ट्रेकिङमा तन्नेरी

बिदा सदुपयोग गर्न ट्रेकिङ जाने युवाको संख्या बढ्दै गएको छ, यसले मन शान्त हुने, तनाव भुलाउने र सिर्जनात्मक बनाउने उनीहरूको अनुभव छ
दीपक परियार

पोखरा — सात घण्टाको उकालो चढेर पोखरा हेमजाकी मोनालिसा थापा सात जनाको समूहमा माछापुच्छ्रे गाउँपालिकाको खुमैडाँडा पुगिन् । पछिल्लो समय आन्तरिक पर्यटकमाझ चर्चित ग्रेट माछापुच्छ्रे ट्रेलको पदयात्रामा उनी साथीसँग पुगेकी हुन् । भोलिपल्ट खुमैडाँडाबाट डेढ घण्टा उकालो चढेर कोर्चां लेक पुग्दा देखिएको दृश्यले उनको थकान मेटाइदियो । 

माइक्रोबायोलोजीमा स्नातकोत्तर पढ्दै गरेकी उनी बिदाको समय सदुपयोग गर्नुपर्दा पदयात्रा रोज्छिन् । दसैं र तिहारको बीचमा डोल्पाको शे–फोक्सुन्डो पुगिन् । यसअघि तिलिचो, थोराङ पास, मर्दी हिमाल, गोसाइँकुण्ड–लाङटाङको पदयात्रा गरिसकेकी छन् । दुई सातासम्मको पदयात्रा गरेकाले दुई दिनको खुमैडाँडा ट्रेक उनलाई छोटो लाग्यो । ‘दुई दिन भए पनि बिदाको समय सदुपयोग गरौं भन्नेका लागि यो ट्रेक राम्रो छ,’ शनिबार कोर्चां लेकमा माछापुच्छ्रे अघि उभिएर उनले भनिन्, ‘सहरबाट हिमालको यति नजिक आएर हिउँ खेल्ने यत्तिको राम्रो गन्तव्य अन्त छैन ।’

गाउँपालिकाको घाचोकबाट हिलेखर्क हुँदै खुमैडाँडा पुग्दा बाटोभरि छरिएका फोहोरले भने उनको मन कुँडियो । सामाजिक सञ्जालमा उनले खुमै जाने बाटोभरि गुराँस फक्रिएको देखेकी थिइन् । तर पदयात्रामा जाँदा गुराँसका पात भुइँभरि असरल्ल देखिन् । ‘अहिले युवापुस्तामाझ ट्रेकिङ क्रेज बढ्दो छ,’ उनले भनिन्, ‘तर यहाँ आउनेले बाटोमा फोहोर नफालिदिए हुन्थ्यो, लालीगुराँस नटिपिदिए हुन्थ्यो ।’ ट्रेकिङका लागि घरबाट निस्किएपछि आफ्नो अनुहारमा छुट्टै चमक आउने गरेको महसुस उनले गरेकी छन् । खुमै जाँदा उकालो, चिप्लो र भीरको बाटो, वर्षात्को पर्वाह गरिनन् । भन्छिन्, ‘यसरी यात्रा गर्दा आफ्नो क्षमता जाँच्ने अवसर मिल्छ ।’

उनीसँग धेरैजसो पदयात्रामा सँगै निस्किन्छिन्, पोखरा अर्मलाकी मनीषा भट्टराई । शे–फोक्सुन्डो जाँदा बाटोमा पहिरो गएपछि ६ दिन हिँडेको अनुभव दुई जनालाई छ । एक भारतीय कम्पनीमा मेडिकल रिप्रिजेन्टेटिभका रूपमा कार्यरत उनी लामो ट्रेक गर्न रुचाउँछिन् । ‘दैनिक जीवनमा जुन तनाव हुन्छ, ट्रेकिङ गएपछि मन शान्त हुन्छ,’ २५ वर्षीया उनले भनिन्, ‘नयाँ आइडिया आउँछन् । यसले मान्छेलाई सिर्जनात्मक बनाइदिन्छ ।’ प्रकृतिप्रतिको आफ्नो प्रेमले पदयात्रा गर्न प्रेरणा मिल्ने उनी बताउँछिन् ।

