कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी पहाडको असला समुद्रपारि

पारखी भन्छन्– ‘खोलाको पानी जति निर्मल, त्यति नै स्वादिला असला’

संखुवासभा — संखुवासभामा मूलतः दुई चीजले विशेष मोल राख्छन्, रुद्राक्ष र असला माछा । जसरी देशविदेशमा रुद्राक्ष बिक्छ, त्यसरी नै ‘कोसेली’ बनेर सात समुद्रपारि भान्सामा पाक्छ असला ।

पूर्वी पहाडको असला समुद्रपारि

खाँदबारीका विजयकिसान दाहाल आफन्तलाई कोसेलीमा सधैं असला नै पठाउँछन् । असला सभा, अरुण, संखुवा र लङ्खुवा जस्ता हिमनदीका उत्पादन हुन् । माछाका परिकार मन पराउनेले असला निकै मीठो मान्छन् । माछाको यो प्रजाति पोखरीमा पाल्न मिल्दैन । हिमालबाट आउने खोलामा हुने भएकाले माथिल्लो भेगमा मात्रै पाइन्छ । ‘आफन्तलाई कोसेली पठाइदिने भनेको यही असला नै हो,’ दाहाल सुनाउँछन्, ‘सुकुटी पारेर पेरुङ्गोमा राखेको असला अरू माछाभन्दा बिल्कुल भिन्न हुन्छ ।’

सभापोखरी गाउँपालिका कार्यालय सामुन्नेबाटै सुसाएर दक्षिण बग्दै अरुणसँग मिसिन्छ सभाखोला । पारखी भन्छन्, ‘खोलाको पानी जति निर्मर्ल छ, त्यति नै स्वादिला छन् त्यहाँका माछा ।’

सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बू ठट्यौलो पारामा भन्छन्, ‘सभाकै किनारामा हुर्किएकाले असलाको स्वाद कस्तो हुन्छ भनेर मलाई नसोध्नू । असलाको स्वाद जति बखान गरे पनि कम हुन्छ ।’ उनका अनुसार सफा र स्वच्छ पानीमा बयली खेल्दै हुर्किएका असला स्वस्थकर र पौष्टिक पनि मानिन्छ । ‘माछाको महत्त्व धेरै नै छ यो ठाउँमा,’ उनी थप्छन्, ‘सबैतिर ब्रान्डका रूपमा विकास गर्ने योजना छ । माछामा कर लगाउने कुरा पनि आएको छ । तर, तत्काल कार्यान्वयनमा गाह्रो देखिन्छ ।’

सभापोखरी–६ का वडाध्यक्ष जितेन्द्र वनेम फागोका अनुसार बाह्रबिसेको साप्ताहिक हाटमा दैनिक ४ देखि ५ लाखसम्मका असला किनबेच हुन्छ । एक पेरुङ्गो (बाँसबाट बनेको भाँडो) माछाको मोल १५ सयदेखि २ हजारसम्म पर्छ । ‘विदेशतिर पनि कोसेलीका रूपमा लगिन्छ,’ उनले सुनाए । उनका अनुसार माछा मारेर खोक (चोयाले मुखमा सिलाएर डल्याउने प्रविधि) पारेर झरिलो कोइलामा सुकाइन्छ । यो प्रविधि घरैपिच्छे छ । ‘झरिलो कोइलामा सुकाएर तयार पारिएको सुकुटी माछा हेर्दै खाउँखाउँ लाग्दो हुन्छ,’ फागो भन्छन्, ‘यस्तो सुकुटी माछा काँचै खान पनि मिल्छ ।’

दुवाली र बल्छी थाप्ने, जाल हान्ने, मन्यु (पासो थापेर), ढडिया, ढुकुना जस्ता माछा मार्ने अर्ग्यानिक विधि थिए । यी विधि बिस्तारै लोप हुँदै गए । विद्युतीय झड्का दिने, कार्तोस (बारुद) हान्ने आदि नयाँ विधि भित्रिएसँगै माछाको बीउ नै असुरक्षित बन्दै गएको छ । यो विधिले माछा मात्रै होइन, सिंगो पर्यावरणलाई असर परिरहेको छ । ‘पर्यावरणविरोधी गतिविधिहरूका कारण सभाखोलाका असला माछा जोगाउनै मुस्किल भइरहेको छ,’ अध्यक्ष लिम्बू थप्छन्, ‘माछा लोप भयो भने संखुवासभाको पहिचानमै असर पर्ने चिन्ता भएको छ ।’ ४/५ वर्षअघि जसरी खोलामा हिजोआज छ्यासछ्यास्ती माछा पाइँदैन । माछा मार्नेले विद्युतीय झड्का र कार्तुसको प्रयोग धेरै गर्न थालेपछि यस्तो अवस्था आएको लिम्बू बताउँछन् । ‘माछा त धेरै सिध्याइसके,’ उनले चिन्ता व्यक्त गरे ।

सभापोखरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार असला माछा धेरै स्थानीयको रोजीरोटीसँग जोडिएको छ । एक तिहाइभन्दा बढी स्थानीय किसानको आयआर्जनको माध्यम माछा नै हो । लगातार माछा मार्नेहरू सक्रिय हुँदा मासिँदै गएको छ । संरक्षणको पनि टड्कारो आवश्यकता देखिएको छ । माछा पुरै मासिन नदिने र मार्ने विधिलाई पनि व्यवस्थित गर्ने योजना पालिकाले बनाएको उनले बताइन् । गत कात्तिकको कार्यपालिका बैठकले माछा संरक्षणका लागि नीति तथा कार्यक्रम नै पारित गरेको छ । करेन्ट लगाएर माछाको बीउ नै सखाप पार्ने काम भइरहेकाले सातबिसेदेखि लङ्खुवा दोभानसम्मको करिब एक किलोमिटर नदीको भागलाई संरक्षण क्षेत्र घोषणा गर्दै पूर्ण रूपमा माछा मार्न प्रतिबन्ध लगाइएको छ ।

