२८ वर्षीयाले निकालिन् वंशावली

प्रदीप मेन्याङ्बो

सुनसरी — वंशावली निकाल्न सक्छिन् भनेर सुरुमा उनलाई कसैले पत्याएनन् तर निरन्तर ६ वर्ष खोज/अनुसन्धानमा लागिन् । अन्ततः ‘फागो यक्युक वंशावली’ तयार पार्न सफल भइन् ।


संखुवासभा चैनपुर–१ नुनढाकीकी २८ वर्षीया अनिता यक्युक लिम्बू आफ्नो जाति वा थरको ऐतिहासिक, सांस्कृतिक पक्ष केलाउँदै सामाजिक, आर्थिक र पारिवारिक वंशवृक्षको विषयमा पुस्तक तयार गरेर वंशावली लेख्ने पहिलो महिला बन्न पुगेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अनिता वंशावली निकाल्न र खोज/अनुसन्धान गर्न महिलाले पनि सक्छन् भन्ने गतिलो उदाहरण बनेकी छन् ।

वंशावली कुनै पनि जाति वा थरभित्र चिनाउने पुर्खादेखि हालसम्मको पुस्ताका पारिवारिक शृंखला वा वंशवृक्षको दस्ताबेज हो । गत साता फागो यक्युक वंशावली पुस्तक सार्वजनिक गर्ने क्रममा मदन पुरस्कार विजेता भगिराज इङनामले अनिता यक्युक आफ्नो पुर्खाको इतिहास खोतलेर वंशावली लेख्ने पहिलो महिला बनेको बताए । ‘मैले लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रहका लागि धेरै पुस्तक अध्ययन गरें, त्यसमा पूर्वका लिम्बू समुदायले निकालेका वंशावलीदेखि गैरलिम्बूले लेखेका अनेक वंशावली पनि अध्ययन गरें, हालसम्म पुरुषले मात्र लेखेका वंशावली थिए तर अनिता आफ्नो पुर्खाको इतिहास खोतलेर वंशावली लेख्ने पहिलो महिला बनिन्,’ उनले भनेका थिए ।

जयस्थिति मल्लको राज्यकाल विसं १४११ पछि लेखिएको अर्थात् १५ औं शताब्दीमा तयार पारिएको भनिएको गोपालराज वंशावली सबैभन्दा पुरानो मानिन्छ । त्यसपछि अरू जाति, वंश समुदायले पनि लेखेका छन् । एक शताब्दीयता पूर्वमा बसोबास गर्ने लिम्बू जातिभित्रका करिब ४ सय थर भएका लिम्बू समुदायमध्ये ७० थरले आफ्नो पुर्खा जन्मेको स्थान पहिचान भएको स्थल ‘माङ्गेना यक’ र सन्तान विस्तार भएपछि पाएको थर (नाम) ‘मिङ्श्रा’ का आधारमा आफ्ना वंशावली प्रकाशित गरेका छन् ।

अरू थरका लिम्बूहरूले आफ्नो पुर्खा कहाँबाट आएको र को थिए भनेर धमाधम खोजी गरिरहेका छन् । यसरी आफ्नो माङ्गेना यक र मिङ्श्राको खोजी गर्ने तथा वंशावली प्रकाशित गर्नेहरूमा सबै पुरुष थिए । याक्थुङ मुन्धुम अध्ययनसँगै नेपालीमा गीत र गजल लेखनमा रुचि भएकी उनले भनिन्, ‘सुरुमा त सबैले चेली (महिला) भएकाले यक्युक वंशावली निकाल्न सक्दिन, खोज/अनुसन्धान गर्न सक्दिन भने । वंशावली किताब निस्कँदैन समेत भने तर मैले हरेस खाइनँ । समाजशास्त्र अध्ययन गरेका कारण पनि मलाई अनुसन्धान गर्न सजिलो भयो ।’

वंशावली प्रकाशन समितिले उनलाई सदस्यमा राखेर वंशावली प्रकाशनका लागि खोज अनुसन्धान गर्न जिम्मा दिएपछि यक्युक वंश बसेका पूर्वका १४ जिल्लाका विभिन्न बस्तीमा एक्लै घुमिन् । उनले भनिन्, ‘लिम्बू समुदायमा छोरी मान्छेलाई भेदभाव नगर्ने र गलत शंका गर्ने चलन त्यति नभएकाले वंशावली अनुसन्धानका लागि एक्लै घुम्दा खासै अप्ठ्यारो भने भएन ।’ स्थलगत अवलोकन, भ्रमण र प्रमाण जुटाउँदा करिब १२ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

