कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्ले संक्रमणकालीन विधेयक प्राथमिकताका साथ अगाडि लैजानुपर्छ : बस्नेत

काठमाडौँ — संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद्‌मा पनि सोही प्राथमिकाका साथ अगाडि लैजानुपर्ने बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा बस्नेतले संविधानको कार्यान्वयनसँग पनि सम्बन्धित भएकाले विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने बताए । 

संसद्ले संक्रमणकालीन विधेयक प्राथमिकताका साथ अगाडि लैजानुपर्छ : बस्नेत

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद बस्नेतले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए । 'विधेयकलाई अत्यावश्यक कार्यभारको रूपमा सूचीमा राखेर, ध्यानमा राखेर प्राथमिकताका साथ अगाडि बढेको छ । अघिल्लो संसद्को‌ कार्यकालमा छलफल भएको छ । समितिमा पनि गएर एक राउन्ड छलफल भएको छ । सरोकारवालाहरूसँग व्यापक छलफल भएको छ । समितिको तहबाट, सरकारको तहबाट सरोकारवालाहरूसँग छलफल भएको छ,' उनले भने, 'जुन गम्भीरता र प्राथमिकताका साथ प्रस्तुत भएको छ, संसद्ले‌ पनि त्यसै अनुसार अगाडि बढ्नुपर्छ ।'

नेपालको शान्ति प्रक्रियाले मुलुकमा द्वन्द्व व्यवस्थापन मात्रै गरेको ठान्न नहुने सांसद बस्नेतको भनाइ थियो । उनले भने, 'मुलुकमा विस्तृत शान्ति सम्झौताले द्वन्द्वको व्यवस्थापन मात्रै गरेन, शान्ति कायम मात्रै गरेन, त्यसले परिवर्तनको ढोका खोल्यो । शान्ति सम्झौताका आधारमा आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिराखेका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्र त्यसैको उपलब्धि हो ।'

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लगाउन विगतमा सहमतीय प्रणालीबाट अगाडि बढ्ने सहमति भए पनि पछिल्लो समयमा त्यो तोडिएको बस्नेतको भनाइ थियो । त्यसको समीक्षा हुने पनि उनले बताए । 'कुनै बेला सहमतीय प्रणालीबाट अगाडि बढ्ने कोसिसहरू भएका थिए । संवैधानिक व्यवस्था भएका थिए । यी र यस्तै विषय समाधान गर्नका लागि सहमतीय प्रणालीको कुरा गरिएको थियो । सहमतीय प्रणालीलाई किन कसरी तोडियो ? इतिहासमा समीक्षाको विषय हुने नै छ । त्यसको प्रभाव यो प्रक्रियामा कति पर्‍यो ? त्यसको समीक्षा पनि गर्ने नै छौं । तर अहिले हामी समीक्षातिर होइन समाधानतिर जाने हो । बाँकी रहेका कार्यभार पूरा गर्नेतिर जाने हो,' उनले भने ।

संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने विषयलाई फौजदारी न्यायको सिद्धान्तअनुसार अगाडि बढ्न नहुने माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद बस्नेतको भनाइ छ । 'मुलुकमा विस्तृत शान्ति सम्झौताले द्वन्द्वको व्यवस्थापन मात्रै गरेन, शान्ति कायममात्रै गरेन, त्यसले परिवर्तनको ढोका खोल्यो । आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिराखेका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्र त्यसैको उपलब्धि हो,' उनले भने, 'शान्ति सम्झौता र संविधानको भावना शान्ति प्रक्रियाको एकपक्षीय फौजदारी न्यायको सिद्धान्तिअनुसार होइन संक्रमणकालीन न्यायको सिद्धान्तबमोजिम व्यवस्थापन गर्ने कुरा विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएको छ । विस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाएका थियौं । अहिलेको संविधानको धारा ३०४ ले अन्तरिम संविधानको शान्ति प्रक्रियासँग सम्बन्धित उल्लेख गरिएका सबै विषयहरू यो संविधानका कार्यान्वयनका विषयवस्तु हुने प्रस्टरूपमा उल्लेख गरिएको छ ।' शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएर लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन गर्नुपर्ने पनि उनको भनाइ थियो ।

संसदमा प्रस्तुत विधेयकले समस्याको समाधान गर्नका लागि ल्याइएको पनि बस्नेतको भनाइ थियो । 'विधेयकले समस्यालाई थाती राख्ने कुरा कहीं पनि गरेको छैन । समाधान नगर्ने कुरा कहिँ पनि गरेको छैन । यसले पीडितहरूलाई न्याय नदिने कुरा गरेको छैन । कतिपय साथीहरूले यसलाई फौजदारी न्यायको सिद्धान्तअन्तर्गत समाधानको परिकल्पना गर्नुभएको छ, त्यसरी समस्या समाधानको वकालत गर्नुभएको छ,' उनले भने, 'विस्तृत शान्ति सम्झौताले त्यो भन्दैन । विस्तृत शान्ति सम्झौताले संक्रमणकालीन न्यायको सिद्धान्तका मान्यताअनुसार समाधान खोज्ने कुरा गर्दछ ।'

संक्रमणकालीन न्यायको सिद्धान्तअन्तर्गत द्वन्द्वकालीन घटनाको सत्य अन्वेषण, पीडितलाई परिपूरण, न्याय निरुपण र द्वन्द्व दोहोरिन नदिने संस्थागत सुधार तथा आर्थिक एवं सामाजिक जीवनको सुधारमा लाग्नुपर्ने बस्नेतको भनाइ थियो ।

प्रकाशित : चैत्र १२, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?