दलहरू विचारधारामा अस्पष्ट हुँदा लोकतन्त्र कमजोर बन्दै छ : झाँक्री- समाचार - कान्तिपुर समाचार

दलहरू विचारधारामा अस्पष्ट हुँदा लोकतन्त्र कमजोर बन्दै छ : झाँक्री

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले राजनीतिक विचारधारामा प्रस्ट नहुँदा मुलुकको राजनीति ‘जात्रा’ जस्तो बनेको बताएकी छन् ।

उनले दलहरूमा विचारधाराको अस्पष्टता र सत्ताप्राप्ति बाहेक सहकार्यको निश्चित मापदण्ड नहुँदा सरकारमा बसेका मन्त्रीहरूले संविधान र व्यवस्थाको विरोध गर्ने र प्रतिपक्षमा बसेका शक्तिहरूले संविधान र व्यवस्थाको रक्षा गर्नुपर्ने स्थिति पैदा भएको बताइन् । उनले त्यही कारण लोकतन्त्रमाथि खतरा पैदा हुने बताइन् ।

बुधबार काठमाडौंमा भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि डेलिभरीमा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विषवमन गर्ने ठाउँ भेटिएको बताइन् ।

‘राजनीतिक दलहरू विचारधारामा प्रस्ट हुनुपर्छ । को दक्षिणपन्थी हो ? के पूर्वपन्थी हो ? को वामपन्थी हो ? विचारधारामा सबै प्रस्ट हुनुपर्छ । नत्र एक रात कसले‚ कता काँध जोडेको छ; अर्को रात फेरि अर्कैसँग काँध जोडेको छ । यो सुहाउँदो भएन,’ उनले भनिन्, ‘हामीले कम्तीमा विचारधारालाई प्रमुख आधार बनाएर प्रस्ट भएर अघि बढ्नुपर्ने हुन्छ । त्यसो भयो भने लोकतन्त्र र यसका संस्थाहरूले पनि ठिक ढंगले काम गर्न सक्छन् ।’

उनले व्यवस्था परिवर्तन र संविधान निर्माणमा योगदान गर्ने राजनीतिक दलहरूले डेलिभरी गर्न नसकेकै कारण उनीहरूको विरुद्धमा जनमत सिर्जना भए पनि आत्तिनुपर्ने अवस्था भने नरहेको बताइन् ।

प्रकाशित : माघ २५, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानसेनापति शर्मा र बेलायती उपराज्यमन्त्री मुरिसनबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका रक्षाका उपराज्यमन्त्री एन्ड्रर्यू मुरिसनबीच भेटवार्ताबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ २५, २०७९ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×