एमालेमा आएपछि उत्ताउलो बन्‍न मिल्दैन : केपी ओली

'एमाले गंगा जस्तै हो । तर कहीँ कहीँ सुनिन्छ, अनुचित प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ'
गगनशिला खड्का

गुल्मी — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमालेमा प्रवेश गरेपछि गंगा नदी जस्तै शालीन हुनुपर्ने उनले बताएका थिए । ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ । तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ’, उनले भने, ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो ।’

अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताएका थिए । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए ।

‘एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी हो, बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन,’ उनले भने, ‘तर फेरि पनि कहीँ कहीँ सुनिन्छ, त्यस्ता अनुचित विजातीय प्रवृत्ति पनि पार्टीभित्र प्रवेश भएका छन्, तिनीहरुलाई हामीले हटाउनु पर्नेछ ।’

उनले ज्ञवालीलाई पराजित गर्ने चन्द्र भण्डारीलाई भलाद्मी नेता भए पनि कांग्रेसको नीति भने खराब रहेको भन्दै कटाक्ष गरेका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याज पीडितलाई खुलामञ्‍च छिर्न नदिँदा धकेलाधकेल

तस्बिर: अंगद ढकाल

काठमाडौँ — मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूले सोमबार काठमाडौंको खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । खुलामञ्चभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा दिउँसो केही बेर धकेलाधकेल भएको थियो ।

प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौंको संख्यामा रहेका उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका छन् । पीडितहरूले 'मिटरब्याजीलाई कारबाही गर', 'सहुलियत दरमा ऋणको व्यवस्था गर', 'तमसुक व्यवस्था खारेज गर', 'मिटरब्याजविरुद्ध कानुन निर्माण गर' लगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा सहभागी अधिकांश पीडितहरू बर्दिबासदेखि ११ दिनको पैदलयात्रा तय गरेर आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिबासदेखि पैदल यात्रा गरेर काठमाडौं आएका हुन् ।


प्रकाशित : चैत्र १३, २०७९ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×