै मुख्य संस्थालाई धेरै महिनासम्म उपकुलपति खाली हुनु राम्रो नभएको बताए । ‘ प्रधानमन्त्री कुलपति हुनुहुन्छ । यस्तो खालको संस्थालाई खाली राख्नु हुँदैन । सकेसम्म चाँडो निर्णय लिनु पर्छ,’ श्रेष्ठले भने । यस्तै उनले राजनीतिक हस्तक्षेप नगरी क्षमता,योग्यताको आधारमा उपकुलपति नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

नास्टको उपकुलपतिको कार्यकाल ४ वर्ष हुन सक्ने र थप एक पटक सोही पदमा पुनःनियुक्त गर्न सकिने उल्लेख छ । ऐनले नास्टको प्रज्ञासभा र परिषद्ले गरेका निर्णयहरु र निर्देशन कार्यान्वयन गर्ने गराउने अभिभारा उपकुलपतिमा रहने व्यवस्था गरेको छ ।

नास्टमा पछिल्लो समय राजनीतिक क्षमता र योग्यताभन्दा पनि दलीय आस्थाका कारण उपकुलपति र प्राज्ञ हुने गरेका दृष्टान्त छन् ।

नास्टमा हालसम्म ७ जना उपकुलपति भए र दुई जनाले निमित्त उपकुलपति भएर काम गरे । तत्कालीन शाही सरकारले २०३९ सालमा नास्टको गठन गर्दै प्रा. डा. रत्नशमशेर जबरालाई उपकुलपतिमा नियुक्ति गरेको थियो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा बहाल रहेकै बेला तत्कालीन सरकारले जबरालाई नास्टको उपकुलपतिमा नियुक्त गरेको थियो । कार्यकाल सकिनुअघि नै उनले राजीनामा दिएपछि नास्ट नेतृत्वविहीन भएको थियो । जबराले राजीनामा दिएपछि निमित्त उपकुलपतिकारूपमा प्रा.डा. पारशनारायण सुवालले करिब दुई वर्ष नास्टको नेतृत्व गर्ने मौका पाए ।

२०४९ सालमा नास्टको ऐन राजपत्रमा प्रकाशित भएपछि १५ जना प्राज्ञमा नियुक्त भएका थिए । त्यसबेला प्राज्ञहरूमध्येबाट उपलकुलपति चयन हुने व्यवस्था थियो । प्राज्ञहरूले मतदान गरेर उपकुलपतिका लागि मदनलाल श्रेष्ठलाई सिफारिस गरेपछि उनी उपकुलपति भए ।

३ वर्ष मात्रै काम गरेका श्रेष्ठपछि नास्टका प्राज्ञ प्रा.डा. धुव्रमान आमत्यले २ वर्षसम्म निमित्त उपकुलपति भएर काम गरेका थिए । त्यसपछि नियुक्त भएका प्रा.डा. दयानन्द बज्राचार्य दुई कार्यकाल नास्टको उपलकुलपति भएका थिए ।

बज्राचार्यपछि नास्टमा राजनीतिक आस्थाका आधारमा उपकुलपति नियुक्ति हुँदै आएका छन् । प्रा.डा. होमनाथ भट्टराई र सुरेन्द्रराज काफ्ले राजनीतिक कोटाबाट प्राज्ञ नै नभइकन उपकुलपतिमा नियुक्त भएका थिए । पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेल र डा. सुनिलबाबु श्रेष्ठ पनि राजनीतिक पहुँचको आधारमा नियुक्ति भएका थिए ।

हाल नास्टको उपकुलपतिका लागि माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकटका व्यक्तिहरुले लबिइङ गरिरहेका छन् । यस्तै, सत्ता गठबन्धनका अन्य दल निकटहरूले पनि उपकुलपतिका लागि नेताहरूसँग भेटघाट र दौडधुप गरिरहेका छन् ।

प्रकाशित : वैशाख २६, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?