कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

बत्तीस सिट भएको पार्टीले देश चलाउन सक्दैन : भट्टराई

आनन्द गौतम

ताप्लेजुङ — एमालेका सचिव योगेशकुमार भट्टराईले ३२ सिट भएको पार्टीले देश चलाउने सम्भावना नभएको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनमतबाट बढी सिट पाएका दलहरुलाई पुच्छर लगाएर थोरै सिट भएको पार्टीका नेताले मुलुक चलाउँदा जनताको अपमान भएको पनि उनको भनाइ थियो ।

बत्तीस सिट भएको पार्टीले देश चलाउन सक्दैन : भट्टराई

‘सरकारको तीन महिनाको अवधि सकियो, प्रधानमन्त्री मेला, भेला उद्घाटन गरेर हिँडेका छन्,’ भट्टराईले थपे, ‘दिशाहीन सरकारको कुरा सुरक्षाकर्मी, निजामती कर्मचारीले पनि मान्दैनन्, कसरी देश चल्छ ? ।’

सरकारको गन्तव्य पत्ता नलागेकोले यो गठबन्धन कति रहन्छ भन्ने प्रश्न उठिसकेको उनले बताए । ‘यतिबेला मुलुकमा पैसा छैन, बजेट दिनानुदिन कटौती भएको छ, ५५ वर्षमा मुलुक राजस्वको लक्ष्यभन्दा उल्टो दिशामा छ,’ भट्टराईले थपे, ‘विदेश सम्बन्ध अविश्वासिलो छ, सुरक्षा निकाय कर्मचारीतन्त्रमा अन्योलता छ अनि कसरी सरकार चल्छ ।’ मुलुकलाई गति दिन एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि दाबी गरे ।

उनले गठबन्धन परिवर्तन गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत गरेको बताए । संसदीय व्यवस्थामा सरकार बदलिनु, नयाँ सरकार बन्नु अचम्म नभए पनि गठबन्धनको सरकार गठबन्धन सरकारकै प्रधानमन्त्रीले बदलेर संसदीय व्यवस्थाको विकृत रुप देखाएको दाबी गरे । उनले संसदीय व्यवस्था बदनाम भए पनि प्रधानमन्त्रीलाई कुनै अप्ठेरो नहुने बताए । मुलुकको अवस्था चितुवाको गतिमा दौडनुपर्ने भएकाले कछुवाका गति नलिन पनि प्रधानमन्त्रीलाई भट्टराईको सुझाव छ ।

'अर्थतन्त्रमा हामी श्रीलंकाको सन्नीकटमा पुगेका छौं,' भट्टराईले भने, 'त्यो अवस्था आउन दिनु हुँदैन यसमा सरकारले ठोस काम गर्नुपर्छ ।' उनले सरकारले बैंकको ब्याज ७ प्रतिशतभन्दा तल राख्नुपर्ने, सरकारको स्वामित्वमा रहेको आइडल मनी ल्याउनुपर्ने जस्ता सुझाव पनि दिए ।

प्रकाशित : चैत्र २५, २०७९ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?