मन्त्रालय नफुटाउने सत्तारुढ गठबन्धनमा सहमति- समाचार - कान्तिपुर समाचार

मन्त्रालय नफुटाउने सत्तारुढ गठबन्धनमा सहमति

मणि दाहाल

काठमाडौँ — चौतर्फी आलोचना भएपछि सत्तारुढ गठबन्धनले मन्त्रालय नटुक्र्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न बसेको बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय नटुक्य्राउने सहमति गरेको हो । 

‘आजको बैठकमा मन्त्रालय नटुक्र्याउने सहमति भएको छ,’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहेको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरुलाई भाग पुर्‍याउनका लागि २२ वटा मन्त्रालयबाट विभाजन गरेर २५ वटा पुर्‍याउने तयारी भएको थियो । सो तयारीको विभिन्न क्षेत्रबाट आलोचना भएको थियो ।

संसदीय समितिले प्रशासनिक खर्च घटाउन मन्त्रालय १५ वटामा सीमित पार्न सिफारिस गरेको दुई महिनामै मन्त्रालय फुटाएर २५ वटा पुर्‍याउन लागिएको थियो । मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ छ । २०७४ को आम निर्वाचनपछि कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालयको संख्या १८ मा सीमित गरिएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक महिनामै मन्त्रालय २२ वटा पुर्‍याएका थिए ।

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा नेतृत्वको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष संसदीय समितिले सातै प्रदेश र स्थानीय तहसम्म समेत पुगेर दलका नेता, उच्च पदस्थ व्यक्ति र नागरिक समाजसँग छलफल गरी १७ कात्तिकमा बुझाएको प्रतिवेदनमा मन्त्रालय अधिकतम संघमा १५ र प्रदेशमा ५ देखि ११ भए पर्याप्त हुने उल्लेख छ । त्यसअघि गठन भएका यस्ता समिति र आयोगले पनि मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च कम गर्न सुझाव दिँदै आएका थिए ।

दाहालको नेतृत्वमा सरकार बनेपछि युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाउने कसरत सुरु भएको हो  । ०७४ को चुनावअघि संघमा मन्त्रालयको संख्या ३१ वटा थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भागबन्डा मिलाउन पटक–पटक विस्तार गर्दै मन्त्रिपरिषद्लाई ६४ सदस्यीय बनाएका थिए, जुन अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हो ।

नयाँ संविधानअनुरूप आमनिर्वाचन भएपछि भने मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन मिल्दैन । संविधानले नै राज्यमन्त्रीसहित अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुनुपर्ने सीमा तोकिदिएको छ ।

साझा न्यूनमत कार्यक्रम

गठबन्धनको बैठकमा बिहीबार साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिने सहमति भएको छ । ‘विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको मस्यौदा समितिले भोलिसम्मको समय माग गरेको छ । समितिको प्रतिवेदन उच्चस्तरीय संयन्त्रमा आएपछि छलफल गरेर अन्तिम रुपमा दिने छौं,’ लिङ्देनले भने, ‘साझा न्यूनतम कार्यक्रममा सहमति भएपछि मन्त्रिपरिषद् विस्तारसहितको कार्यक्रमहरु चाँडै अघि बढ्छ ।’

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको मस्यौदा तयारी समितिले तयार पारेको कार्यक्रममाथि बिहीबार छलफल हुन लागेको हो । समितिमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राप्रपा महामन्त्री धवलशमशेर जबरा, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकालसहितका नेताहरु रहेका छन् ।

अध्यक्ष लिङ्देनले कार्यक्रममा सहमति भए विश्वासको मत लिनुअघि नै मन्त्रिपरिषद् विस्तार गर्न हुनसक्ने बताए । ‘साझा न्यूनतम कार्यक्रममा सहमति भएपछि अन्य विषयमा रोकिन आवश्यक छैन,’ लिङ्देनले भने ।

प्रधानमन्त्री दाहालले पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा ७६ (२) बमोजिम सात वटा राजनीतिक दलको समर्थन प्राप्त गरेका माओवादी केन्द्र अध्यक्ष दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसरी प्रधानमन्त्री बनेका दाहालले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री दाहालसहित ८ जना मन्त्रीहरुले पुस ११ गते शपथग्रहण गरेका थिए । जसमा ३ जना उपप्रधानमन्त्री रहेका छन् ।