काठमाडौंकी सरस्वती अधिकारी सामाजिक सञ्जालकै कारण खुमैडाँडा आइपुगिन् । अघिल्लो दिन काठमाडौंबाट आएर उनी गत शुक्रबार खुमैडाँडा उक्लिइन् । भोलिपल्ट विहानै कोर्चां पुगिन् । ‘पहिलो दिन पानीमा रुझ्दै यात्रा गर्नु कठिन थियो,’ कोर्चांमा लामो श्वास तान्दै उनले भनिन्, ‘माथि आइसकेपछि स्वर्गको टुक्रामा आएजस्तो भयो ।’

स्याङ्जाका मनीष रानाले जीवनकै पहिलो ट्रेक आफ्ना पाँच जना साथीसँग खुमैडाँडामा गरे । बाटोभरि आफ्नै पुस्ताका पदयात्री देखेर उनले रमाइलो माने । ‘अहिले टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालकै कारण युवापुस्ता ट्रेकिङमा निस्कने गरेका छन्,’ उनले भने, ‘म पनि टिकटक हेरेर खुमैडाँडा आएको, पहिलो ट्रेक निकै रमाइलो भयो ।’ खुमैडाँडा र हिलेखर्कमा होटल सञ्चालन गरिरहेका नारायण गुरुङले उक्त पदयात्रा मार्गमा आउने अधिकांश युवा नै भएको बताए । ‘धेरैजसो २०–२२ वर्षका युवा ट्रेकिङमा आएका छन्,’ उनले भने, ‘८० प्रतिशतभन्दा धेरै ४० मुनिकै पदयात्री देखेको छु ।’ कोर्चांमा चिया पसल चलाइरहेका हेमन्त गुरुङले कोरोना महामारी र लकडाउनपछि खुमैडाँडामा आन्तरिक पर्यटक ओइरिएको बताए । ‘पहिला विदेशीले मात्रै ट्रेकिङ गर्छन् भन्ने थियो । पछिल्लो समय नेपालका युवापुस्ताले ट्रेकिङमा रुचि राखेका छन्,’ उनले भने ।

दुई दशकअघिसम्म माछापुच्छ्रे–१ खुमैडाँडाका खर्क भेंडीगोठले भरिन्थे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को पहलमा माछापुच्छ्रे मोडल ट्रेक खुलेपछि विदेशी पर्यटक ‘क्याम्पिङ ट्रेक’ मा जान थाले । यो पदमार्गको ‘रि–ब्रान्डिङ’ पछि भने यतिबेला आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ । माछापुच्छ्रे मोडल ट्रेक मर्दी खेलाको सिरान सैंतीघट्ट–पुरुन्ध्रु हुँदै खुमैडाँडा–कोर्चां पुग्थ्यो । त्यहाँबाट पिपर लेक हुँदै घाचोक–सार्दीखोला झरिन्थ्यो । पदयात्रा मार्गमा होटल, रेस्टुरेन्ट थिएनन् । केही ठाउँमा टानले बनाएका धर्मशाला थिए । विदेशी पर्यटकले यो पदयात्रा मार्ग एक सातामा पूरा गर्थे ।

