कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला बनिन् मन्त्री

काठमाडौँ — मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेसले ५ जनामात्र महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । त्यसमध्ये चार जना पराजित भए । प्रत्यक्षतर्फ जितको रेकर्ड राख्नेमा परिन् तेह्रथुमकी सिता गुरुङ । चुनाव जितेर आएकी गुरुङलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले मन्त्री बनाएको छ । गुरुङ सहरी विकासमन्त्रीमा नियुक्त भएकी छन् । 

कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला बनिन् मन्त्री

तत्कालीन प्रदेश १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ दुई जना मात्रै महिला उम्मेदवार थिए । सुजाता कोइराला र सीता गुरुङ । तीमध्ये गुरुङ मात्रै विजयी भएकी थिइन् ।

सिरहा २ मा चित्रलेखा यादव जसपाका राजकिशोर यादवसँग पराजित भइन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेकी डिना उपाध्याय मकवानपुर १ मा राप्रपाका दिपकबहादुर सिंहसँग पराजित भइन् । यस्तै अर्घाखाँचीमा पुष्पा भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । कांग्रेसबाट यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका पाँच महिलाहरूमध्ये सबैभन्दा कम अनुभव भएकी नेता सीता नै थिइन् । तर चुनावी परिणाम सीताको पक्षमा मात्रै आयो ।

यसैले पनि राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी सीताका लागि मन्त्री बन्न सहज बाटो बनिसकेको थियो । गुरुङ एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै विजयी भएकी हुन् ।

तेह्रथुमको आठराईस्थित इवामा जन्मिएकी ४५ वर्षीया गुरुङ ०४६ देखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । नेविसंघ, महिला संघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय बनेकी उनी शेरबहादुर देउवाको निकट नेताको रुपमा पनि चिनिन्छिन् । २०६२/६३ को जनआन्दोलनमा १८ दिन हिरासतमा परेकी थिइन् गुरुङ ।

यसअघि गुरुङ ०६४ र ०७० को संविधानसभामा समानुपातिक सदस्य थिइन् । त्यसपछि उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् । गुरुङ ०७४ को आम निर्वाचनमा पूर्वस्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।

सीता ०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव र ०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । ०७२ र ०७८ मा सम्पन्न कांग्रेसको केन्द्रीय महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भइन् ।

१८ वर्षको उमेर देखि नै राजनीतिमा आबद्ध रहेकी गुरुङ पार्टीका महिला संगठन र आदिवासी समुदायसँग पनि विशेष प्रभाव रहँदै आएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?