कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विमान दुर्घटना : शव पहिचान र व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ — उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनाका मृतकहरूको पहिचान, शव व्यवस्थापन, बिमा तथा मृतकका परिवारजनलाई सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

विमान दुर्घटना : शव पहिचान र व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयमा आइतबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा उपप्रधानमन्त्री लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सम्बन्धमा उक्त निर्देशन दिएका हुन् ।

'घटनाप्रति दुःख व्यक्त गर्दै पोस्टमार्टम, बिमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका चरणमा आवश्यक काउन्सिलिङ, सहजीकरण गर्न सरोकारवाला सबैलाई गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको छ,' उनको सचिवालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयका अनुसार सबै सरोकारवालाहरुले पीडित परिवारलाई सूचना तथा जानकारी सहजरूपमा दिन तीन किसिमले सूचना तथा जानकारी प्रवाह गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । 'पहिलो‚ मृतकका परिवारलाई; दोस्रो, विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन/दूतावासलाई र तेस्रो, सञ्चारकर्मीलाई । साथै मृतकका परिवारलाई आवश्यक सहजीकरणका लागि विमानस्थल क्षेत्रमा र पोस्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने विषयमा समेत उपप्रधान एवम् गृहमन्त्रीज्यूले निर्देशन दिनुभयो,' विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा गृह मन्त्रालयलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो ।

काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए । हालसम्म ६९ जनाको शव फेला परेको छ । अन्य ३ जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

प्रकाशित : माघ १, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?