कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुई चढेर पाथीभरा

अहिले सुके टारसम्म कालोपत्र सडक भएकाले बस, जिपलगायत जुनसुकै गाडी जान सक्छन् । त्यहाँदेखि १२ किलो मिटर कच्ची सडक छ, त्यहाँ जिपमात्रै चल्छन् । कम हिँड्ने र दमका बिरामीलाई उकालो चढ्न गाह्रो हुन्छ, उनीहरूलाई बोक्न भरिया तम्तयार हुन्छन् ।
काफ्ले पाटीदेखि मन्दिरसम्म केबलकार सञ्चालनको प्रक्रिया चलिरहेको छ, फुङलिङ नगरपालिकाले अनुमति दिएको छ भने सरकारले जग्गासमेत उपलब्ध गराइसकेको छ
आनन्द गौतम

ताप्लेजुङ — मंसिर चौथो साता होटल व्यवसायी राजेन्द्र महतले दिलबहादुर विष्टलाई फोन गरेर तीर्थयात्रीका झोला बोक्न काफ्लेपाटीसम्म जान आग्रह गरे । विष्ट पाथीभरा जाने तीर्थयात्रीलाई सहयोगीको भूमिका निर्बाह गर्छन् । महत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । दुवै माथिल्लो फेदीवासी ।

बुई चढेर पाथीभरा

महतको अनुरोधमा मंसिर २३ गते बेलुका ५ बजे काफ्लेपाटी पुगेका विष्टले दुई घण्टाको प्रतीक्षापछि आफूले पर्खिएको समूह भेट्टाए । उक्त समूहमा थिइन्– तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण । गाडीबाट ओर्लिएपछि उनीहरू अढाई किलोमिटर दूरीको माथिल्लो फेदीसम्म पुग्ने योजनामा थिए । फेदीमा होटल र लज बुकिङ गरेका थिए । साँझ ७ बजिसकेकाले विष्टले हतारो लगाए । डेढ दर्जनको समूहमा रहेकी खाँण हिँडेरै मन्दिर पुग्ने उद्देश्यसहित अगाडि बढिन् । तर, उकालोमा पाइला चाल्न कठिन हुँदै गयो । खाँणका पाइला मधुर हुन थालेपछि दिलबहादुरले ‘हिँड्न सक्नुभएन भने हामीले बोक्ने पनि गरेका छौं’ भनेर प्रस्ताव गरे । उनले हिँड्नैका लागि जोड दिइरहिन् । ७० किलोका दिलबहादुरले आफूभन्दा २२ किलो बढी तौलकी खाँणको शरीरमा चुन्द्री लगाए । उनीहरूले मान्छे बोक्न प्रयोग गर्ने नाम्लोलाई चुन्द्री भनिन्छ । डेढ किलोमिटर बोकेर बेलुकाको गन्तव्य माथिल्लो फेदीसम्म पुर्‍याए । तीन जनाले आलोपालो गरेर बोके ।

मन्दिर हिँडेको समूहले भोलिपल्ट बिहान २ बजेतिरै उकालो जान प्रस्ताव गरे । ३१ सय मिटर उचाइको फेदीबाट ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिर पुग्न अढाई किलोमिटर दूरी पार गर्नुपर्छ । उकालो चढ्दै जाँदा लेक लाग्ने भएकाले सावधानीका साथ हिँड्नुपर्छ । दिलबहादुरले बिहान ४ बजे मात्रै जान प्रस्ताव गरे । राति हिँड्दा बोक्नेलाई त सहज हुन्छ, शरीरमा न्यानो हुन्छ । तुलनात्मक रूपमा पाइला पनि चाँडो बढ्छ । तर बोकिनेलाई भने कठिन ।

