कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीरा हत्यामा प्रहरी अलमलमै

व्यस्त बजारमा दिनदहाडै भएको घटनाका दोषी सार्वजनिक नगरेसम्म अन्त्येष्टि नगर्ने अडान
विद्या राई

काठमाडौँ — ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्या प्रकरण छानबिन गर्न प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै पीडित पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् । कपनको सरस्वतीनगरस्थित आफ्नै पसल ‘नीरु किचेन’ भित्र बीभत्स हत्या गरिएको अवस्थामा उनी भेटिएकी थिइन् ।

नीरा हत्यामा प्रहरी अलमलमै

घटना भएको दसौं दिनसम्म पनि हत्यामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ भएको भन्दै पीडित पक्ष, सरोकारवाला, अधिकारकर्मीले शनिबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै अनुसन्धान गरी चाँडो सत्यतथ्य पत्ता लगाउन माग राखेका हुन् ।

प्रदर्शनमा बोल्दै नीराका आफन्त श्याम तिमल्सिनाले भने, ‘दसौं दिनसम्म पनि हत्यारालाई सार्वजनिक नगर्दा कतै राज्य नै हत्यारा संरक्षणमा लागेको हो कि भन्ने शंका गर्ने स्थितिमा पुगेको हुँदा प्रदर्शन गर्नुपरेको छ ।’ मृतकका दाजु यमलाल पाण्डेले पनि अनुसन्धानमा ढिलाइ भइरहँदा सरकारमाथि नै आशंका उब्जिएको टिप्पणी गरे । ‘प्रहरी प्रशासनको ढिलाइले आशंका गर्नुपर्ने स्थिति भएको छ,’ उनले भने । नीराका बुबा ईश्वरीप्रसादले हत्यारा छिटो सार्वजनिक गरिदिन आग्रह गरे । नीराका श्रीमान् योगेन्द्र आचार्यलाई प्रहरीले अनुसन्धानमा राखेको उनका दाइले जानकारी दिए ।

‘नागरिकले रोजीरोटीका लागि व्यापार, व्यवसाय गर्ने क्रममा ज्यान गुमाउनुपर्छ भने कस्तो खालको राज्य निर्माणमा नेता लागेका हुन् ?,’ प्रदर्शनमा राजनीतिक नेतृत्वमाथि प्रश्न गर्दै नीराका आफन्तले भने, ‘जवाफ माग्न संसद् भवन जाने छौं, सिंहदरबार छिर्ने छौं, अदालतको ढोका ढक्ढक्याउने छौं ।’

यसअघि सरस्वतीनगर, बौद्ध, कपनको प्रहरी प्रभाग तथा चौकी चाबहिलमा समेत आन्दोलन गर्दै सरकारको खबरदारी गरिएको छ । दिनदहाडै हत्या हुन थालेपछि स्थानीय, व्यापारीले शान्ति सुरक्षाको माग गरेका छन् भने सांसदहरूले पनि चाँडो अनुसन्धान गरी सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

नीरा गत वैशाख ७ मा दिउँसो ३ बजे ‘नीरु किचेन’ भित्रै मृत फेला परेकी थिइन् । उनको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । नीराका आफन्त सचिन पाण्डेका अनुसार अर्घाखाँची माइती भएकी नीराको बागलुङका योगेन्द्रसँग विवाह भएको थियो । उनीहरू व्यापार, व्यवसाय गर्दै काठमाडौंमा बस्दै आएका थिए । विवाह गर्नॅअघि नीरा सुकेधारास्थित आफ्नै दाइ यमलालको पसलमा डेढ वर्षजति सहयोगी भएर काम गरेकी थिइन् । आफन्त सचिन पाण्डेले बताए, ‘उहाँको दाइसँग बुझ्दा बुढाबुढीबीचको सम्बन्ध एकदमै राम्रो थियो भन्नुभएको छ ।’ ‘नीरु किचेन’ भन्दा केही पर अर्को पसल उनका श्रीमान्ले सम्हाल्थे ।

घटनाको दिन एक ग्राहक ‘नीरु किचेन’ पुग्दा नीरुलाई नदेखेपछि सोधखोज गर्दा पसलभित्रै चोटैचोट, रक्ताम्य स्थितिमा भेटिएकी थिइन् । प्रहरी प्रभाग, कपनको टोली घटनास्थल पुगेपछि नीरालाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । नीराको शव हाल त्रिवि अस्पतालमै राखिएको छ । हत्यारा सार्वजनिक नभएसम्म दाहसंस्कार नगर्ने भन्दै नीराका आफन्त आन्दोलनरत छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता कुवेर कडायतले प्रारम्भिक अनुसन्धान भइरहेको हुँदा शुक्रबार गठित उच्चस्तरको छानबिन समितिले अनुसन्धान नसकी तत्कालै कसैलाई सार्वजनिक गर्ने अवस्था नरहेको बताए । ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, उहाँ (नीरा) व्यापारी हो, पारिवारिक, आर्थिक कुरालगायत विभिन्न कोणबाट यसलाई माथिल्लो तहबाटै छानबिन, सहजीकरण गर्नका लागि एआईजीको ‘कमान्ड’ मा उच्चस्तरको छानबिन समिति गठन गरेको छ, ‘क्लु’ मा पुग्दै छ,’ उनले भने, ‘अहिल्यै भन्नु हतारो हुन्छ ।’

हत्या प्रकरणको अनुसन्धान गर्न शुक्रबार प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी किरण वज्राचार्यको नेतृत्वमा उच्चस्तरको छानबिन समिति गठन गरेको उनले बताए ।

प्रकाशित : वैशाख १७, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?