

काठमाडौँ — देशका कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको तथ्यांक जनगणनाको नतिजाले देखाएको छ ।


गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो । जम्मा परिवारमध्ये ९.८ प्रतिशत परिवारहरुले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५.१ प्रतिशत परिवारहरुले सेप्टिक ट्यांकमा जोडिएको फ्लस भएको, ३०.१ प्रतिशतले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् ।
प्रदेश अनुसार हेर्दा मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिन्छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु वाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा कम (१ प्रतिशत) रहेका छन् । विभिन्न प्रकारका शौचालय प्रयोग गर्ने परिवारको प्रदेशगत विवरण तल दिइएको छ ।
जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित 'राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम'मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।
गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।
२०७८ को जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या वाग्मती प्रदेशमा रहेको छ । वाग्मती प्रदेशमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ । त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको प्रदेश भने कर्णाली हो । कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या रहेको छ ।
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।
प्रकाशित : चैत्र १०, २०७९ ११:४८