कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस १० गते परिस्थितिले गठबन्धन जोगिएन, अहिले लयमा फर्कियौँ : कांग्रेस

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुस १० गते गठबन्धन जोगाउन नसके पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएर लयमा फर्किएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्दै खड्काले गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको बताएका हुन् । 

पुस १० गते परिस्थितिले गठबन्धन जोगिएन, अहिले लयमा फर्कियौँ : कांग्रेस

बैठकको सुरूवातमै सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषय उपसभापति खड्कालाई जानकारी गराउन भनेका थिए । त्यसपछि पुस १० गतेको घटनाक्रमबारे उपसभापति खड्काले भने, 'पुस १० गते परिस्थितिले गठबन्धन जोगिएन । तर, फेरि हामी लयमा फर्किएका छौं । रामचन्द्रजीलाई राष्ट्रपति बनाउन सफल भयौं । अब हामी गठबन्धनमा छौं । गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता हो ।'

माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले, राप्रपासहित ७ दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेलादेखि कांग्रेस प्रतिपक्षी बेन्चमा छ । कांग्रेसले पुस २६ मा भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । त्यसको डेढ महिनामा कांग्रेस–माओवादीसहितको ९ दलीय गठबन्धन बनेको हो । राप्रपा र एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेका छन् ।

राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । दाहालले विश्वासको मत लिएपछि कांग्रेसलगायतका दल सरकारमा जाने तयारीमा छन् ।

प्रकाशित : चैत्र १, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?