राष्ट्रपति निर्वाचनमा के गर्ला माओवादी ?- समाचार - कान्तिपुर समाचार

राष्ट्रपति निर्वाचनमा के गर्ला माओवादी ?

राष्ट्रपति निर्वाचनमा माओवादीको ७ हजार ७ सय ४५ मतभार जता ढल्किन्छ, त्यही समीकरणको पल्ला भारी
मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रपति निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगले तयारी थालेको छैन । निर्वाचन मिति तोकेर त्यसको जानकारी सरकारलाई दिन सक्ने कानुनी प्रावधान भए पनि आयोगले मिति तोक्न छलफलसमेत गरेको छैन ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ४ को उपदफा १ अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी ०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् । ‘निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भएकाले राष्ट्रपतिको पदावधि फागुन २८ मा सकिँदै छ, पदावधि सकिनुभन्दा १ महिनाअघि नै निर्वाचन गर्नुपर्ने हुन्छ, यसअनुसार माघ २८ भित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी बाध्यता छ,’ आयोगका कानुन सहसचिव यज्ञप्रसाद भट्टराईले भने, ‘आयोगले चाँडै मिति तोक्नेछ ।’

राष्ट्रिय सभाको लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको पद रिक्त भएपछि आयोगले माघ २५ मा उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । यो उपनिर्वाचनपछि मात्रै राष्ट्रपति निर्वाचन हुने आयोगले जनाएको छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० सदस्यको मतभारबाट राष्ट्रपति चुनिने प्रावधान छ ।

प्रतिनिधिसभामा २ सय ७५ मध्ये कांग्रेसका टेकराज गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । राष्ट्रिय सभाका एक जनाको पद रिक्त छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका (निलम्बन १ र रिक्त १) बाहेकको मतभार २६ हजार ३ सय ७ रहेको छ भने प्रदेशसभाका ५ सय ५० जनाको मतभार २६ हजार ४ सय रहेको छ ।

संघीय संसद् र प्रदेशसभाका ८ सय ८३ जनाको मतभार ५२ हजार ७ सय ७ हुन्छ । राष्ट्रिय सभा सदस्य एमालेका नेता खिमलाल भट्टराईले राजीनामा दिएपछि उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । ०७४ मा एमाले र माओवादीको साझा उम्मेदवार विद्यादेवी भण्डारी ३९ हजार २ सय ७५ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत ल्याएकी थिइन् ।

सत्ता गठबन्धनमा यस पटक पनि राष्ट्रपति एमालेले लिने सहमति भएको छ तर पुष्पकमल दाहाललाई कांग्र्रेसले समेत विश्वासको मत दिएपछि सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म भत्किन सक्ने आकलन गरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेस उम्मेदवारलाई सघाउन सक्ने एमाले नेताहरूको आशंका छ । प्रधानमन्त्री दाहालले शनिबार सञ्चारकर्मीसँगको भेटमा सत्ता गठबन्धनको समीकरण भत्किन सक्ने संकेत गरेका छन् तर अहिले भएको सत्ता समीकरण एकढिक्का भएमा राष्ट्रपति कांग्रेसले पाउने सम्भावना देखिँदैन ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र सातै प्रदेशसभाका सदस्य संख्याका आधारमा सबैभन्दा बढी मतभार कांग्रेसको छ । कांग्रेसका प्रतिनिधिसभामा ८९, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १ सय ७५ सांसद छन् । सबैको मतभार १६ हजार २ सय २१ हुन्छ । दोस्रोमा एमालेका प्रतिनिधिसभामा ७९ (एक स्वतन्त्रसहित), राष्ट्रिय सभामा १६ र प्रदेशसभामा १ सय ६१ सांसद छन् । उनीहरू सबैको मतभार जोड्दा १५ हजार २ सय ३३ पुग्छ ।

राष्ट्रपति निर्वाचनमा दलहरूबीच तीन वटा समीकरण बन्ने सम्भावना छ । पहिलो– सत्ता गठबन्धन (एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, प्रतिनिधिसभाका स्वतन्त्र ३ सहित) एकढिक्का भएर राष्ट्रपति चयन गर्ने । गठबन्धनका सबै सांसदको मतभार ३१ हजार ६ सय ३ हुन्छ । यो अवस्थामा कांग्रेस र अन्य दलको मतभार २१ हजार १ सय ४ मात्रै हुनेछ ।

