खालिस्तानी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको भारतीय दूतावासको दाबी

कान्तिपुर संवाददाता

काठमाडौँ — खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको काठमाडौंस्थित भारतीय दूतावासले दाबी गरेको छ । भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासको दाबी छ ।

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश 'खालिस्तान' बनाउने अभियानमा रहेका सिंहलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि उनी लुक्दै आएका छन् ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको हो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको छ ।

'सम्मानित मन्त्रालयलाई अमृतपाल सिंहलाई नेपाल हुँदै कुनै पनि तेस्रो मुलुकको यात्रा गर्ने अनुमति नदिन र नेपाल हुँदै भारतीय राहदानी वा नक्कली राहदानीमा भाग्न उनीले कोसिस गरे उनलाई पक्राउ गरिदिन अध्यागमन विभागलाई जानकारी गराइदिन हुन आग्रह गरिन्छ,' दूतावासले लेखेको पत्रमा भनिएको छ । भारतीय आग्रहपछि विमान कम्पनी र होटलसहित सम्बन्धित निकायहरुलाई उनको व्यक्तिगत विवरण दिइएको छ ।

पञ्जाब प्रहरीका साथै भारतीय केन्द्रीय जाँच एजेन्सीहरूले नेपालसँगको सीमामा अलर्ट जारी गरेको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय अनलाइन मिन्टका अनुसार अन्तिम पटक मार्च २३ मा अमृतपाल सिंह उत्तर प्रदेशको लखिमपुर खिरीमा देखिएका थिए । भारतीय सशस्त्र सीमा बलले रुपैडिया सीमामा जाँच एजेन्सीहरू खटिइसकेको र अमृतपालको तस्बिर टाँसिएको जनाएको छ । केही भारतीय सञ्चारमाध्यमले सिंह नेपालको बाटो हुँदै थाइल्यान्ड जाने तयारीमा रहेको समेत दाबी गरेका छन् ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन । विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।

३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुन: जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ । यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकाले खालिस्तानको झण्डा फहराएका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउनुपर्छ : सभामुख घिमिरे

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारका लागि गन्तव्यको रुपमा विकास गर्न जोड दिएका छन् ।

सोमबार नेपाल नेत्रज्योति संघको स्थापना दिवसमा घिमिरेले स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारसँग सहकार्य गरी आँखा उपचारको क्षेत्रमा पर्यटन गन्तव्य बनाउन सकिने बताए ।

नेत्रज्योति संघ ४४ वर्ष पूरा गरी ४५ वर्षमा प्रवेश गरेको छ । उक्त कार्यक्रममा सघंका महासचिव भरतबहादुर चन्दले आगामी दिनमा संघ अन्तर्गत सञ्चालनमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरुलाई हरित अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

महासचिव चन्दका अनुसार हाल संघले आफ्नो २०२३ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारिरहेको छ। उनले भने–‘ई-हेल्थलाई संस्थागत गर्दै ५ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थ, टेली अपथाल्मोलोजी लगायत अन्य आधुनिक प्रपिवधिको विकास तथा विस्तारमा नियमन गरिनेछ।’

हाल संघका ३७ आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखाहरु रहेका छन् । संघले विद्यालय आँखा जाँच कार्यक्रममार्फत् सन् २०१८ देखि २०२ सम्ममा देशका विभिन्न विद्यालहरुमा अध्ययनरत १० लाखभन्दा बढी विद्यार्थीहरुको निःशुल्क आँखा जाच गरी हजारौँ विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको छ । त्यसैगरी ५५० जना विद्यार्थीहरुको निःशुल्क आँखाको शल्यक्रियासमेत गरिएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १५:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×