घाचोकका स्थानीय युवाले कोरोना महामारी अघि हिलेखर्क र खुमैडाँडामा होटल बनाए । ग्रेट माछापुच्छ्रे ट्रेल समिति नै गठन गरेर युवाको समूह बनाएर होटलमा लगानी गरे । घाचोकको टुँसेबाट खुमैडाँडा हुँदै कोर्चां लेक पुग्ने पदयात्रा मार्गलाई ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ नामकरण गरेर प्रवर्द्धन गरे । गएको दसैंयता आन्तरिक पर्यटकले यो क्षेत्र भरिभराउ छ । पोखराको हरिचोकबाट जिप वा बसमा घाचोकको टुँसे पुग्न सकिन्छ । जिप भने सरिपाखासम्मै पुग्छ । सरिपाखाबाट दुई घण्टा हिँडेपछि हिलेखर्क पुगिन्छ । केही पदयात्रीले टुँसेबाटै पदयात्रा सुरु गरेर हिलेखर्कमा बास बस्न पुग्छन् । धेरैजसो सरिपाखाबाट पदयात्रा सुरु गरेर हिलेखर्कमा बिहानको खाना खानेगरी पुग्छन् । हिलेखर्कबाट झन्डै ५/६ घण्टाको उकालो चढेपछि खुमैडाँडा आइपुग्छ ।

बाटोमा गुराँस फुलेको हेर्दै पदयात्रा गर्ने पाइने र डाँफे, मुनालसमेत देखिने अवसर हुन्छ । समुद्री सतहदेखि ३ हजार २ सय ५० मिटर उचाइमा रहेको खुमैडाँडामा हिउँदमा बाक्लो हिउँ पर्छ । माछापुच्छ्रेको काँखैमा थपक्क बसेजस्तो खुमैडाँडामा तीनवटा होटल छन् । यी होटलमा २ सय ५० जनासम्म पाहुना अट्छन् । हिलेखर्कमा दुईवटा होटल छन् भने एउटा निर्माणाधीन छ । यो पदयात्रा मार्गको बीचबीचमा केही रेस्टुरेन्ट बनिसकेका छन् त केही बन्ने क्रममा ।

युवालाई बिदेसिनबाट रोक्न समूह बनाएर होटलमा लगानी गरेको ग्रेट माछापुच्छ्रे ट्रेलका अध्यक्ष एवं वडा नम्बर १ का अध्यक्ष इन्द्र गुरुङले बताए । ‘कुनैमा २५, कुनैमा २० जना युवा मिलेर होटल, रेस्टुरेन्टमा लगानी गरेका छौं,’ उनले भने, ‘यसले घाचोकका झन्डै एक सय जना युवा स्वरोजगार भएका छन् ।’ खुमैडाँडाबाट भन्दा सुन्दर दृश्यको अवलोकन गर्न भने त्यहाँभन्दा दुई घण्टा माथि ३ हजार ६ सय ९० मिटरमा रहेको कोर्चां पुग्नुपर्छ । खुमैडाँडा पुग्ने पदयात्री अर्को दिन ४ बजे उठेर सूर्योदय हेर्न कोर्चां पुग्छन् । सूर्यको पहिलो किरण माछापुच्छ्रेको टुप्पोमा परेको दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ ।

कोर्चांबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखला यति नजिक देखिन्छ कि आँखाले एकै मेसोमा हेर्न भ्याउँदैन । माछापुच्छ्रेतिर उभिएर हेर्दा देब्रैतिर अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण र हिमचुली, दाहिनेतिर अन्नपूर्ण तेस्रोलगायत हिमाल देखिन्छन् । दक्षिणतर्फ पोखरा उपत्यका नियाल्न सकिन्छ । हिउँदमा पोखरा बजार कुहिरोले ढाकिँदा देखिने दृश्य हेर्न पर्यटक खुमैडाँडा र कोर्चां पुग्छन् । खुमैडाँडामा एक रातको खाना, बास बसेको र भोलिपल्ट बिहानको खाजा खाएको एक जनाले दुई हजार रुपैयाँ तिर्नुपर्छ । फरक मार्ग प्रयोग गर्न चाहनेले कोर्चांबाट मेश्रम, सैतीघट्ट हुँदै फर्किन सक्छन् । कोर्चांबाट एकै दिनमा पोखरा आइपुगिन्छ । कस्सिएर हिँड्न सक्नेका लागि एक रात, दुई दिन र समय लिएर हिँड्नेले दुई रात, तीन दिनमा यो पदयात्रा मार्ग पूरा गर्न सक्छन् ।

