अमेरिकी उपमन्त्री नुल्यान्डको सुझाव- ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्, सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस्’- समाचार - कान्तिपुर समाचार

अमेरिकी उपमन्त्री नुल्यान्डको सुझाव- ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्, सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस्’

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सुझाव दिएकी छन् । उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्त्वपूर्ण पक्षको रुपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने बताएकी हुन् ।

नेपालको दुईदिने भ्रमणमा आएकी उपमन्त्री नुल्यान्डले सोमबार पाटनमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन् । छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्, सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस् । नेपालले सबै आफ्ना छिमेकीहरूसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौं ।’

उनले अमेरिकाको भारतसँग साँच्चै बलियो सम्बन्ध रहेको बताउँदै नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको उनले उल्लेख गरिन् । ‘चीनको कुरा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले नोभेम्बरमा भेटवार्ता गरेका थिए । आगामी साता चीनसँग अमेरिकाको अझ बढी संलग्नताहरू हुँदै छन्,’ उनले भनिन् ।

उपमन्त्री नुल्यान्डले अमेरिकाले एउटा वा अर्को (देश रोज्ने) भन्नेबारे धारणा नराख्ने बताइन् । ‘त्यसैले एउटा वा अर्कोबारे भन्ने होइन, यो भनेको नेपालको आफ्नो लोकतन्त्र र समृद्धिका लागि हो,’ उनले भनिन्, ‘धेरै मौकाहरू छन् । तर‚ हामी जहाँ जे गरिरहेका छौं, तपाईं (नेपाल) का जनता र अमेरिकी जनतालाई फाइदा होस् तथा दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस् भन्ने उद्देश्य हो ।’ उपमन्त्री नुल्यान्डले अमेरिकाले नेपालमा जे गरे पनि सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको उल्लेख गरिन् ।

प्रकाशित : माघ १६, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्नेछिन् ।

कूटनीतिक स्रोतका अनुसार उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भइसकेको छ भने अन्य भेटवार्ताको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौंस्थित अमेरिकी दूतावासको अनुसार उपमन्त्री नुल्यान्डको भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप उजागर गर्न सरकारी अधिकारीहरूसँग भेटवार्ता हुनेछ । दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्ने छिन् ।

पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेपछि विदेशबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । उपमन्त्री नुल्यान्डले बद्लिँदो भूराजनीतिक परिवेशमा यहाँको वस्तुस्थिति बुझ्न र नयाँ सरकारसँग सहकार्यका लागि नेपाल भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन् ।

३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसकेकी उनले यसअघि महत्त्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेकी छन् । उनी सन् २०२१ अप्रिलदेखि उपमन्त्री भएकी हुन् । उनले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र यूरेसियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेकी थिइन् ।

उनी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्लु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) को लागि अमेरिकी राजदूतको रुपमा काम गरेकी थिइन् । गत वर्षको जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले नेपालको तीनदिने औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यो दोस्रो ठूलो भ्रमण हो ।

प्रकाशित : माघ १५, २०७९ १८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×