कुनै पनि विधिबाट माछा मारेको थाहा पाएमा २० हजार जरिवाना र प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरिएको छ । स्थानीय अमर राई फुर्सदिलो समयमा माछा मार्न सभाखोलातिर लाग्छन् । उनी बल्छी थाप्छन् । कि त जाल हाल्छन् । ‘करेन्ट लगाउने काम मबाट अहिलेसम्म भएको छैन,’ उनले भने, ‘खोलामा पहिला जस्तो धेरै माछा छैन । मार्ने धेरै भएर पो हो कि π’ पालिकाले माछालाई संरक्षण गरी पर्यापर्यटनको विकाससँगै कार्यक्रम बनाउन सके पर्यटक भित्र्याउन सकिने जनप्रतिनिधि बताउँछन् । रातिराति करेन्ट लगाएर माछा मार्नेहरू सक्रिय रहँदा संरक्षणको काम सजिलो भने छैन । ‘करेन्ट लगाएर अवैधानिक ढंगले माछा मारेको पाइए कारबाही गरिनेछ,’ उपाध्यक्ष चापागाईंले भनिन्, ‘एक किलोमिटर क्षेत्रलाई माछाको ब्याड (बीउ) को रूपमा संरक्षित गर्ने पालिकाको निर्णय छ ।’ माछा स्थानीयको जीविकासँग जोडिएको छ । ‘माछा संरक्षणसँगै स्थानीयको रोजीरोटीको माध्यमलाई कसरी दर्बिलो पार्ने भन्ने विषयमा हामी गम्भीर छौं,’ चापागाईंले सुनाइन्, ‘माछा त लोप भयो भने रोजीरोटी पनि खोसिन्छ भन्ने कुराप्रति स्थानीयलाई पनि सचेत गराउने प्रयास भइरहेको छ ।’

सभाखोला र अरुण नदीमा मारेका माछा सुकाएर पेरुङ्गोमा राखिन्छ र स्थानीय हाटबजारमा बेचिन्छ । संखुवासभा घुम्न आउने आन्तरिक पर्यटकको पहिलो रोजाइ असला माछा नै हो । तुम्लिङटार, कत्लेभन्ज्याड क्षेत्रमा जुनसुकै बेला असला माछा किनबेच हुन्छ । खाँदबारीको शनिबारे र बुधबारे हाटमा माछाको ठूलो बजार लाग्छ । नजिकै तुम्लिङटार एयरपोट भएकाले पनि स्थानीय असला माछालाई जहाज चढाएर टाढा–टाढा पुर्‍याइन्छ । खाँदबारीका विनोद अधिकारी भन्छन्, ‘स्वाद मीठो भएकाले यहाँको माछाको माग देशविदेशमा बढ्दै छ ।’

माछा व्यवसायी साड्गे शेर्पाका अनुसार हरेक साता उल्लेख्य रकमको माछाको किनबेच हुन्छ । पेरुङ्गोको असला माछा किन्न ग्राहक तँछाडमछाड गर्छन् । ‘सबैले राम्रोसँग सुकेको, ठूलो र मझौलो आकारका माछा किन्न रुचाउँछन्,’ शेर्पाले भने । बाह्रबिसे, सभापोखरी, खाँदबारी, तुम्लिङटारलगायत सहरी क्षेत्रमा असला माछाको किनबेच ज्यादा हुने गरेको छ । कत्लेभन्ज्याङका व्यापारी अरुण बोहराका अनुसार आलो माछा प्रतिकिलो २ हजारसम्ममा बिक्री हुन्छ । तर, सुकुटी माछाको प्रतिकिलो मूल्य १० हजारसम्म पर्छ । बोहराले मात्रै दैनिक १५ किलोभन्दा बढी असला माछाको परिकार बनाएर बेच्छन् । तुम्लिङटार क्षेत्रमा माछा पकाएर बेच्ने होटल मात्रै एक दर्जन बढी छन् । सबैमा प्रायःजसो ग्राहक भरिभराउ नै हुन्छन् । माछाको सुप बनाउँदै गरेका बोहराले थपे, ‘हिउँदका बेला खोलामा माछा धेरै पाइन्छन् । वर्षा लागेपछि माछा कम हुँदै जान्छन् ।’

विज्ञहरूका अनुसार असला माछा धमिलो पानीमा बस्न रुचाउँदैन । त्यही भएर खोला धमिलो हुन थालेपछि यी माछाहरू हराउँछन् । स्थानीयवासी माछाको जीवनमा पनि उधौली र उभौलीको विशेष महत्त्व हुने विश्वास गर्छन् । मंसिरदेखि चैतसम्म उधौली र वैशाखदेखि कात्तिकसम्म उभौली हुन्छ । मंसिर लागेपछि जन्तु र चराझैं माछाहरू पनि लेकबाट बेंसीतर बसाइँ सर्छन् भनिन्छ । यो क्रम चैतसम्म जारी रहन्छ । किनकि करिब चैतसम्म खोला सफा रहन्छ । ‘यो बेला पानी सफा हुन्छ, अनि माछा पनि धेरै पाइन्छ,’ स्थानीय इन्द्रमाया लिम्बू अनुभव साट्छिन्, ‘उभौली सुरु भएपछि खोलामा बाढी आउँछ । पानी धमिलिन्छ अनि माछा बेंसीबाट लेकैतिर बसाइँ जान्छन् भन्ने मान्यता छ ।’

प्रकाशित : चैत्र १२, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?