अघिल्लो चुनावमा भन्दा यसपटक कम खर्च : प्रमुख निर्वाचन आयुक्त- समाचार - कान्तिपुर समाचार

अघिल्लो चुनावमा भन्दा यसपटक कम खर्च : प्रमुख निर्वाचन आयुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका छन् । सञ्चारकर्मीहरुसँग शुक्रबार निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा तथा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसहित ७ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले मतदाता, कर्मचारी, मतदान स्थल बढे र यो बीचमा वृद्धि भएको तलबभत्ता सहितका अनिवार्य तिर्नुपर्ने खर्चसहितलाई मध्यनजर गरी १० अर्बको अनुमान गरे पनि ३ अर्ब सबै निर्वाचन सकेर फिर्ता गर्ने तयारीमा रहेको बताए ।

'यो वर्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न २०७४ सालमा भएको खर्च र यो वर्ष मतदाता, कर्मचारी, मतदानस्थल बढे र यो बीचमा वृद्धि भएको तलaभत्ता सहितका अनिवार्य तिर्नुपर्ने खर्चसहित १० अर्बको अनुमान गरेका थियौं। १० अर्ब रुपैयाँ माग गरेकोमा झन्डै ३ अर्ब फिर्ता गर्ने तयारीमा छौं,' उनले भने, 'हामी राiट्रपति र उपराiट्रपतिको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन सकेर त्यत्ति खर्च हो ।'

उनले आयोगले निर्वाचन खर्चमा खर्च कटौती गर्दै गइरहेको भन्दै आगामी दिनमा झनै कम खर्चमा निर्वाचन गर्ने गरी अघि बढिरहेको बताए । उनले निर्वाचनको पद्धति मिचेर खर्च गर्नेहरुले नै निर्वाचन खर्च घटाउनुपर्ने बताए । जनताको सार्वभौम सत्ता सम्पन्न जनताको मताधिकारमाथि प्रश्न उठ्ने कुरा गर्नु दलीय, निर्वाचन प्रणाली र संविधानमाथि प्रश्न चिह्न खडा गर्नुसरह भएको उनको भनाइ छ ।

उनले अहिलेको संविधान र संवैधानिक कानूनअनुसार निर्वाचन गर्ने भएकाले निर्वाचनको नाममा प्रणाली र संविधानमाथि गरिने आक्षेपपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अर्को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएको कुनै पनि व्यक्तिलाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए । तत्काल नै स्थानीय तहको निर्वाचन र पहिलो हुने निर्वाचन प्रणालीमा भने त्यो अधिकार प्रयोग गर्न पाउनसक्ने अवस्था नरहेको उनले प्रस्ट पारे ।

प्रकाशित : माघ २०, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

शिलाले कस्दै नागरिक सम्बन्ध

नेपालबारे भारतमा सकारात्मक सन्देश प्रवाह 
राजेश मिश्र

अयोध्या (उत्तर प्रदेश) — भारतीय प्रधानममन्त्री नरेन्द्र मोदीले नेपालको बारे बोल्दा प्राय: दोहोर्‍याइरहने वाक्य हो- ‘नेपालके बिना हमारे राम भी अधूरे हैं’ । जनकपुर होस् या लुम्बिनी आफ्नो भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने धार्मिक र सांस्कृतिक विषयलाई महत्त्वका साथ उठाउने गरेका छन् ।

हिन्दु धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान विष्णुको अवतारका रुपमा अयोध्यामा जन्म लिएका भगवान रामको विवाह जनकपुरकी राजकुमारी जानकीसँग भएको थियो । प्राचिनकालको अयोध्या आधुनिककालमा भारतमा तथा जनकपुर नेपालमा छ ।

त्यही धार्मिक मान्यताअनुसार ‘नेपाल बिना राम अधुरा’ भनिएको हो । आजको आधुनिक युगमा पनि रामलाई पूर्णता दिन नेपाल अघि सरेको छ । भगवान रामको जन्मस्थल भारतको अयोध्यामा भव्य मन्दिर निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालीगण्डकी नदीबाट शिला उत्खनन् गरी भारत ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो ।

धार्मिक भनाइ छ– ‘माने भगवान, नमाने पत्थर’ । नेपालमा पत्थरको खानी छ । कालीगण्डकीमा पााइने शालिग्राम पूजनीय मानिन्छ । त्यही नदीबाट निकालिएका दुई ठूला पत्थर यतिबेला भगवान रामका रुपमा पुजिन थालेका छन् । नदीमा रहँदासम्म पत्थरको परिचयमा मात्रै सीमित त्यहाँबाट अयोध्या राम मन्दिरका लागि उत्खनन् भएदेखि दुई पत्थर भगवानको रुपमा पूजनीय हुन पुगे ।

बेनीबाट जनकपुर आउँदा नेपाली नागरिकले त्यसप्रति आस्था दर्शाउन थालेका थिए । जनकपुरबाट भारत प्रवेश गरेपछि त्यस शिलाप्रति आस्था प्रकट गर्नेका संख्या बढ्दै गयो । अयोध्यासम्मको यात्रामा उक्त शिलालाई हजारौं हजार मानिसले श्रद्धा र आस्था प्रकट गरे । नेपालबाट अयोध्यामा रामको मूर्ति निर्माणका लागि शिला आएको खबर भारतीय सञ्चारमाध्यममा लगातार छाइरह्यो । यात्राभरि कतिपय टेलिभिजनले प्रत्यक्ष प्रसारण पनि गरे । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खनन्‌देखि त्यसलाई अयोध्या पुर्‍याउने क्रममा बाटामा हजारौं नरनारीले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका छन् ।

