देवराज घिमिरे : कुशल संगठक, प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवराज घिमिरे : कुशल संगठक, प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख 

पञ्चायतकालमा १२ वर्ष भूमिगत राजनीति गर्दा घिमेरे पटकपटक प्रहरी हिरासतमा पुगे । २०५६ सालमा एकपटक राष्ट्रियसभा सांसद बनेका घिमिरेको राजनीतिक जीवनको अधिकांश समय पार्टीका संगठन निर्माणमै बित्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटतम र विश्वासयोग्य सहयात्री घिमिरे प्रतिनिधिसभाको पहिलो यात्रामै संसद्को नेतृत्वदायी भूमिकामा पुगेका छन् ।
अर्जुन राजवंशी

बिर्तामोड — एमाले पार्टीभित्र कुशल संगठकको छवि बनाएका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् । घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटतम विश्वासपात्र मध्येका एक नेता हुन् । 

घिमिरेले छैटौं महाधिवेशनदेखि निरन्तररुपमा विभिन्न कालखण्डमा एमालेभित्र ओलीलाई साथ दिँदै आएका छन् । झापा बिर्तामोड निवासी ६६ वर्षीय घिमिरे पार्टीभित्र इमानदार र निष्ठावान् नेताका रुपमा चिनिन्छन् । ‘पार्टीका लागि निरन्तर काम गरेको तर, एकदमै थोरै अवसर पाउने नेताको रुपमा उहाँ चिनिनुहुन्छ,’ जिल्लाका पुराना कम्युनिस्ट नेता एवं संविधानसभा सदस्य मनकुमार गौतमले भने, ‘मैले जानेसम्म, करिब ३० वर्षदेखि उहाँ ओलीको साथमा हुनुहुन्छ । ओलीको हरेक दु:ख, अफ्ठ्यारामा उहाँले बिना कुनै सर्त साथ सहयोग गर्नुभएको छ । अहिले अध्यक्षज्यूले उहाँलाई सभामुख बनाएर ठूलो सम्मान गर्नु भएको छ ।’

घिमिरे २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिएका हुन् । २०३३ मा विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा उनी गाउँगाउँ पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय थिए । उनले २०३५ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को-अर्डिनेसन कमिटी–माले (कोके) मार्फत् नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

२०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिएका घिमिरेले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गरेका थिए । २०३९ देखि इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी र इलाममा पार्टी संगठन निर्माण तथा विस्तारमा प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले पार्टी संगठन निर्माणमा इलाम जिल्लामा मात्र लगातार १० वर्ष समय बिताएका थिए ।

त्यसक्रममा उनीविरुद्ध तत्कालीन पञ्चायती शासकबाट पटकपटक वारेन्ट जारी समेत भएको थियो । स्नातकसम्म अध्ययन गरेका उनले १२ वर्ष भूमिगत राजनीति गरेका छन् । त्यस क्रममा उनी पटकपटक हिरासतमा समेत बसेका थिए । पार्टीभित्र उनलाई कम बोल्ने, जिम्मेवारीमा निरन्तर लागिरहने र प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने नेताका रुपमा धेरैले चिन्छन् । ‘देवराजजी सभामुख हुँदै गर्दा मलाई माओत्सेतुङको एउटा भनाइ याद आइरहेको छ– ‘लागिरहनुको अर्थ नै विजयी हुनु हो’ देवराजजी कहिल्यै कुनै पद वा अवसरको लागि अगाडि बढ्नु भएन । चुपचाप संगठनको काममा लागिरहनु भयो । त्यसको फल अहिले उहाँ मुलुकको पाँच सम्माननीय व्यक्तिमध्ये एक हुनु भयो, ’ गौतमले भने ।

उनी २०४६ भदौमा सिरहामा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । उनी २०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । घिमिरेले २०५० देखि साबिकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरेका थिए । तत्कालीन मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उनी समेतले निर्माण गरेको संगठनकै बलमा २०४८ को संसदीय चुनावमा एमालेका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए । उक्त चुनावपछि पूर्वमा ‘मेची अञ्चलका चारै जिल्ला, लालकिल्ला’ भन्ने नारा नै स्थापित हुन पुग्यो ।

घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय अनुभवमा उनको त्यो पहिलो यात्रा थियो । त्यसपछि पनि घिमिरे पुनः पार्टी कै काममा फर्किएका थिए । २०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गरे । त्यसपछि लगातार इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठन लगायतका विभाग र संगठनको इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए ।

‘पार्टीको कुशल संगठकको चिनारी बनाएका उहाँलाई निर्विवाद र कुशलतापूर्वक सभामुखको जिम्मेवारी पनि सम्पन्न गर्ने ठूलो अवसर प्राप्त भएको छ । आशा गरौं, उहाँले यो जिम्मेवारी पनि पूरा गर्नुहुनेछ,’ वरिष्ठ अधिवक्ता लीला उदासीले भने ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो । उनले उक्त जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका थए । एमाले र माओवादी केन्द्रबीच वाम एकता भइ नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो ।

एमालेको दसौं महाधिवेशनबाट उनी पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्जको भूमिकामा छन् । २०७८ माघ १२ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध चुनौती दिँदै प्रदेश- १ बाट एक जनालाई विजयी गराउन तथा एक सिटमा बराबर मत प्राप्त गर्ने अवस्था निर्माण गर्न समेत घिमिरेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा गत स्थानीय तह र मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समेत गठबन्धनविरुद्ध एमाले प्रदेश-१ मा बलियो पार्टी बन्न सफल भएको थियो ।

मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार एवं पूर्वसहपाठी हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचनमा पूर्वमन्त्री एवं महान्यायाधिवक्ता अग्नि खरेललाई उछिनेर झापा–२ को टिकट लिन सफल भएका घिमिरे चुनाव जित्दै अहिले सिंगो प्रतिनिधिसभावको नेतृत्व गर्ने भूमिकामा उदाएका छन् ।

प्रकाशित : माघ ५, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

झापाका १६ वटा सडकको निर्माण अलपत्र

सडक निर्माणमा ढिलाइ गर्नेलाई कारबाही
संघीय सरकार मातहतको सडक डिभिजनले ठेक्कामार्फत अघि बढाएको सडक निर्माणको जिम्मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयलाई दिएपछि अन्योल
अर्जुन राजवंशी

बिर्तामोड — बाह्रदशी गाउँपालिकाका स्थानीय सडक बन्ने आसमा लगातार दुई वर्षसम्म धूलोधूवाँ सहे तर बाटो बनेन । अन्ततः उनीहरू आन्दोलित हुँदै लक्ष्मीपुर–राजगढ सडक खण्डको फूलबारी चोकदेखि गाउँपालिका कार्यालयसम्म ढाँट लगाए । हिँडडुल गर्नै गाह्रो भए पछि गाउँपालिकाले धूलो न्यूनीकरणका लागि पानी छ्याप्ने प्रतिबद्धता जनाएपछि स्थानीयले ढाँट हटाए ।

लक्ष्मीपुर–राजगढसहितका जिल्लाका १६ वटा सडक निर्माणको काम अलपत्र छ । सरकारी संयन्त्रको बेमेलका कारण यस्तो स्थिति सिर्जना हुँदा स्थानीय धूलोधूवाँको चपेटामा परेका छन् । ग्रामीण भेकका लागि महत्त्वपूर्ण रहेका ती सडकहरूको निर्माण कार्य २०७३ देखि नै सुरु भएको हो । थालेको तीन वर्षमा सम्पन्न हुनुपर्ने काम ६ वर्ष बित्न लाग्दासमेत अधुरो रहेपछि स्थानीय थप आक्रोशित बनेका हुन् ।

चारआली–केचना–चक्रपथ सडक र गौरादह–मिलनचोक–फकिरढिप–खजुरगाछी–फत्तेपुर सडक २०७३ माघमा ठेक्का सम्झौता भई २०७६ साउनमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीले उक्त अवधिमा बनेन । सडक डिभिजनले दुवै सडकको म्याद २०७८ माघसम्म थप गरेको थियो । तर, ती दुवै अहिलेसम्म सम्पन्न हुन सकेको छैन । बरु, करिब एक वर्षदेखि अन्योलको अवस्थामा छ । ती सडक निर्माणको ठेक्का काठमाडौंको लामा बाम्ती वर्ल्डवाइड जेभीले लिएको हो ।

