कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।

केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री दाहाल

'जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,' प्रधानमन्त्री दाहालले भने, 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ ।”

प्रधानमन्त्री दाहालले भने, 'माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि पत्रकार सम्मलेनमार्फत संयुक्त अपिल गर्दैछौं । केही दिनमा समाजवादी मोर्चा बन्छ ।'

उनले आफूहरु चुनौती र सम्भावनाको दोसाँधमा रहेको उल्लेख गर्दै बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्नेमा जोड दिए । 'संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौं । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ,' प्रधानमन्त्री दाहालले भने ।

समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, 'एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुन:र्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।'

एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्ध रहेको दाहालले आरोप लगाए । प्रधानमन्त्री दाहालले नेता, कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए ।

प्रकाशित : फाल्गुन २७, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?