‘रातको चिसो हावा तीनतिरबाट आउँछ,’ दिलबहादुरले भने, ‘त्यसले बोकिनेहरूलाई कठिन बनाउँछ ।’ समूहमा रहेकालाई पनि हिँड्न कठिन हुन थालेको संकेत विष्टले पाएका थिए । त्यसैले उनले अरू साथीलाई पनि खबर गरे । बिहान ४ बज्दा फेदीबाट सुरु भएको यात्रा साढे ६ बजे मन्दिरको गेटमा पुग्यो । समूहका अरू तीन सहयात्री पनि बोकिएर गए । उनीहरू सबै बोकिएरै गाडी चढ्ने स्थान काफ्लेपाटीसम्म आए ।

पाथीभरा क्षेत्रमा मान्छे बोकेको दररेट प्रतिकिलो २ सय रुपैयाँ छ । काफ्लेपाटीबाट मन्दिर पुर्‍याएर त्यही ल्याउँदा २ सय रुपैयाँ पाइन्छ । आपसी समझदारीमा घटीबढी पनि हुन सक्छ । ‘बढीचाहिँ टिप्स दिए मात्रै हुन्छ,’ विष्टले भने । उनीहरूको दर र खाँणको तौलअनुसार १८ हजार ४ सय रुपैयाँ हुन आउँथ्यो । तर उनले २४ हजार रुपैयाँ दिइन् । उनले गत कात्तिकमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकी धर्मपत्नीलाई पनि बोकेर मन्दिर पुर्‍याएका थिए । त्योबेला उनीहरूले १० हजार रुपैयाँ पाए ।

पाथीभरा मन्दिरमा पुग्न गाडीबाट ओर्लिएपछि ५ किलोमिटर हिँड्नुपर्छ, जुन पहाडको उकालो बाटो हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पाथीभरा क्षेत्र विकास समिति र ताप्लेजुङमै नागरिक स्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले ढुंगाको सोलिङ लगाउने, ठाडोलाई घुमाएर तेर्सो बाटो बनाउने, रेलिङ लगाउने जस्ता प्रयास गरेका छन् । यो पैदलयात्रीका लागि सहज बनाउन गरिएको प्रयत्न हो । उक्लिन सजिलो होस् भनेर यहाँ टेक्नका लागि लौरो पनि दिइन्छ । ‘पहिला–पहिला यहाँ आएपछि हिँड्न नसके ओरालै फर्कन्थे, ‘माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले भने, ‘अहिले हिँड्न सकिनँ भनेर कसैले पनि फर्कनुपर्ने अवस्था छैन, आरामले बोकिएर गएर तीर्थयात्रा गरेर फर्कन सक्नुहुन्छ ।’

माथिल्लो फेदीका रतन कार्की पहिले डोकामा बोकेर व्यवसाय सुरु गरेको बताउँछन् । फुङलिङ नगरपालिका–१० फुरुम्बुका उनी २०६८ मा पाथीभरा क्षेत्रमा प्रवेश गरेका थिए । ‘त्यतिबेला फुरुम्बु–२ का जितबहादुर, धनवीर, भक्तिहाङ यसरी झोला बोक्थे,’ रतनले भने, ‘म पनि घरबाटै डोको लिएर गएर उनीहरूकै पछिपछि हिँड्न थालेको हुँ ।’ तीर्थयात्रीले जति दिन्थे, त्यसैमा चित्त बुझाउनुपर्थ्यो ।’

बोक्ने र बोकिने क्रम बढ्दै गएपछि रतनले व्यावसायिक पमा काम गर्न दिलबहादुर, सुशीललगायतको टिम नै बनाए । ठूला मान्छेलाई डोकामा बोक्न गाह्रो हुने भएकाले स्ट्रेचर खरिद गरे । चार जनाको समूह बनाएर त्यसैमा बोक्न थाले । साँघुरो बाटोमा स्ट्रेचरमा उकालोओरालो गराउन निकै कठिन भयो । त्यसपछि रतनले पाँचथरको सिंहपुरबाट ४० हजारमा घोडा किनेर ल्याए । प्रतिकिलो ५० रुपैयाँ दर निर्धारण गरेर त्यसैमा बोकाउन थाले । घोडाले सोलिङ गरेको बाटोमा हिँड्न गाह्रो मान्यो । बेतको कुर्सीमा बोक्न सजिलो हुने सुझाव पाएपछि उनले सिक्किमको नम्ची बजार पुगेर बेतको कुर्सी किनेर ल्याए । तर त्यसमा अडिएर बस्न यात्रुले मानेनन् । अहिले कपडाको तन्नाको फेदमा फर्म लगाउने र थाप्लोमा नाम्लो लगाएर डढाल्नुमा राखेर बोक्ने गरिन्छ । त्यसलाई उनीहरू चुन्द्री भन्छन् । रतनका अनुसार १ सय १० किलो तौलसम्मकालाई चुन्द्री लगाएरै बोक्ने गरिएको छ ।

