१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्यास विस्फोटपछि आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उनका स्वकीय सचिव भुवन भुसालले बताएका छन् ।

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी

कीर्तिपुर अस्पतालका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका हुन् । भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको छ । बिहीबार बिहान स्वास्थ्यमन्त्री पदम गिरीले भण्डारीलाई भेटेर सरकारले उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए ।

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा ताताहावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’

तर भण्डारीले भने उपचारका लागि विदेश जान नमानेको स्वकीय सचिव भुसालले बताए । अहिले परिवारका सदस्य र कांग्रेस नेताहरूले भण्डारीलाई उपचारका लागि विदेश जान मनाएको भुसालले बताए । बिहीबार बिहान कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, एनपी साउद र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता अस्पताल पुगेर भण्डारीलाई भेटेका थिए ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७९ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?