केन्द्रीय क्याम्पस कीर्तिपुरको अध्यक्षमा नेविसंघ विजयी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्ववियु निर्वाचन

केन्द्रीय क्याम्पस कीर्तिपुरको अध्यक्षमा नेविसंघ विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु अध्यक्षमा कांग्रेस निकट नेविसंघका उम्मेदवार श्यामराज ओझा निर्वाचित भएका छन् ।

उनले ९ सय ३२ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६ सय ३१ मत प्राप्त गरेका छन् ।

यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । कीर्तिपुरमा यसपटक विद्युतीय मतदान भएको थियो । कीर्तिपुरको स्ववियु निर्वाचनमा ३ हजार ३ सय ३९ मध्ये २ हजार ७६ मत खसेको थियो ।

प्रकाशित : चैत्र ५, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री दाहालले तीन महिनामा दोस्रो पटक विश्वासको मत लिँदै, पक्ष र विपक्षमा को को ?

कान्तिपुर संवाददाता

काठमाडौँ — चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिँदैछन् ।

सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्‍बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

सभामुख देवराज घिमिरेले सोमबार १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको जानकारी संसद्लाई गराएका थिए ।

पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायत थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो भने विश्वासको मत नदिने सांसदहरूको संख्या भने २ मात्रै थियो । २ सय ७५ सदस्यीय संसद्‍मा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै दाहालको विपक्षमा मत जाहेर गरेका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षमा बस्ने घोषणा गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भोट हालेको थियो । दाहालले विश्वासको मत दिएर कांग्रेसले झैं प्रतिपक्षमा बस्ने राजनीतिक दलहरूमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत थिए ।

अहिले भने परिस्थिति फेरिएको छ। पुस १० मा एकाएक दाहाललाई प्रधानमन्त्री प्रस्ताव गरी चुनावी गठबन्धन तोडेर सत्ताधारी बनेको एमाले चैत ६ मा दोस्रोपटक विश्वासको मत लिने तयारी गर्नुपहिले नै प्रमुख प्रतिपक्षको कुर्सीमा बसीसकेको छ । दाहालले भने फेरि आफूले सबै सांसदको मत पाउने विश्वास जाहेर गरेका छन् । दाहालले यसअघि पाएको विश्वासको मतको प्रतिशत स्मरण गर्दै सोमबार शतप्रतिशत सांसदहरूले आफूलाई विश्वासको मत दिने आशा रहेको अभिव्यक्ति दिएका छन् । 'मैले आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ प्रतिशत थियो । भोलि १०० प्रतिशत नै हुन्छ भन्ने आशा छ,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दाहाललाई सबै पार्टी र सांसदहरूले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन् । उनले भने, 'विश्वासको मत दिने बित्तिकै सत्तापक्षमै बस्नुपर्ने केही छैन । प्रतिपक्षमा पनि बस्न सकिन्छ । यसअर्थमा पनि सबैले यो सरकार, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा राम्रै हुन्छ ।'

एमालेले भने संसद्‍मा प्रतिपक्षको सिट रोजिसकेकाले दाहालले विश्वासको मत नदिने भएको हो । सांसदसमेत रहेका एमाले सचिव योगेश भट्टराईले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताए । 'एमाले जिम्मेवार प्रतिपक्ष भएकाले अहिले विश्वासको मत दिने अवस्था छैन । लोकतान्त्रिक व्यवस्थामा दह्रो प्रतिपक्ष चाहिन्छ, त्यो भूमिका एमाले निर्वाह गर्छ,' विश्वासको मत दिएर प्रतिपक्ष रोज्ने हो कि भन्ने प्रश्नको जवाफमा भट्टराईले भने, 'एमाले दोहोरो चरित्र देखाउने पार्टी होइन ।'

रातारात राजनीतिक परिस्थिति परिवर्तन नभएको अवस्थामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई कांग्रेस, रास्वपा, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत दिनेछन् । ती पार्टीहरूले संसदीय दलको बैठकले विश्वासको मत दिने र त्यो प्रयोजनका लागि सांसदहरूलाई अनिवार्य संसद्‍मा उपस्थित भई पार्टी निर्णयअनुसार मत जाहेर गर्न ह्वीप पनि जारी गरेका छन् । एमालेसँगै राप्रपा, नेमकिपा प्रतिपक्षमा मत जाहेर गर्ने भएका छन् भने यसअघि दाहाललाई विश्वासको मत नदिएको एक सांसद भएको जनमोर्चाले सोमबार बिहान मात्रै निर्णय गर्ने अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेस ८७ (राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त र टेकबहादुर गुरुङ निलम्बित), माओवादी ३२, रास्वपा १९, जसपा १० (सांसद शहनाज रहमानको निधन भई रिक्त पदमा सिफारिस मञ्जु अन्सारीको शपथ बाँकी र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव नियुक्त भई सांसद पद रिक्त), एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ (प्रभु साह र अमरेशकुमार सिंह) गरी १७० सांसदले विश्वासको मत दिने सम्भावना छ । प्रतिपक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ सांसद गरी ९४ सांसद हुने सम्भावना रहेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×