गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै बहानामा विशेषाधिकार दिन मिल्दैन : महामन्त्री थापा- समाचार - कान्तिपुर समाचार

गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै बहानामा विशेषाधिकार दिन मिल्दैन : महामन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् । 

महामन्त्री थापाले ट्वीटरमार्फत नाबालिकामाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेको विषयमा बोल्दै बलात्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

'बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ,' उनले भनेका छन्, 'एक साताअघि नै यो प्रसंग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेनँ ।'

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा क्यानले हतारोमा निर्णय गरेको भन्दै क्यानको निर्णय गलत भएको र तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रकाशित : माघ २०, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

हवाई भाडा घटाउन उद्योग परिसंघको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारबारे सुझाव दिएको परिसंघले विज्ञप्तिमार्फत जनाएको छ ।

'हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसंघले मन्त्री किरातीसँग आग्रह गरेको छ,' परिसंघले विज्ञप्तिमा भनेको छ । मन्त्री किरातीसँगको भेटमा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपालको हवाई भाडा अत्यन्त महFगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटकहरू आउन नसकिरहेको धारणा राखे ।

त्यस्तै, परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको उल्लेख गर्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए ।

परिसंघअन्तर्गतको पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरे । यस्तै अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको बारे पनि परिसंघले मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न र नेपाललाई 'फिल्मिङ’ गन्तव्यका रूपमा विकास एवं प्रवर्द्धनका पहल गर्न पनि परिसंघले आग्रह गरेको छ ।

प्रकाशित : माघ २०, २०७९ १८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×