सहरबाट दुई दिनमा पुगेर फर्कन सकिने नजिकको गन्तव्य भएकाले पनि आन्तरिक पर्यटकको रोजाइमा खुमैडाँडा–कोर्चां परेको छ । टिकटकलगायत सामाजिक सञ्जालमा यतिबेला खुमैडाँडा ‘भाइरल’ नै छ । शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको अत्यधिक चाप हुन्छ । होटललाई पहिले नै सम्पर्क नगरी जाँदा बास नै नपाउने समस्या आउन सक्छ । यो पदमार्गको प्रवर्द्धन गर्न माछापुच्छ्रे गाउँपालिकाले आफ्नो १६ औं कार्यपालिका बैठक खुमैडाँडामा गरेको छ । गत शनिबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका पदयात्रा मार्गलाई व्यवस्थित गर्दै प्रवर्द्धनमा जोड दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।

गत वर्ष नै मादी गाउँपालिकाको क्रपुडाँडामा बाक्लो हिमपात भएपछि आन्तरिक पर्यटक ओइरिए । यस वर्ष पनि क्रपुडाँडामा उत्तिकै संख्यामा पदयात्री पुगेका छन् । पछिल्लो समय कास्कीका मर्दी हिमाल, सिक्लेस–कफुचे, सिक्लेस–कोरी पदयात्रामा मार्गमा आन्तरिक पर्यटक पुग्छन् । तीमध्ये धेरैजसो युवापुस्ताकै हुन्छन् । यसअघि नै चल्तीका पदयात्रा मार्ग अन्नपूर्ण आधार शिविर (एबीसी), घान्द्रुक–घोरेपानी–पुनहिललगायतमा उत्तिकै संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । हिउँ पर्ने र थरीथरीका गुराँस फुल्ने याम भएकोले पनि यो सिजनमा यी पदयात्रा मार्ग आन्तरिक पर्यटकले भरिभराउ छन् ।

प्रकाशित : चैत्र १६, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

ब्युँताइँदै ललितपुर महानगरका पर्व र जात्रा

सन् १६९९ मा सुरू भएको शंखमूलको चामुण्डा जात्रा २९ वर्षपछि ब्युँताउने तर खरमा, यसलाई पाटनको रक्षा गर्ने शक्तिपीठमध्ये एक मानिन्छ
दामोदर न्यौपाने

काठमाडौँ — महालक्ष्मीको खट यात्रा हराएको ३४ वर्षपछि यो वर्ष सुरु हुँदै छ । ललितपुर महानगरपालिका वडा नं. ५ मा पर्ने देवी महालक्ष्मीको खट यात्रा टोलवासी मिलेर ब्युँताउन लागेका हुन् । यो पर्व सञ्चालन गर्न कायगुननी मंकाः खलः संगठित रूपमा लागेको छ ।

‘कायागुनी मंकाः खलः मा आबद्ध परिवारको सक्रियतामा यो पर्व फेरि सञ्चालन गर्न लागेका हौं,’ महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदलको संयोजक सन्तराज महर्जनले भने, ‘लामो समयसम्म रोकिएको पर्व भयो । यो अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा ठूलो सफलता हो ।’ यो मन्दिर चक्रपथ उत्तर र लगनखेलको बीचमा रहेको छ ।

रामनवमीको दिन तान्त्रिक र वैद्धिक विधिबाट महालक्ष्मीको पूजा गरेपछि थसिखेलस्थित मन्दिरबाट सुरु हुन्छ खट यात्रा । देवीलाई कलात्मक रूपमा सिँगारिएको खटमा विराजमान गराएर टोल घुमाइन्छ । पाटन सहरको रक्षाका लागि खटमा राखेर देवीलाई विभिन्न टोलमा लैजाने गरीको मान्यता छ । टोलटोल पुर्‍याएर पाटन सहरभित्रका महाशक्तिपीठ लगिन्छ । उत्तरतिर शंखमूलस्थित चामुण्डा माई, पूर्वतिर बालकुमारीस्थित बालकुमारी माई, पश्चिमा नख्खुस्थित विष्णुदेवी माईसम्म पुर्‍याइन्छ ।