दोस्रो– कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा, नेमकिपा, संघीय समाजवादी, स्वतन्त्र ३, राष्ट्रिय सभाका मनोनीत २ सदस्यबीच समीकरण बन्ने सम्भावना छ । कांग्रेसको नेतृत्वमा यस्तो समीकरण बनेमा उसका उम्मेदवारले ३१ हजार २ सय २७ मत पाउनेछन् ।

तेस्रो– कांग्रेस, एमाले र केही स्वतन्त्र सांसदको मात्रै समीकरण बने पनि त्यसका उम्मेदवारले ३१ हजार ७ सय ७६ मत पाउने देखिन्छ । यसअनुसार राष्ट्रपति निर्वाचनमा माओवादी जता उभिन्छ, त्यो समीकरणको पल्ला भारी हुने देखिन्छ । माओवादीको प्रतिनिधिसभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेशसभामा ८४ (नेपाल समाजवादीका १ सहित) सांसद छन् । माओवादीको तीनै सभाका सदस्यको कुल मतभार ७ हजार ७ सय ४५ छ ।

०६८ को जनगणनाका आधारमा संघीय संसद्का एक सदस्यको मतभार ७९ कायम गरिएको छ भने प्रदेशसभाका एक सदस्यको मतभार ४८ छ । निर्वाचनअघि नै पछिल्लो अन्तिम जनगणना सार्वजनिक भएमा मतभार घट्न सक्छ । राष्ट्रपति निर्वाचनमा कुल मतको बहुमत पाउने उम्मेदवार निर्वाचित हुनेछन् । तर, कुनै उम्मेदवारले प्राप्त गरेको मतको बहुमत प्राप्त नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ५६ (३) मा भनिएको छ, ‘कुनै उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा निर्वाचन अधिकृतले मतदानको मिति तोकी पुनः निर्वाचन गराउनेछ ।’ निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा तेस्रो चरणको निर्वाचन हुनेछ । तेस्रो चरणको निर्वाचनमा भने खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : माघ २, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

सभामुखमा नजर

सरकारलाई रूलिङ गर्ने, संसदीय समितिलाई निगरानी गर्ने, सांसदलाई कारबाही गर्ने/नगर्ने, विधेयक रोक्ने वा अघि बढाउने अधिकार हुने र संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले सभामुख प्राथमिकतामा
मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी बिहीबारका लागि तय गरिएको छ । प्रतिनिधिसभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यताअनुसार बिहीबार सभामुखको निर्वाचन हुन लागेको हो । उपसभामुखको निर्वाचन पनि माघ ९ भित्र गरिसक्नुपर्ने हुन्छ । मंगलबारको बैठकले सभामुख निर्वाचनको सूचना माघ ३ मा सार्वजनिक गर्न ज्येष्ठ सदस्य (सभामुख) ले महासचिवलाई निर्देशन दिइसकेका छन् ।

सत्ता गठबन्धनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा नै सभामुख एमालेले पाउने सहमति छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने विषयमा छलफल सुरु गरेको छ । शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने/नउठाउने विषयमा अन्य दलसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो । ‘उम्मेदवारी दिने भएमा मात्रै कसलाई उठाउने भन्ने निर्णय हुनेछ,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ।

सभामुखमा एमालेका पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, देवराज घिमिरे र विद्या भट्टराईको नाम चर्चामा छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारलाई रुलिङ गर्ने, संसदीय समितिलाई निगरानी गर्ने, सरकार र पार्टीका एजेन्डामा छलफल गर्ने, सांसदलाई कारबाही गर्ने/नगर्ने, विधेयक रोक्ने वा अघि बढाउने अधिकार हुने र संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दलहरूले सभामुख पदलाई महत्त्व दिएका छन् ।

यसअघि सभामुख छाडेर मन्त्री हुन जोड गर्ने सांसदहरू पछिल्लो समय पाएसम्म सभामुख बन्न लबिइङ गरिरहेका छन् । सत्ता गठबन्धनको भागबन्डामा पनि प्रधानमन्त्री र राष्ट्रपतिपछिको प्राथमिकतामा सभामुख परेका छन् । ‘मन्त्री पद क्षणिक हुन्छ तर सभामुख ५ वर्षका लागि हुन्छ, त्यसैले सभामुखमा आकर्षण भएको हो,’ पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘मन्त्रिपरिषद् विस्तारको सहमति हुँदा नै सभामुख कसको भागमा पर्ने निश्चित हुन्छ ।’

