कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लुम्बिनीको समृद्धि गौतम बुद्ध विमानस्थलबाटै’

पुसयता अन्तर्राष्ट्रिय उडान ठप्प रहेको विमानस्थल सञ्चालनमा लुम्बिनीवासीको चासो

भैरहवा — लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निर्माण सुरु गर्नुपूर्व नै सरकारी निकायबीच समन्वय नभएकाले उडान हुन नसकेको पनि उनीहरूले टिप्पणी गरेका छन् । 

‘लुम्बिनीको समृद्धि गौतम बुद्ध विमानस्थलबाटै’

देशको दोस्रो अन्तर्राष्ट्रिय हवाई अड्डाका रूपमा सञ्चालनमा आएको यो विमानस्थलबाट पुसयता अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । भैरहवामा पहिलो व्यावसायिक उडान गरेको जजिरा एयरलाइन्स र मलेसियाका लागि चार्टर्ड उडान सुरु गरेको नेपाली वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले जाडोयाममा भिजिबिलिटी कम भएको र यात्रुको चाप पनि नरहेको भन्दै अन्तर्राष्ट्रिय उडान रोकेका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ–सामाजिक बहसका मुख्य वक्ता उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कसैले रोक्न नसक्ने बताए । ‘कसैले यो विमानस्थल सेतो हात्ती हो, चल्न सक्दैन भन्दै आएका छन्,’ उनले भने, ‘म उहाँहरूलाई भन्न चाहन्छु, विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ र त्यसमा कसैको अवरोध हुनेछैन । क्षमताको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदै छ ।’ विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति रहेको र त्यो पूरा भइसकेकाले अब तीव्र रूपमा क्षमता विस्तार गरिने उनले बताए ।

‘पर्यटनको उडान’ सत्रमा पर्यटनमन्त्री सुदन किरातीले गौतम बुद्ध विमानस्थल सञ्चालनमा ल्याउन कूटनीतिक पहल सुरु गरिएको बताए । उनका अनुसार बुद्ध आफैंले ‘शरीर परित्याग गरेपछि लुम्बिनी जानू’ भनेर आफ्नो जीवनको उपदेशमा भनेको भए पनि विश्वभरका ५ सय मिलियन बौद्धमार्गीमध्ये ०.००५ प्रतिशत पनि नेपालका बौद्ध तीर्थ घुम्न आएका छैनन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले पनि लुम्बिनी प्रदेश आउने पर्यटकको संख्या घट्नुमा कमजोर पूर्वाधार र आवश्यक सुविधाको अभाव प्रमुख कारण रहेको औंल्याइन् । उनले लुम्बिनी घुम्न आउने पर्यटकलाई आफूहरूले त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यावरणीय विविधता बेच्ने गरेको बताइन् । ‘लुम्बिनीबाहिर पनि लुम्बिनी प्रदेश छ भन्ने बुझ्नुपर्छ,’ उनले भनिन्, ‘बर्दियाको बाघ बर्दिया वा बाँकेको मात्र होइन, रूपन्देहीको पनि हो । रूपन्देहीले त्यसलाई आफ्नो ठानेर प्रचार गर्नुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विकास योजना निर्माण हुनुअघि सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्र र व्यवसायीले दुःख पाउने गरेको बताए । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहारण दिँदै ढकालले प्रोजेक्ट सुरु गर्नॅपूर्व मन्त्रालय, विभाग र सरोकारवालाबीच समन्वय नहुँदा विमानस्थल चल्न नसकेको दाबी गरे । ‘विमानस्थल तयार भएपछि केही दिन उडान सुरु भयो, सँगसँगै उडान बन्द गर्नॅपर्ने अवस्था आयो, यसको कारण समन्वय नहुनु नै हो,’ उनले भने, ‘विमानस्थल बनेपछि पर्यटक, हवाई रुट, वैदेशिक रोजगारीमा जाने नेपालीसँग सम्बन्धित श्रम, डेस्क र भिसाका सवालमा विमानस्थल तयार हुनुभन्दा अगाडि समन्वय भएन ।’

होटल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले कोभिडपछिको अवस्थामा आन्तरिक पर्यटकले लुम्बिनी क्षेत्रका विभिन्न पर्यटन व्यवसायलाई भरथेग गरेको भए पनि अहिले पुनः समस्या देखापरेको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय क्षेत्रले चिनेको र देशले बिर्सिएको ठाउँ बर्दिया हो,’ उनले भने, ‘बाघ हेर्न संसारको उच्चतम गन्तव्य हो भनेर संसारका राम्रा टुरिज्म जर्नलहरूले सम्मान दिइरहेका छन् । बाघको संख्या बढाएकामा अन्तर्राष्ट्रिय सम्मान पाइएको छ । पर्यटन गन्तव्य बन्यो भनेर अन्तर्राष्ट्रिय सम्मान छ तर राज्यको कुनै पनि अंगमा हेर्नुस्, यो सम्मानको कुनै फोटो देख्नु हुन्न ।’

‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको पहिलो सत्र ‘संघीयता संस्थागत गर्ने समय’ मा वक्ताहरूले संघीयता कार्यान्वयनका लागि सोच र दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिए । बहसमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी र गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डे सहभागी थिए ।

‘पालिका र पूर्वाधार’ विषयक सत्रमा पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्ट, राप्रपा महामन्त्री धवलशमशेर राणा, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे र पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले भाग लिए । उनीहरूले विकासका काममा स्थानीय तह, प्रदेश र संघ सरकारबीच समन्वय गर्नुपर्ने बताएका थिए ।


कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया । तस्बिर : कान्तिपुर

‘अर्थतन्त्रका अवरोध’ विषयक तेस्रो सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा र निक्षेपको ब्याजदर घट्दो क्रममा रहेकाले केही महिनामै ग्राहकले त्यसको अनुभव गर्न पाउने बताए । यो सत्रमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा र आईटी स्टिल स्ट्रक्चर सोलुसनकी प्रबन्ध निर्देशक सोनाली गुरुङ सहभागी थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रदेशमा राजनीतिक स्थिरता भए मुलुकको अर्थतन्त्र सुध्रिने बताएका थिए । ‘छोटो अवधि अर्थात् तीन दशकमा मात्रै नेपालले ठुल्ठूला राजनीतिक परिवर्तन गरिसकेको छ तर अपेक्षित रूपमा आर्थिक विकास गर्न सकेको छैन,’ उनले भने, ‘अब बेला आइसकेको छ, सबै जना जुट्ने र देशको विकासका निम्ति लागिपर्ने । तीव्र गतिमा विकास भइरहेको लुम्बिनी प्रदेशलाई केन्द्रीय सरकारका अन्तरसम्बन्धित निकायहरूको सहयोग र प्रदेशमा समेत राजनीतिक स्थिरता भइदिए मुलुकको अर्थतन्त्रमा थप योगदान गर्न सक्छ भन्ने मलाई लागेको छ ।’

प्रकाशित : माघ २२, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?