खटमा विभिन्न १२ वटा देवी विराजमान गराइन्छ । खट यात्रा सुरु गर्नुभन्दा एक साताअघि नै द्यःला (पुजारी) को घरमा देवीदेवताको मूर्तिलाई रंगरोगन गर्न सुरु गरिन्छ । रंगरोगन गर्न प्रत्येक वर्ष होगल टोलमा रहेका चित्रकारको घरमा लैजाने परम्परा छ । देवीलाई चित्रकारको घरसम्म लैजाने व्यवस्था मंका खलले नै गर्ने महर्जनले जानकारी दिए । चित्रकारको घरबाट खर्पनमा बोकेर फेरि कायगुननी टोलमा रहेको कजी छें घरमा राखिन्छ ।

अष्टमी (चैते दसैं) को दिन कजी छें घरमा राखेपछि नवमीको दिन बिहान भजन सुरु हुन्छ । साइत हेरेर समय तय गरिन्छ । महर्जनका अनुसार यो वर्ष बिहान ६ बजे भजन सुरु हुन्छ । बिहान ७ बजे मूर्ति खटमा राखेर कजी छेंबाट महालक्ष्मी मन्दिरमा लगिनेछ । ८ बजे गुरुजुले वैद्धिक र तान्त्रिक विधिबाट पूजा सुरु गर्नेछन् । दिउँसो १ बजे महालक्ष्मीको प्रसादस्वरूप समय बजी वितरण गरिने तालिका बनाइएको छ । समय बजी खुवाएपछि मन्दिरमा विराजमान मूर्तिलाई फेरि पुजारीले जजमानलाई दिन्छन् । जजमानले खटमा विराजमान गराउँछन् । मूर्ति खटमा राखेपछि पुजारी बेहोस हुन्छन् । बेहोस भएका पुजारीलाई मन्दिर छेउकै पीपलबोटको जल छर्किइन्छ अनि मूर्छित पुजारी ब्युँझिन्छन् ।

मूर्ति खटमा राखेपछि मन्दिरलाई तीन पटक परिक्रमा गराइन्छ । दिउँसो ४ बजे तान्न सुरु हुनेछ । धिमे बाजा, बाँसुरी, नायखी बाजा बजाउँदै टोली अघि लाग्नेछ । त्यसको पछाडि नामसंगीत पाठ गर्दै कलाकार पछि लाग्छन् । थसिखेलस्थित महालक्ष्मी मन्दिरबाट सुरु भएको खट यात्रा कायगुननी चोकमा आएर समापन हुन्छ । त्यसको भोलिपल्ट खटलाई पुजारीको घरमा पुर्‍याइन्छ । पुजारीको घरमा पुर्‍याउने काम थती द्यःला पुचको हुन्छ । थती टोलमा रहेको यो पुचले मूर्तिलाई पाटनका विभिन्न टोलमा परिक्रमा गराएर पुजारीको घरमा पुर्‍याउँछ । खट यात्राको व्यवस्थापन गर्ने जिम्मा ज्यापू समुदायको हो ।

राति हुने यात्रा हो यो । पहिलाको भन्दा केही परिवर्तन गरिएको महर्जनले जानकारी दिए । पहिला राति ९ बजे सुरु हुन्थ्यो । विभिन्न टोल र शक्तिपीठमा खट परिक्रमा गर्दा मध्यराति हुन्थ्यो । अहिले राति नभई दिउँसै सुरु गरेर साँझ समापन गर्ने गरी समय तालिका मिलाइएको छ । पहिला घरमा गएर पूजा माग्ने चलन थियो । अहिले यस्तो नगर्ने महर्जनले जानकारी दिए । ‘म सानो छँदा यो यात्रा हेरेको हुँ । राति अबेला सुरु हुन्थ्यो । रातभरि हुन्थ्यो,’ महर्जनले भने, ‘अहिले व्यवस्थित गरी परिक्रमा गर्ने व्यवस्था मिलाएका छौं ।’