बोक्ने र बोकिनेको संख्या बढ्दै गएपछि अहिले मजदुर संघ नै बनाइएको छ । फुङलिङ नगरपालिकामा दर्ता गर्ने उद्देश्ले बनाइएको भए पनि सिन्डिकेट हुने भन्दै नगरपालिकाले दर्ता गर्न नमिल्ने भनेपछि माथिल्लो फेदी होटल व्यवसायी संघअन्तर्गत रहने गरी बनाइएको हो । संघको महासचिव रहेका रतनका अनुसार संघमा दर्ता भएकाको संख्या २ सय ९७ छ । थप ५० जनाले यसमा आबद्ध हुन प्रस्ताव गरेका छन् । संघमा आबद्ध हुनेले वर्षमा ५ सय रुपैयाँ बुझाउनुपर्छ । संघले उसलाई दुईवटा परिचयपत्र दिन्छ । एउटा आफूले भिर्नुपर्ने, अर्को आफूले बोक्ने मान्छेको आफन्त वा सामान बोकाउनेलाई दिनुपर्ने । १७ वर्षमाथिकालाई मात्रै बोक्न दिने नियम बनाइएको छ । ‘पहिला मजदुरको याकेट लगाएकाले मात्रै बोक्न पाउने नियम बनाइएको थियो,’ रतनले भने, ‘ज्याकेट नहुनेबाट ज्याकेट हुनेले किन बोकिस् भनेर रकम असुल्न थालेपछि सबैलाई हुने गरी परिचयपत्र बनाएका हौं ।’

मजदुर संगठनका अनुसार दिनमा तीन हजार मान्छे हिँडे ३५ देखि ४५ जनासम्म बोकिने गरेका छन् । बढी तौलका बोकिए आलोपालो गरेर धेरैले बोक्नुपर्ने भएकाले बढीले काम पाउँछन् । असोज, कात्तिक, फागुन, चैत र वैशाखमा एक जनाले १० हजारसम्म कमाउने रतन बताउँछन् । योबेला दैनिक यात्रुको संख्या तीन हजारभन्दा बढी हुन्छ । एकैजनाले दिनमा तीन पटकसम्म बोकेर आहोरदोहोर गरेको उनले सुनाए । विशेष गरी होटलमा बस्नेले बोक्ने मान्छेको खोजी गर्ने भएकाले मजदुरले पनि बेलुका होटल चहार्छन् । यसरी नै मान्छे बोक्दै आएका पासाङ शेर्पाले भने, ‘बिहान २ बजेदेखि नै तैनाथ हुनुपर्छ । मान्छेहरू २ बजेदेखि नै हिँड्न थाल्ने भएकाले काँधमा चुन्द्री बोकेर उकालो/ ओरालो गर्नुपर्छ ।’

गाडीबाट ओर्लनेबित्तिकै सामान बोक्न पाइने भएकाले काफ्लेपाटीमा धेरैको लर्को लाग्छ । माथिल्लो फेदीदेखि माथि हिँड्न गाह्रो हुने भएकाले धेरै मजदुरको ध्यान त्यता केन्द्रित हुन्छ । फेदीदेखि मन्दिर पुर्‍याउँदाको दर भने प्रतिकिलो एक सय रुपैयाँ मात्रै रहेको पासाङले बताए । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बोक्ने र बोकिनेबाट अहिलेसम्म गुनासो नआएको बताउँछन् । ‘यात्रुको सामान हराए, कोही ठगिएमा गलत सन्देश जान्छ भनेर मजदुर संघले कडाइ गरेको छ,’ उनले थपे, ‘संस्थामा चाहिँ कुनै गुनासो, उजुरी कतैबाट आएको छैन ।’