‘विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइको सहयोग यो कृतिमा छ,’ उनले भनिन्, ‘आफन्तले दिएको रकमले किनेको गहना पनि किताब निकाल्दा बेच्नुपर्‍यो । तर, एउटा सिंगो वंशको १७ पुस्ताको इतिहाससहितको वंशावली निकाल्दा त्यसले बढी सन्तुष्टि दिएको छ ।’ उनले वंशावलीलाई समाजशास्त्रीय अनुसन्धान विधिको वर्णात्मक पद्धतिमा तयार गरेको बताइन् । अधिकांश वंशावलीमा पुस्ताको क्रममा पुरुषको मात्र नाम राख्ने चलनलाई हटाउँदै यक्युक वंशमा जन्मेका महिला (चेली), विवाह गरेका भए ती महिला कुन जाति वा थरकासँग विवाह भएको हो, त्यसलाई पनि खुलाएर वंशवृक्ष तयार गरेको बताइन् । उनले भनिन्, ‘वंशावलीमा आमा वा चेलीको पनि संक्षिप्त जानकारी खुलाएर

लेख्दा पछि आउने पुस्ताले कोसँग नजिकको साइनो सम्बन्ध लाग्ने रहेछ र कुटुम्ब (विवाह) गर्न हुने/नहुने थाहा पाउनेछन् ।’

वंशावलीअनुसार यक्युक लिम्बूको प्राचीन उद्गमस्थल ताप्लेजुङको मैवाखोला ढुङ्गेसाँघु हो । उनले तयार पारेको वंशावलीमा भनिएको छ, ‘योकेतेतहाङको शासनपछि इसाको ३०० तिर भुइँफुट्टा सामयुकहाङको राज्यमा विद्रोह भयो । त्यसपछि विसं ३५८ तिर महाफेदापमा वाजदेव राजा भए । वाजदेवका १२ औं पुस्ता कुन्दुङजापहाङका चारभाइ छोराहरू सान्धुङ्गेहाङ, मुधुङगेहाङ, कनेहाङ र कचुहाङ थिए । उनले थपिन्, ‘उनीहरूकै सन्तानमध्ये एक सिराय हुन् । सिरायका सन्तान तुरुङहाङका छोराहरू मुखाङ्ले र मुहिकफुङ थिए । इतिहास केलाउँदा मुखाङले वानेने भन्ने जग्गामा यक (गढी) बनाएर भाइ मुहिकफुङलाई रुँघेर बस्न लगाए । हो, गढी रुँघेर सुरक्षा दिएकाले उनका सन्तानका थर यक्युक हुन पुगेको हो । उक्त स्थल पछिल्लो समयमा पहिरोले बगाएको अवस्थामा छ ।’

उनका अनुसार यकयुक वंशको माङ्गेना यक (पुर्खालाई सम्झेर शिर उठाउने अनुष्ठान) ताप्लेजुङको मैवाखोलास्थित पिरिङ्गे तेम्बे हो । यो क्षेत्र मैवाखोला–२ साविक ढुंगेसाँघुमा पर्छ । हालसम्म ७९ घरधुरीमा ३ सय ५२ जना मात्र पाइएको यक्युक लिम्बू थरका वंशावलीमा १७ पुस्ता चलिरहेको अनिताले बताइन् ।

प्रकाशित : माघ २, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

हङकङ महिला आयोगमा नेपाली मूलकी सदस्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली मूलकी रीता गुरुङ हङकङको महिला आयोग सदस्यमा नियुक्त भएकी छन् । हङकङ नेपाली महासंघ र नेपाल क्लब हङकङकी अध्यक्ष गुरुङलाई आइतबारदेखि नै लागू हुने गरी गृह तथा युवा मामिला मन्त्रालयअन्तर्गतको उक्त आयोगमा जिम्मेवारी दिइएको हो । हङकङको उच्च सरकारीस्तरमा नियुक्त गुरुङ नेपाली मूलकी पहिलो महिला हुन् । 

आयोगमा गुरुङसहित २१ सदस्यको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ । आयोगका सदस्यहरूले सरकारलाई महिला सुरक्षा, हकहित र अधिकारसम्बन्धी नीति निर्माणमा सल्लाह–सुझाव दिने गर्छन् । गुरुङलाई यसअघि अपराधविरुद्धको अभियन्ताका रूपमा गृह मन्त्रालयले हङकङको याउ ची मोङ जिल्लाको उपाध्यक्षमा चयन गरेको थियो ।

डिस्ट्रिक फाइट क्राइम कमिटीको उपाध्यक्ष रहेकै बेला गुरुङलाई ‘र्‍यासियल हार्मोनी कमिटी’ को सदस्यमा पनि मनोनयन गरिएको थियो । हङकङको सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै गुरुङलाई ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्ड दिइएको थियो ।

पोखराको नयाँ बजार पुर्ख्यौली घर भएकी उनी सन् १९९७ मा हङकङ पुगेकी हुन् । लामो समयदेखि त्यहाँ रहेर सामाजिक काममा सक्रिय गुरुङले उक्त आयोगको सदस्यका रूपमा महिलाको क्षेत्रमा काम गर्न जिम्मेवारी बढेको बताइन् । ‘हङकङ सरकारले विश्वास गरेर महिलाको हकअधिकारको क्षेत्रमा काम गर्न लायक ठानेकामा खुसी लागेको छ । यसबाट अवसरसँगै चुनौती पनि थपिएको महसुस गरेकी छु,’ उनले कान्तिपुरसित भनिन् ।

प्रकाशित : माघ २, २०७९ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×