कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति निर्वाचन घोषणा नभएकामा कांग्रेस सशंकित

'अहिले घोषणा गर्दा करिब डेढ महिना समय बाँकी हुन्छ, एक महिनाभित्र निर्वाचन गर्न सकिन्छ, १५ दिनको भए पनि तलबभत्ता खर्च जोगिन्थ्यो भन्ने हो' –दिनेश थपलिया, प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल बढाउनकै लागि निर्वाचनको मिति तोक्न आलटाल गरिरहेको आशंका कांग्रेसले गरेको छ । कांग्रेसले निर्वाचनको मिति तत्काल घोषणा गर्न निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ ।

राष्ट्रपति निर्वाचन घोषणा नभएकामा कांग्रेस सशंकित

कांग्रेसले कानुनी व्यवस्थाबमोजिम राष्ट्रपतिको चुनाव हुनुपर्ने माग उठाउँदै आएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २९ मा सकिने भएकाले माघ २९ भित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसको जोड छ ।

निर्वाचन आयोगले भने संविधान र कानुनको व्यवस्थामा विरोधाभास देखिएको भन्दै संविधानबमोजिम नै निर्वाचन गर्न खोजिएको बताउँदै आएको छ । संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने व्यवस्था गरेको र ऐनको व्यवस्थाबमोजिम निर्वाचन गर्दा एक महिनासम्म मुलुकमा दुइटा राष्ट्रपति हुने तर्क आयोगले अघि सारेको छ । त्यहीअनुसार आयोगले फागुन अन्तिममा राष्ट्रपतिको चुनाव गराउने तयारी गरिरहेको छ ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । सोही धाराको उपधारा २ मा ‘उपधारा १ बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदाभार नसम्हालेसम्म संविधानबमोजिमको कार्यसम्पादन गर्नेछ’ भन्ने उल्लेख छ । यही व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल बढाउने नियतले निर्वाचनमा मिति घोषणामा ढिलाइ गरिएको आशंका कांग्रेसले गरेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअघि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था निर्वाचन आयोगले लत्याएको टिप्पणी गरे । उनले भने, ‘कतै जालझेल हुन लागेको हो कि भन्ने आशंका छ ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि आयोगको ढिलाइलाई लिएर संशय पैदा भएको बताए । उनले दायाँबायाँ नसोची, नहेरी निर्वाचन आयोगले फागुन २८ अघि नै निर्वाचन मिति तोक्नुपर्ने बताए । ‘राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयष्कर हुनेछ, यसतर्फ बेलैमा सबैको ध्यान जाओस्,’ खड्काले आइतबार ट्वीट गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै राष्ट्रपति निर्वाचनको अन्योल धेरै नराख्न आग्रह गरेका थिए । संविधान र कानुनको विरोधाभासलाई हटाएर राष्ट्रपतिको चुनाव गराउनुपर्ने सुझाव पनि लेखकले दिएका थिए । ‘राष्ट्रपति जस्तो पदको चुनाव गराउँदा कानुन उल्लंघन भएको सन्देश जानु मुलुकका लागि राम्रो होइन । यसले सरकारलाई पनि राम्रो गर्दैन । कानुनअनुसार चुनाव नभए संविधानको भावनाअनुसार नै हुने गरी संशोधन गरौं, प्रमुख प्रतिपक्षले साथ दिन्छ भनेरै मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हो, प्रधानमन्त्रीले हुन्छ भन्नुभएको थियो । तर सरकारको तयारी के छ अहिले थाहा छैन,’ उनले भने, ‘कुनै पनि हालतमा राष्ट्रपतिको चुनाव फागुनको २८ भन्दा उता लैजान मिल्दैन ।’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले फागुन २८ भन्दा अगाडि नै निर्वाचन हुने बताए । ढिलाइ गर्ने र आलटाल गर्नुपर्ने लक्षित उद्देश्य केही नभएको उनको भनाइ छ । राष्ट्रपतिको निर्वाचन एक महिनाभित्रै सकिने भएकाले किन अगाडि नै गरेर खर्च बढाउने भन्ने तर्कका आधारमा मात्रै मिति घोषणा नगरिएको थपलियाले बताए । ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने, ‘अहिले घोषणा गर्दा करिब डेढ महिनाको समय बाँकी हुन्छ । एक महिनाभित्र निर्वाचन गर्न सकिन्छ । १५ दिनको भए पनि तलबभत्ता खर्च जोगिन्थ्यो भन्ने हो । गुनासो आएपछि सम्भवतः भोलि (सोमबार) नै मिति र कार्यक्रम घोषणा गर्छौं ।’

प्रकाशित : माघ १६, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?