संरक्षण समितिका पूर्वअध्यक्ष ८२ वर्षीय मित्रलाल पौडेलका अनुसार पहिले पाथीभरामा ठूलो जंगल थियो । गोरेटो बाटो सानो थियो । तीर्थयात्रीले ओडार र गोठमा बास बस्नुपर्थ्यो । भालुगौंडे भन्ने स्थानमा मात्रै पानीको मुहान भएकाले त्यही खाना बनाएर खाने र उकालो चढ्ने गर्थे । त्यहाँदेखि माथि फलाहार मात्रै खान्थे । जुठो पार्नु हुँदैन भन्ने मान्यता थियो । हिँड्न सक्नेहरू दिनभर लगाएर भालुगौंदेखि मन्दिर पुगेर त्यही फर्किन सक्थे । आगन्तुकको चाप बढ्दै गएपछि राति बस्नका लागि छानो लगाएर धर्मशाला बनाउने क्रम सुरु भयो । देउरालीदेखि मन्दिरसम्मै धर्मशाला बने । तीर्थयात्री तिनैमा सुत्न थाले । मन्दिर परिसरबाहिर अहिले पाँचवटा धर्मशाला लस्करै रहेको छ । अहिले ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक छ । बस, जिपलगायत जुनसुकै गाडी जान्छन् । त्यहाँदेखि १२ किलोमिटर कच्ची सडक छ । यहाँ जिप मात्रै चल्छन् । हिउँदमा मोटरसाइकल सहजै पुग्छन् । लामो समयसम्म पैदल कम हिँडेका, दम लगायतका बिरामीलाई उकालो गाह्रो हुन्छ । ‘तराईका बालबालिका र लामो समय नहिँडेका उकालो जान सक्दैनन्, ओरालो झर्न समस्या हुँदैन,’ पासाङले भने, ‘तर ओरालो झर्दा पनि हिँड्न नजानेर लड्ने भएकाले बोकिने र बोकाउने गरेका छन् ।’

पाथीभरामा धरान, भेडेटार, काठमाडौं, ताप्लेजुङको फुङलिङ र सुकेटारबाट हेलिकोप्टरबाट पनि तीर्थयात्री ओसार्ने गरिएको छ । धरानबाट प्रतिव्यक्ति ३० हजार र फुङलिङबाट १५ हजार लिएर यात्रु ओसारपसार गरिन्छ । तर यसरी जाने तीर्थयात्रीको संख्या निकै कम हुने पाथीभराका कर्मचारी राजेन्द्र महत बताउँछन् । माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका अनुसार चैते दसैं र असोजको दसैंको समयमा दैनिक १७ हजारसम्म तीर्थयात्रीले दर्शन गरेका छन् ।

यो बेलाको भीड नियन्त्रण र तीर्थयात्रीको सहयोगका लागि सदरमुकाम फुङलिङबाट स्वयंसेवक परिचालन गरिन्छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्ले वार्षिक चार लाख दर्शनार्थी आउने गरेको बताउँछन् । ‘तीर्थयात्री रातदिन हिँड्छन, कतिपयको तथ्यांक राख्नै सकिँदैन,’ काफ्लेले भने, ‘जुन तथ्यांक छ त्यसलाई केलाउँदा बर्सेर्नि बढ्दो क्रममा छ ।’

