प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

छोरी गंगासहित ७ जना स्वकीय सचिवालयमा नियुक्त
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई सोमबार नियुक्त गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताए । 'मैले पार्टीमा जिम्मेवारी दिनुस भनेर आग्रह गरेको थिए तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,' गजुरेलले भने ।

सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी २०४२ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य भएका थिए । २०७० मा माओवादीको कोषाध्यक्ष बनेका उनी २०७५ मा स्थायी समिति सदस्य थिए । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा सिन्धुली-३ बाट निर्वाचित भएका थिए । २०७२ मा उनी कृषिमन्त्री भएका थिए ।

प्रधानमन्त्री दाहालले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसकेका छन् । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीले स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगालाई नियुक्त गरेका थिए भने स्वकीय सहसचिवका रुपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोर्कण भट्टलाई नियुक्त गरिएको थियो । शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको रूपमा काम गर्ने जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको फोटो पत्रकारमा भने राससका प्रदीपराज वन्तलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित : माघ ९, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

म्याच फिक्सिङ आरोपित अन्सारी राजविराज र आलम विराटनगरबाट प्रहरी नियन्त्रणमा

अवधेशकुमार झा

राजविराज — म्याच फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जना क्रिकेट खेलाडीलाई सोमवार नियन्त्रणमा लिएको छ । नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि छ । आदिलले लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए भने आलम भने कुनै टीमको सदस्य थिएनन् । आलम पूर्वराष्ट्रिय क्रिकेट खेलाडी हुन्, उनले २००८ मा मोजाम्बिकविरुद्धको खेलमा १० विकेट लिएर रेकर्ड राखेका छन्।

बारा जिल्ला घर भएका अन्सारीलाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानबाटै सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आदिललाई अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई काठमाडौं पठाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो ।

यस्तै, राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो । नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको साझेदारीमा गत पुस ८ गतेदेखि पहिलो संस्करणको टी– २० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरु फेला परेपछि केन्द्रिय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।

प्रकाशित : माघ ९, २०७९ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×