कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर बल्ल थाहा पाउँदैछु : माधव नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि सत्ता समीकरणको फेरबदलको रहस्य आफूले बल्ल बुझिरहेको बताएका छन् । उनले फेरिएको समीकरणकै कारण मुलुकमा संविधान र व्यवस्थाप्रति जोखिम निम्तिएको बताए ।

ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर बल्ल थाहा पाउँदैछु : माधव नेपाल

शनिबारदेखि बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिएपनि अहिले त्यसको व्यापक दुरुपयोग गरिरहेको बताए । ‘यो चुनावमा लोकप्रियतावादी शक्तिले केही गर्छन् कि भन्ने जनतामा छाप छाडे, चुनावमा नतिजा पनि पाए । तर, अहिले त्यसको परिणाम देखिन थालेको छ,’ उनले भने, ‘मन्त्री पदका लागि कुन तहको आशक्ति देखाइरहेका छन् ? त्यो छताछुल्ल छ । आफ्नो स्वार्थ जोडिएको मन्त्रालय लिएर कसरी शक्तिको दुरुपयोग गरिरहेका छन् ? त्यो पनि छताछुल्ल भएको छ ।’

उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए । ‘चुनावअघि एउटा समीकरण थियो, परिणाम आएपछि नयाँ समीकरण बन्यो । वास्तवमा त्यसको कारण के रहेछ भनेर मैले त भर्खरै बुझ्दैछु, देउवाजी र प्रचण्डजीको बीचमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने सहमति भएको रहेछ, तर ओलीले देउवाजीलाई प्रचण्डलाई नदिनुहोस्, तपाईंलाई प्रधानमन्त्री बनाउन म सहमति दिन्छु भनेर झुक्याएछन्, अहिले बिहान पनि मैले कांग्रेसका नेताहरूलाई भेटेँ । ओलीले देउवालाई कसरी झुक्याएछन् भनेर म त बल्ल थाहा पाउँदैछु ।’

उनले ओली–दाहाल मिलेर सरकार बनाएपनि दाहालले ओलीलाई कहिलेसम्म झेल्ने हो ? भनेर कुनै ठेगान नभएको बताए । ‘अहिले नै खटपट सुरु भइसकेको छ । यो सत्ता गठबन्धन कहाँसम्म जाने हो ? राष्ट्रपतिको निर्वाचनसम्म पुग्ला कि नपुग्ला ? यस्तो तरल राजनीतिक अवस्था कहिलेसम्म जाने हो ? केही ठेगाना छैन,’ उनले भने ।

अध्यक्ष नेपालले सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा रहेको बताए । ‘अहिले संसद्को रोष्टममा उभिएर संविधानको विरोध भइरहेको छ । राजतन्त्रको वकालत भइरहेको छ । राजतन्त्रको वकालत गर्नेहरू सरकारमा बसेर संघीयताको विरोध गरिरहेका छन्,’ उनले भने, ‘यसले यो संविधान र व्यवस्थाप्रति खतरा बढेको संकेत गरिरहेको छ ।’

उनले निर्वाचनमा एक लाख ३६ हजार पार्टी सदस्य भएपनि एक सदस्यले तीन जनाको मत समेत तान्न नसकेको भन्दै असन्तुष्टि पोखे । ‘निर्वाचनको परिणाम हामीले सोचेकोजस्तो भएन । हामीले १० सिट जितेपछि ३ प्रतिशत थ्रेसहोल्ड समेत कटाउन सकेनौँ । खास त्रुटि कहाँ भयो ? अहिले एकले अर्कालाई दोष लगाउने काम भइरहेको छ । तर, यसको पहिचान गरेर हामीले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक छ,’ उनले भने ।

प्रकाशित : माघ २१, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?