पेट्रोल छर्केर आगो लगाउँदा दुई वर्षे छोराको मृत्यु, श्रीमती अस्पतालमा- समाचार - कान्तिपुर समाचार

पेट्रोल छर्केर आगो लगाउँदा दुई वर्षे छोराको मृत्यु, श्रीमती अस्पतालमा

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुर–२, शक्तिनगरका भानुभक्त विकले छोरा र श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु भएको छ । श्रीमती सिकिस्त भएर अस्पताल भर्ना भएकी छन् ।

विकले श्रीमती गंगा र दुई वर्षे छोरा प्रिन्सलाई आइतबार आगो लगाएका हुन् । प्रिन्सको उपचारका क्रममा सोमबार बिहान भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

गंगाको घाँटीदेखि कम्मरसम्मको भाग जलेको छ । जलेर गम्भीर घाइते भएका आमाछोरालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई नेपालगन्जस्थित भेरी अस्पताल रेफर गरिएको हो । गंगाको अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ ।

‘छोरी त आधा जलेर धन्न बाँची तर नातिलाई बचाउन सकिएन,’ गंगाका पिता मनी विकले भने ।

पत्नी र छोरालाई आगो लगाएर भागेका भानुभक्तलाई प्रहरीले आइतबार राति नै पक्राउ गरिसकेको छ । भारततर्फ प्रवेश गर्न लागेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए । विकलाई कोहलपुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । ‘पति–पत्नीको झगडाले उग्र रूप लिँदा यो घटना भएको देखिन्छ, पीडा लुकाउँदै जाने र प्रहरीसँग नपुग्ने समस्याले ठूलो घटना भयो,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट परपुरुषसँगको शंकाले यो घटना भएको देखिएको छ ।’

एक वर्षदेखि पति–पत्नीबीच झगडा भइरहँदा पनि छोरीले आफूहरूलाई कुनै जानकारी नदिएको पिता मनीले बताए । ‘कुट्ने, पिट्ने त एक वर्षदेखि चलिरहेको रहेछ । बुबाआमाले दुःख मान्नुहुन्छ भनेर छोरीले यो कुरा कहिल्यै बताइनन्,’ उनले भने, ‘धामीझाँक्रीले छोरीसँग धेरै केटा लागेको बताएपछि ज्वाइँले शंका गरी जलाउने योजना बनाएका रहेछन् । ज्वाइँको अन्धविश्वासका कारण नाति गुमायौं ।’

३० वर्षीय भानुभक्त भारतमा बसेर व्यापार गर्दै आएका थिए । जाडो याममा उनले कोहलपुरमै गलैंचादेखि सिरकको व्यापार गर्थे । केही समयदेखि भारतमा थिए । गंगा भने २ छोरी र २ छोरा लिएर घरमै बसेकी थिइन् । माइतीले बन्दोबस्त मिलाइदिएपछि गंगाको परिवार कोहलपुरमा घर बनाएर बसेको थियो ।

प्रकाशित : माघ १७, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानमा आत्मघाती विस्फोट, कम्तीमा ४७ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिम सहर पेसावरस्थित एक मस्जिदमा सोमबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । १ सय ५७ जना घाइते भएका छन् । पेसावरको प्रहरी कार्यालयसहित उच्च सुरक्षा व्यवस्था रहेको क्षेत्रको मस्जिदमा विस्फोट भएको हो । 

पाकिस्तानी सञ्चारमाध्यम डन न्युजका अनुसार विस्फोटका कारण मस्जिदको मुख्य भवन पूरै भत्किएको छ । भग्नावशेषमा मानिसहरू पुरिएका थिए । उक्त भवन २५० देखि ३०० मानिस क्षमताको भए पनि विस्फोटको समयमा ३०० देखि ४०० जना मस्जिदको भवनमा रहेको समाचारमा उल्लेख छ । पेसावरका प्रहरी प्रमुख मोहम्मद इजाज खानले विस्फोटमा आत्मघाती आक्रमण भएको दाबी गरेका छन् । आक्रमणकारी धेरै वटा ब्यारिकेट पार गर्दै सो स्थानमा पुगेर विस्फोट गराएको बताइएको छ । मस्जिदमा प्रार्थना गर्नेहरूको पहिलो लाइनमा बसेका आक्रमणकारीले प्रार्थना सुरु भएपछि विस्फोट गराएका थिए । विस्फोटको कारण मस्जिदको माथिल्ला तलासमेत भत्किएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सेहबाज सरिफले आक्रमण पाकिस्तानमाथि भएको भन्दा कम नभएको बताएका छन् । ‘यो पाकिस्तानमाथिको आक्रमणभन्दा कम होइन । राष्ट्र गहिरो शोकमा गुज्रिएको छ । कुनै शंका छैन कि आतंकवाद हाम्रो प्रमुख राष्ट्रिय सुरक्षा चुनौती हो,’ उनले भनेका छन् ।

साथै उनले घटनाप्रति खेद व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ‘पाकिस्तानको सुरक्षाका लागि खटिएकाहरूमाथि लक्षित गरेर आतंककारीहरूले त्रास सिर्जना गर्न खोजेका छन्,’ सरिफले भने । आक्रमणको इस्लामसँग कुनै सम्बन्ध नभएको भन्दै उनले आतंकवादको त्रासविरुद्ध पूरै पाकिस्तान एकजुट रहेको बताए । घाइतेहरूका लागि रक्तदान गर्न र उद्धारमा खटिन उनले पार्टीका कार्यकर्तालाई आह्वान गरेका छन् ।

सोमबारको घटनापछि प्रधानमन्त्री सेहबाज र सैन्य प्रमुख असिम मुनिर पेसावरमा पुगेर घटनाबारे जानकारी लिएका थिए । सूचनामन्त्री मरियम औरंगजेब, रक्षामन्त्री खवाजा असिफ, आन्तरिक मामिलामन्त्री राना सनउल्लाह पनि घटनास्थल पुगेका थिए । घटनास्थलबाट फर्किएपछि प्रधानमन्त्री सेहबाजले अकल्पनीय घटना भन्दै यो घटना सिंगो पाकिस्तानमाथिकै आक्रमण भएको बताए ।

पूर्वप्रधानमन्त्री इमरान खानले पनि आक्रमणको भर्त्सना गरेका छन् । केही महिनायता पाकिस्तानमा आतंकवादी समूह सक्रिय रहँदै आएका छन् । आतंकवादी आक्रमणका घटना बढ्दो क्रममा रहेको स्थानीय मिडियाले जनाएका छन् । सोमबारको विस्फोट पनि आत्मघाती भएको बताइएको छ । आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी तालिवानले लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेषगरी प्रहरीलाई लक्षित गर्दै सशस्त्र हमलाका घटना बढेका छन् । गत जनवरी २२ मा पेसावरको बाडाबेर क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गर्दै आक्रमण भएको थियो । त्यसको अघिल्लो दिन मात्रै धेरी जर्दारस्थित प्रहरी पोस्टमा आक्रमण हुँदा एक प्रहरी मारिएका थिए भने दुई जना घाइते भएका थिए । गत जनवरी १४ को राति पेसावरमै हतियारधारी समूहले सर्बन्द प्रहरी स्टेसनमा आक्रमण गर्दा एक अधिकृतसहित तीन प्रहरी मारिएका थिए । (एजेन्सीको सहयोगमा)

प्रकाशित : माघ १७, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×