खट सञ्चालनका लागि ललितपुर महानगरपालिकाले आठ लाख रुपैयाँ सहयोग गरेको छ । त्यसबाहेक ज्यापू समाज यल र अरू संस्थाले सहयोग गरेका छन् । खट यात्रा हराउनुको मुख्य कारण आर्थिक नै हो । आर्थिक कारणले फेरि जात्रा हराउन नदिन योजना बनाएको टोल समितिका अध्यक्ष समन्तलाल महर्जनले जानकारी दिए । ‘सुरु गरेर मात्र भएन । दिगो बनाउने चुनौती छ,’ महर्जनले भने, ‘अब लोप हुन नदिनका लागि दिगो आर्थिक स्रोत व्यवस्थापन गर्छौं ।’

हिन्दुले महालक्ष्मी र बुद्धमार्गीले बसुन्धरा भनेर पुज्ने महालक्ष्मीको खटजस्तै हराएको खड्ग यात्रा पनि ब्युँताएका छन् । ज्यापू समाजको अगुवाइमा यो जात्रा हरेक वर्ष हुने गर्छ । २८ वर्ष रोकिएको यो जात्रा पनि महालक्ष्मी मन्दिरसँगै सम्बन्धित छ । दसैंको अवसरमा प्रस्तुत हुने खड्ग जात्रामा देशका विभिन्न भागमा निकाल्ने चलन छ । युद्धमा आफ्नो राज्यको शक्ति वृद्धि गर्न र विजय हासिल गर्न यो जात्रा गरिने परम्परा छ । युद्धका हतियारमा दैवी शक्ति अनुष्ठान गर्न आफ्ना देवघर, आगमघर, कोतघरमा युद्धका औजार पूजा गरेर खड्ग जात्रा मनाइने लेखक तेजप्रकाश श्रेष्ठले नेपालमा जात्रा पुस्तकमा उल्लेख गरेका छन् ।

काठमाडौंको टेबहाल, कोहिटी, महाबौद्ध, बटु, असन, मरु, मखनजस्ता टोल र ललितपुर, भक्तपुर, साँखुलगायतमा आगमघरबाट खड्ग जात्रा निकालिन्छ । देवताले खड्ग बोकेर दानव खोज्दै हिँड्ने गरिन्छ यो जात्रामा । जात्रा गर्ने तरिका भने ठाउँअनुसार केही फरक हुन्छ । ‘हामीले पनि हराएको यो परम्परा ब्युँताएका छौं,’ महर्जनले भने, ‘संस्कृति हाम्रो सम्पत्ति हो । पहिचान हो । यसलाई संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ शंखमूलको चामुण्डामा हराएको चामुण्डा जात्रा पनि २९ वर्षपछि फर्किएको छ । प्राध्यापक गोपाल शिवाकोटीका अनुसार यसको सुरुवात सन् १६९९ मा भएको हो । मन्दिरका वरिपरि देवताको प्रतीक ढुंगा छन् ।

चामुण्डा पाटनको रक्षा गर्ने शक्तिपीठमध्ये उत्तरतिरको पीठ मानिन्छ । ‘यो मन्दिरमा पनि २९ वर्ष हराएको जात्रा फेरि फिर्ता भएको छ,’ ज्यापू समाजको वरिष्ठ उपाध्यक्षसमेत रहेका सन्तमानले भने, ‘हराएका यस्ता परम्परा ब्युँताउन हामी प्रयासरत छौं । यसमा सरकारले पनि सहयोग गर्नुपर्‍यो ।’ शंखमूलमा रहेको चामुण्डा मन्दिरमा पनि हराएको २९ वर्षपछि चामुण्डा खट यात्रा सुरु भएको छ । हराएका पर्व ब्युँताउन ज्यापू समाजले ललितपुरमा अभियानै चलाएको महर्जनले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७९ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×