सडक डिभिजनका अनुसार जिल्लाका देहाती बस्तीहरू जोड्ने गौरादह–बैगुनधुरा–केराबारी सडक, धरमपुर–मंगलबारे–बस्नेत टोल सडक, आल्ताबारी–गौरीगन्ज–पाडाजुँगी सडक, पाठामारी–बालुवारि सडक, मेची करिडोर (काँकडभिट्टा–बाहुनडाँगी–पशुपतिनगर–चिवाभन्ज्याङ), लक्ष्मीपुर–राजगढ सडक, अर्जुनधारा नगरपालिका साविक गरुवाचोकबाट–इलाम–लक्ष्मीपुर सडक, दमक–चियादोकान–जदाहा–सेतुमारी–बालुबथान–गौरादह सडक अलपत्र छ ।

यसैगरी दमक–कृष्णमन्दिर–पिङ्डाँडा–धरानेटोल–साटोमारा–आम्बारी हुँदै मोरङको इटहरा जोड्ने सडक, कोहबरा–ग्वालडुब्बा–महाभारा सडक, गौरादह–सीतापुरी–रंगपुर–स्कुल चोक–स्वामीचोक–चप्रामारी–दामुना हुँदै खजुरगाछी सडक, कोहबरा–शनिश्चरे–बालुबथान–महारानीझोडा–गौरादह–बैगुनधुरा हुँदै शिवगञ्ज सडक, गौरादह–गुराँसचोकबाट पश्चिम मझुवाँ–डोरामारी–चप्रामारी हुँदै मोरङको झुनाबारी जोड्ने सडक र कमल गाउँपालिकाको गुहाबारी स्कुल–रंगपुर स्कुलचोक बजार–गयानबहादुर चोक–दामुना हुँदै खजुरगाछी–दाम्राभिट्टा जोड्ने सडकको निर्माण हुन नसकेको उसले जनाएको छ ।

ती सबै सडकको निर्माण संघीय सरकार मातहत रहेको सडक डिभिजन दमकले ३० वटा ठेक्कामार्फत अघि बढाएको थियो । तर, चालु वर्षको बजेट भाषणमा ती सडक निर्माणको जिम्मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयलाई दिने उल्लेख गरिएको छ । ‘सबै काम हामीले गर्दै आएका थियौं । अचानक बजेट भाषणमा ती सडकको काम पूर्वाधार कार्यालयलाई दिने भनियो । उक्त निर्णयअनुसार यो वर्ष हामीसँग बजेट नै छैन,’ सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले भने, ‘सडक जिम्मा लगाउने त भनियो । तर, कसरी, कुन प्रक्रियामार्फत जिम्मा लगाउने भन्ने टुंगो लगाइएन । जसकारण सडकको फाइल हामीसँग छ । बजेट पूर्वाधार कार्यालयमा पुगेको छ ।’

बजेट भाषणअनुसार ती सबै सडकको चालु वर्षको बजेट जिल्लास्थित पूर्वाधार विकास कार्यालयमा पठाएको छ । पूर्वाधार विकासका प्रमुख रमेशकुमार श्रेष्ठले भने सडक डिभिजनले गर्दै आएको काम आफूहरूले गर्न नसक्ने बताएका छन् । ‘सरकारले यी सडक बनाउनुपर्छ भनेर हामीलाई जिम्मा दिए पनि काम गर्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘अर्को कार्यालयले गर्दै आएको काम बीचबाट कसरी हामीले गर्न सक्छौं ? कसरी सुरु गरियो, कसरी टुंग्याउने केही थाहा छैन । त्यसमाथि हामीसँग जनशक्ति पनि अभाव छ ।’ उनले ती सडकको निर्माण कार्य सडक डिभिजनले सुरु गरेकाले उसैमार्फत सम्पन्न गरिनुपर्ने धारणा राखे ।