आफ्नो इसारामा संसद् चलाउन पाउने भएकाले सभामुख पद दलको नजरमा पर्ने गरेको नेताहरू बताउँछन् । ‘जनप्रतिनिधिको सर्वोच्च संस्थाको नेतृत्व गर्न पाउँछन्, सरकार गठनको संयोजन गर्ने, सरकारलाई सहयोग गर्ने र संसद् विघटन गर्दा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले पनि सभामुखको चासो भएको हो,’ माओवादी नेता गिरिराजमणि पोखरेलले भने ।

सम्मानित पद आफ्नो पार्टीको भागमा पार्न खोज्नु स्वाभाविक भएको कांग्रेस उपसभापति धनराज गुरुङले बताए । ‘सभामुखलाई प्राथमिकतामा राख्नुको मुख्य कारण दलको इन्ट्रेस्टअनुसार सदन चलाउन पाइन्छ भन्ने नै हो,’ उनले भने ।

प्रतिनिधिसभाको नेतृत्व गर्ने भएकाले सभामुख सक्षम व्यक्ति हुनुपर्ने नेताहरू बताउँछन् । सभामुखले निष्पक्ष भूमिका निर्वाह नगर्दा सदन अवरुद्ध हुने, दैनिक कार्यसूची अघि बढाउन नसक्ने अवस्थासमेत आउँछ । संसद्मा आएको बिजनेस अघि बढाउने क्रममा दलहरूबीचको विवाद र तिक्तता मिलाउने काममा पनि सभामुखको भूमिका हुन्छ ।

विवादित विषयमा दलहरूबीच सहमति गराउन सक्ने समक्ष व्यक्ति सभामुख हुनुपर्ने प्रतिनिधिसभाका अध्यक्ष पशुपतिशमशेर जबराले बताए । ‘सभामुख बन्न चाहेर मात्रै हुँदैन, सदनको नेतृत्व गर्न सक्ने र दलसँग समन्वय गर्न सक्ने व्यक्ति चाहिन्छ,’ प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले भने, ‘सभामुख जो बन्ने हो, निष्पक्ष हुनुपर्‍यो । आफ्नै पार्टी तत्कालका लागि भुल्नुपर्‍यो । म यो पार्टीको सभामुख हो भनेर सोच्नु हुँदैन । रेफ्रीको भूमिका निर्वाह गर्नुपर्छ ।’

अघिल्लो प्रतिनिधिसभामा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै एमालेले ९ महिनासम्म संसद् अवरुद्ध गरेको थियो । आफ्नो पार्टीबाट निकालिएका १४ सांसदलाई सभामुखले कारबाही नगरेको एमालेको आरोप थियो । ‘सांसद पद खारेज गर्ने कि राख्ने भन्नेमा सभामुखको भूमिका हुन्छ,’ कांग्रेसका एक नेताले भने ।

सभामुखलाई सरकारले ल्याएको विधेयक रोकेको, कार्यव्यवस्था परामर्श समितिको बैठक नराखी एकलौटी सदन चलाएको आरोप पनि लाग्ने गर्छ । पूर्वउपसभामुख तुम्बाहाङ्फेले भने सभामुख र उपसभामुखको भूमिका सरकारलाई सहयोग गर्ने र सहजीकरण गर्ने मात्रै भएको बताइन् । पदीय जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसक्दा कतिपय सभामुख विवादित पनि भएका छन् ।

चार पटक सभामुख भएका एमाले नेता सुवासचन्द्र नेम्वाङलाई संविधानमा धर्म निरपेक्षता घुसाएको आरोप लाग्ने गरेको छ । माओवादी नेता ओनसरी घर्तीले विवादमा नपरी कार्यकाल पूरा गरिन् । उनीपछि सभामुख भएका कृष्णबहादुर महराले बलात्कार अभियोगमा विवादमा परेर राजीनामा नै दिनुपर्‍यो । उनले १ सय ३ दिन डिल्लीबजार कारागार बिताए । अदालतले उनलाई बलात्कार मुद्दामा सफाइ दिइसकेको छ ।

महराले एमसीसीलाई संसद्मा रोकेर राखेको आरोप पनि खेप्नुपर्‍यो । उनीपछि सभामुख भएका सापकोटा झन् धेरै विवादमा परे । ०४८ यता सभामुख भएका रामचन्द्र पौडेल, दमननाथ ढुंगाना र तारानाथ रानाभाट पनि विवादबाट अछुतो रहेनन् ।

प्रकाशित : पुस ३०, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×