काफ्लेपाटीदेखि मन्दिरसम्म केबलकार सञ्चालनको प्रक्रिया पनि चलिरहेको छ । पाथीभरा माता केबलकार कम्पनीले यसै वर्षदेखि निर्माणको काम सुरु गर्ने जनाएको छ । यसका लागि फुङलिङ नगरपालिकाले अनुमति दिएको छ भने सरकारले जग्गासमेत उपलब्ध गराइसकेको छ । कम्पनीका निर्देशक ईश्वरी पौडेल रुट क्लियर गर्न रूख हटाउन टाँचा लगाउने काम भएको र अब प्रक्रियागत ढंगले अघि बढ्ने बताउँछन् ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, किरात धर्म तथा साहित्य उत्थान संघले केबलकार निर्माणको विरोध गर्दै आएका छन् । उनीहरूले खगेन्द्र फेम्बुको संयोजकत्वमा एक हजार एक संघर्ष समिति पनि घोषणा गरेका छन् । आफूहरूको आध्यात्मिक आस्थालाई कुल्चेर नाफाखोर कम्पनीलाई केबलकार निर्माण गर्न कुनै हालतमा नदिने उनीहरूको दाबी छ । पाथीभराको खास नाम मुक्कुमलुङ भएको र त्यसमा अतिक्रमण भएको उनीहरूको भनाइ छ । यस्तै, सेमुक्तु मुक्तुकोक्मा संरक्षण समिति गठन गरिएको छ । राजेन्द्र अङछङबोको संयोजकत्वमा रहेको यो समितिले पाथीभराको खास नाम सेमुक्त मुक्तुकोक्मा भएको दाबी गर्दै आएको छ । यसको संरक्षणका लागि २ हजार २० सदस्य घोषणा गरिएको छ । यसले मन्दिर परिसरको एक किलोमिटर क्षेत्रभित्र मानव निर्मित संरचना हुन नहुने र भएको हटाउनुपर्ने माग गरेको छ । ‘केबलकार समयको आवश्यकता भएको तर मन्दिरको एक किलोमिटर बाहिर मात्रै हुनुपर्छ,’ अङछङबोले भने ।

पाथीझैं चुलिएको देखिने पाथीभराको नामको विषयमा विवाद छ । ‘बेलायतको लन्डन लाइब्रेरीमा रहेको तथ्यांकअनुसार पहिला सेमुक्तु मुक्तुकोक्मा भनेर उच्चारण गरिन्थ्यो,’ अङछङबोले भने, ‘पछि खस–ब्राह्मण जातिले पाथीमा चुलिएको जस्तो डाँडो देखेपछि पाथीभरा भनेका हुन् ।’

पाथीभरा उत्पत्तिको विषयमा भने एकमात्र किंवदन्ती छ । गुरुङ समुदायका गोठालाले चराउँदै गरेको भेडा हराएपछि खोज्ने क्रममा देवीले दर्शन दिएको र पूजा गरेपछि छाडिदिएको कथन पाइन्छ । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार परापूर्वकालमा गोठालाका सबै भेडा हराए, धेरै समय खोज्दा पनि नभेटेपछि निराश र लखतरान भएर रित्तो गोठमा सुते । त्यही बेला देवीले दर्शन दिएर आफ्नो पूजा आराधना गरे छोडिदिने बचन दिइन् । उनले भनेकै ठाउँमा गएर पूजा आराधना गरिरहँदा भेडाका बथान ओडारबाट कराउँदै निस्किए । अहिले पनि त्यो ओडार रहेको तर विकट ठाउँमा भएकाले दर्शनार्थीलाई जान अनुमति नदिएको पाथीभरा देवी मन्दिर संरक्षण समितिका अध्यक्ष तारानाथ घिमिरे बताउँछन् । ‘पहिला धेरैले त्यहीं गएर पूजा गरेको सुन्न पाइन्छ,’ उनले भने, ‘मान्छे जान कठिन भएकाले सम्म परेको डाँडामा त्यहाँका प्रतिमा सारेर पूजा गर्न थालिएको हो ।’ अहिले पनि कोहीकोही उत्पत्तिस्थलसम्मै जाने गरेको पुजारी आचार्य बताउँछन् ।

प्रकाशित : माघ २२, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?