एक अर्ब २० करोड ६८ लाख खर्च लाग्ने अनुमान गरिएका ती सडक निर्माणका लागि भ्याटसहित ८२ करोड ३८ लाख १४ हजारमा ठेक्का लागेका छन् । यसमध्ये निर्माण कम्पनीहरूले हालसम्म ४५ करोड ७९ लाख २७ हजार रुपैयाँ लिइसकेको सडक डिभिजन दमकका लेखा अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । ‘हामीले काम गरिरहेका थियौं, संघीय सरकारको निर्णयले सबै सडकको काम एकैचोटि ठप्प हुन पुग्यो । कुल लागतको आधाभन्दा बढी त भुक्तानीसमेत भइसकेको छ । अब ३६ करोड ५८ लाख जति बजेट भयो भने ती सडकका बाँकी काम पनि हामीले नै पूरा गर्न सक्छौं,’ उनले भने ।

निर्माण व्यवसायीहरूले भने सरकारी निर्णयका कारण आफूहरूले काम गर्न नपाएको बताएका छन् । ‘जनताहरू हामीलाई गाली गर्छन् । हामी भने सरकारको निर्णयका कारण काम गर्न पाएका छैनौं,’ १६ मध्ये दुइटा सडकको ठेक्का लिएको दिवा नायग्रा झापाली जेभीका सञ्चालक मौसम थापाले भने, ‘काम गरौं भने सडक डिभिजनले पैसा छैन भन्छ । पैसा पूर्वाधार कार्यालयमा पुगेको छ । उसलाई काम गराउने अधिकार छैन ।’ उनले सरकारी निर्णयका कारण सडकमा हालेको लाखौं रुपैयाँको बेस, सवबेस खेर गएको बताए ।

सडक निर्माणमा ढिलाइ गर्नेलाई कारबाही

सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै बिर्तामोड–भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाही गरेको छ ।

सम्पन्न हुन ७ महिना मात्र बाँकी रहँदा ३० प्रतिशत पनि सडक निर्माण नगरेको भन्दै उक्त डिभिजनले ठेकेदार कम्पनीलाई काम नगर्नुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो ।

उक्त सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलव ४१ किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एम/एस कन्टेक प्रालिले लिएको छ । २०७७ माघ ६ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थात् ३० महिनामा सम्पन्न गर्नुपर्ने उल्लेख छ । ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशत मात्रै सकेको छ ।

ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग लिखित जवाफ माग गरेको हो । ‘काम किन नगरेको भनेर पटकपटक सोधीखोजी गरेका छौं । सम्झौताअनुसार काम सक्नुपर्ने भन्दै पटकपटक आग्रहसमेत गर्‍यौं । तर बेवास्ता गरेपछि पहिलो चरणको कारबाहीस्वरूप लिखित स्पष्टीकरण मागेका छौं,’ सडक डिभिजन दमकका प्रमुख पौडेलले भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्नसमेत तयारी अवस्थामा छौं ।’

बिर्तामोड–भद्रपुर सडक जिल्लाका प्रशासनिक कार्यालयहरू रहेको चन्द्रगढी जाने मुख्य सडक हो । दैनिक सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त डिभिजनका लेखा अधिकृत भट्टराईले जानकारी दिए ।

निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिश थापाले भने प्राविधिक कठिनाइले ढिलाइ भएको बताए । उनले सडकमा आवश्यक पर्ने माटो नपाएकाले ढिला हुन पुगेको बताए ।

झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको हर्चनास्थित डाइभर्सन । ठेकेदार कम्पनीको ढिलाइले सम्झौताअनुसार सडक निर्माणको काम हुन नसकेको हो । तस्बिर : अर्जुन/कान्तिपुर

दुई वर्षदेखि धूलो–धूवाँ सहनु परेपछि स्थानीयले झापाको लक्ष्मीपुर–राजगढ सडक खण्डको फूलबारी चोकमा लगाएको बाँसको ढाँट । तस्बिर : अर्जुन/कान्तिपुर

प्रकाशित : माघ १, २०७९ २१:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×