संक्रमणकालीन न्यायको विषय अन्तर्राष्ट्रिय मापदण्डअनुसार टुंग्याउनुपर्छ : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसाग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडि बढाउनुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरुप अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेगरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडि बढ्नुपर्ने बताए । त्यस्तै पीडितले न्याय पाउनुपर्नेसमेत बताए । अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्र्याकको नाममा अगाडि बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरूले विरोध गर्ने उनले बताए ।

अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउादै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरूले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको भन्दै उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए । उनले सहिद घोषणा पनि सरकारले छानबिन नगरिकन गरेको भन्दै त्यसको विरोध गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्ने/नउठ्ने हो, त्यो हेरिरहेको बताए । सीमा मिचिएको विषय साउती गर्ने विषय नभएको भन्दै उनले सार्वजनिक रुपमा छलफल गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र १६, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

बैंकविरुद्धका अराजक गतिविधिले देशको छवि बिग्रने बैंकरको चिन्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाविरुद्ध चलिरहेका अराजक गतिविधि र सडक आन्दोलनका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रन सक्ने भन्दै  बैंकरहरुले चिन्ता जनाएका छन् । अन्तर्राष्ट्रिय जगतले विस्तारै नेपालको आर्थिक क्रियाकलापलाई विश्वास गर्न लागिरहेका बेला बैंकविरुद्धका गतिविधिले नकारात्मक असर पर्ने उनीहरुको धारणा छ ।

अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक भएको, तरलताको अवस्था सहज भएको, ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा बैंक विरुद्धका गतिविधि भइरहँदा आफूहरुलाई पनि काम गर्न गाह्रो भएको र अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । संघले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिएमा झनै गाह्रो हुने बताए । ‘त्यसै पनि हाम्रो मुलुकमा अपेक्षित रुपमा प्रत्यक्ष विदेशी लगानी आउन सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा नेपालको बारेमा नकारात्मक गतिविधि भइरहँदा झनै असर पर्न सक्छ ।’ अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिँदा अत्यावश्यक वस्तु आयातका लागि समेत अप्ठेरो हुने उनले बताए ।

पछिल्ला केही महिना यता वित्तीय प्रणालीमा तरलता सहज अवस्थामा रहेको र विस्तारै कर्जा माग बढ्न थालेको उनले बताए । ब्याजदर घट्न थालिसकेको र आउँदा दिनमा झनै घट्ने भएकाले कर्जा प्रवाह पनि बढ्ने उनको भनाइ छ । परिस्थितिजन्य कारणले ऋणीको ऋण तिर्ने क्षमतामा कमी आएकाले बैंकहरुको खराब कर्जा केही बढे पनि आत्तिहाल्नु पर्ने अवस्था नभएको केसीको दाबी छ ।

प्रकाशित : चैत्र १६, २०७९ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×