एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु मिटरब्याज पीडितमाथि धोकाधडी हो : सांसद गैरे

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आइतबार शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अलमल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मिटरब्याज पीडितहरुलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरुलाई कारबाही गर्न पनि सरकारसँग माग गरे ।

‘मिटरब्याजीबाट पीडित नागरिकहरुमाथि फेरि धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अलमल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनु पर्छ । र, तत्काल पीडकहरुले कारबाही पाउनु पर्छ भन्ने कुरालाई म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भने ।

त्यस अवसरमा सांसद गैरेले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयको प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुले जवाफ दिने अनिवार्य व्यवस्था गर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : चैत्र १९, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

व्यवस्था कमजोर पार्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिलेको व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको दाबी गरे ।

‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौं । यसलाई हरहालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु हाम्रो लक्ष्य र कार्यभार हो,’ उनले भने, ‘यो उपलब्धि र राजनीतिक कार्यभारलाई कमजोर पार्ने गरी हुने कुनै पनि गतिविधिलाई रोक्न, यो व्यवस्थालाई कमजोर पार्ने कुनै पनि काम हुन नदिन सरकार दृढ र प्रतिबद्ध छ ।’

उनले सरकारले अब सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा केन्द्रित भएर काम गर्ने बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×