राम जन्मभूमि स्थल विवादित थियो । भारतको सर्वोच्चले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिर निर्माण हुँदैछ । राम जन्मभूमि अयोध्यामा राम मन्दिर निर्माणको विषय भारतको हिन्दु समुदायका लागि महत्वपूर्ण हो । त्यही मन्दिरमा राखिने मूर्ति बनाउन नेपालबाट शिला ल्याइएको विषयले यतिबेला भारतभर नेपालको चर्चा छ । नेपालसँगको पौराणिक, धार्मिक सम्बन्ध तथा नेपालका पवित्र कालीगण्डकी नदी र तीर्थस्थलहरुको व्याख्यान यतिबेला भारतीय मिडियामा भएका छन् । सीमा वारिपारि दुई देशका नागरिक तहको सम्बन्धलाई बलियो बनाउन कालीगण्डकीको शिलाले भूमिका खेलेको देखिन्छ ।

अयोध्यामा मन्दिर निर्माणसँग जोडिएका पदाधिकारी, नागरिक समाजका मानिसहरुले नेपालले शिला प्रदान गरेको विषयलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । अयोध्यामा शिला हस्तानान्तरण कार्यक्रममा दर्जनौं टेलिभिजनहरुले गरेको प्रत्यक्ष प्रसारण र प्रिन्ट मिडियमा प्राथमिकता साथ प्रकाशित समाचारहरुले भारतमा नेपालको सकारात्मक प्रचारमा मद्दत पुर्‍याएको छ । नेपालबारे प्रायः नकारात्मक चर्चाले बढी स्थान पाउने । अझ पछिल्लो पटक पोखरामा भएको विमान दुर्घटनाले भारतीय मिडियामा नेपालको यात्रा नै असुरक्षित खालको रिपोर्टिङ आएका थिए । तर, शिलासम्बन्धी यहाँका मिडियाले गरेको रिपोर्टिङले भारतीय जनमानसमा नेपालबारे कायम नकारात्मकतालाई केही हदसम्म पक्कै चिरेको हुनुपर्छ ।

मन्दिर निर्माणको विषयलाई वर्षौंदेखि रिपोर्टिङ गरेका पुराना पत्रकार भीएन दास केन्द्र र प्रदेश दुवै सरकारको ध्यान अयोध्यामा रहेको बताए । राम मन्दिर निर्माणको मुद्दाबाट उदाएको भाजपा यतिबेला दुवै तहको सरकारको नेतृत्व गरिरहेको छ । सिंगो देशको ध्यान अयोध्याको मन्दिर निर्माणमा रहेका बेला शालिग्रामको प्रसंगले नेपाल पनि जोडिन पुगेको उनले बताए । ‘यो अत्यन्तै खुसीको कुरा हो, सीताको गाउँबाट रामको मूर्ति निर्माणका लागि शिला आएको छ, यसलाई यहाँका नागरिकले राम्रो मानेका छन्,’ उनले भने, ‘यस घटनाले नेपाल भारतको सम्बन्ध थप चर्चामा आएको छ । पुरानो र परम्परागत मित्रता थप कसिने छन् ।’

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्र्रस्टका महासचिव चम्पत रायले कालीगण्डकी नदीबाट शिलाको उत्खननदेखि यहाँसम्म पुर्‍याउने कार्यमा नेपाल सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । ‘जनकपुर र अयोध्याको सम्बन्धको व्याख्या गर्न जरुरी छैन, यो धेरै प्राचीन हो । तर, आजबाट नयाँ सम्बन्धको पनि सुरुवात भएको छ,’ उनले भने, ‘नेपाल सरकार, गण्डकी प्रदेश सरकार र जानकी मन्दिरले गरेको सहयोग अमूल्य छ ।’ उनले ३० जनवरीमा शिला भारत प्रवेश गरेको र १ जनवरीको साँझ अयोध्या आइपुग्दासम्म बाटोभरि हजारौंहजार मानिसले व्यक्त गरेको श्रद्धाले शिलाको महत्व धेरै बढेर गएको उल्लेख गरे ।

कालीगण्डकीको शिलाबाट मूर्ति बन्ने विषयलाई प्राथमिकतामा राखेर त्यसलाई पूर्णता दिन पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले विशेष भूमिका खेलेका छन् । उनले अयोध्यामा निर्माणाधीन मन्दिरमा जनकपुरबाट चिनोको रुपमा धनुष राख्ने प्रस्ताव लिएर मन्दिर निर्माण समितिका पदाधिकारीहरुसँग छलफल गर्दै आएका थिए । त्यस विषयमा कुरा चलिरहँदा मूर्तिका लागि शालिग्राम पत्थरको प्रसंगले प्रवेश पाएको निधिले बताए ।

विज्ञहरुसँग स्थलगत निरीक्षण र कालीगण्डकीको पत्थरबाट मूर्ति बनाउन सकिने विज्ञको रायसहित निधिले अयोध्याका सरोकारवाला पक्षलाई त्यसबारे अवगत गराएका थिए । लामो छलफल र सरकारी प्रक्रियाहरु पूरा गरेर शिलालाई अयोध्यासम्म ल्याइपुर्‍याउँदा आफूले एउटा सार्थक काम गर्न सकेको अनुभूति प्राप्त भएको निधिले बताए ।

नेपालबाट ल्याइएको शिलाप्रति भारतमा देखिएको चसो, आस्था र सम्मानले दुई देशको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित : माघ २०, २०७९ १६:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×