प्रकाशित : पुस २०, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्

सरकार र पार्टी एकताको विषयबारे एकीकृत समाजवादीभित्र तीन धार 

एकीकृत समाजवादीभित्र एमाले, माओवादी, स्वतन्त्र पार्टी, जसपासहित सात दलको समीकरण बनेपछि वामपन्थी दलहरूबीच एकता हुनुपर्ने, सरकारमा जानुपर्ने, गठबन्धन कसरी अघि बढ्छ, त्यसलाई पर्खिने र हेर्ने तीन प्रकारको धारणा रहेको छ ।
मणि दाहाल

काठमाडौँ — सरकार र पार्टी एकताको विषयमा नेकपा एकीकृत समाजवादीभित्र तीन धार देखिएको छ । शनिबारदेखि सोमबारसम्म भएको स्थायी समिति र पोलिटब्युरो बैठकमा नेता तीन धारमा विभाजित भएका हुन् ।

एमाले, माओवादी, स्वतन्त्र पार्टी, जसपासहित सात दलको समीकरण बनेपछि वामपन्थी दलहरूबीच एकता हुनुपर्ने, सरकारमा जानुपर्ने, गठबन्धन कसरी अघि बढ्छ, त्यसलाई पर्खिने र हेर्ने तीन प्रकारको धारणा रहेको वरिष्ठ नेता मुकुन्द न्यौपाने बताए ।

‘अहिले पार्टीभित्र तीन प्रकारको धारणा छ । अहिले सरकार वामपन्थीको हो, यसलाई समर्थन गर्नुपर्छ, सरकारमा जानुपर्छ र पार्टी एकता पनि गर्नुपर्छ भन्ने छ । एकथरी समर्थन गर्नुपर्छ र सरकार जानुपर्छ भन्ने छन्,’ न्यौपानेले भने, ‘यो सरकार लामो समय टिक्छ कि टिक्दैन वा मैले केही पाउँछु कि पाउँदिनँभन्ने पनि धारणा रहेको छ । सबै बैठकमा यसै प्रकारको धारणा बैठकमा आउने गरेका छन् । बाहिर जे भने पनि ।’

न्यौपानेले पछिल्लो राजनीतिक अवस्थालाई समीक्षा गरी सही निष्कर्षमा पुग्नु पर्ने बताए । ‘विगतमा जे भयो भयो त्यसलाई समीक्षा गर्ने र एकता भएर जाने हो उपलब्धिपूर्ण हुने, नभए समाप्त हुनेछ,’ उनको भनाइ छ ।

न्यौपानेले यसअघि नै एमाले, माओवादी केन्द्रसँग पार्टी मिल्नुपर्ने धारणा राख्दै आएका छन् । स्थानीय निर्वाचनभन्दा पनि कमजोर प्रदर्शन प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा भएपछि सो दलभित्र अन्य वामपन्थी दलसँग एकताको विषयमा जोडसाग उठ्न थालेको हो ।

गत भदौमा एकीकृत समाजवादीले माओवादीसँग एकताका लागि संयुक्त कार्यदल बनाए पनि त्यस विषयमा खासै प्रगति देखिएन । पछिल्लो समयमा एमालेसँग एकता गर्नुपर्ने धारणा प्रमुख रूपमा उठ्न थालेको छ ।

चुनावी समीक्षा र सरकारको विषयमा धारणा बनाउन एकीकृत समाजवादीका एकपछि अर्को बैठक भएका छन् । पार्टी एकता र सरकारमा सहभागिताको विषयमा फरक–फरक धारणा आएपछि एकीकृत समाजवादी निर्णयमा पुग्न सकेको छैन । यो विषयमा शनिबार र आइतबार स्थायी कमिटीमा पनि त्यस विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुन समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरे । वार्तामा नेपालले पार्टीको बैठकपछि निष्कर्षमा पुग्ने बताइसकेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबारको बैठकमा प्रस्तुत गरेको दस्ताबेज ‘देशको वर्तमान परिस्थिति र हाम्रो दृष्टिकोण’मा दलसँग एकतामा भन्दा पार्टी संगठनलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । उनले वैचारिक रुपमा सहमति नभएरसम्म अन्य दलसँग एकता गर्न नसक्ने बताएका छन् । खनालले चुनावी परिणामपछि पार्टी चल्न नसक्ने, एमाले वा माओवादीसँग मिल्नु पर्ने धारणा राख्ने ‘पलायनवादी’ र ‘विसर्जनवादी’ भएको बताएका छन् ।

‘यो पार्टी अघि बढ्न सक्दैन भन्ने चिन्तन यो पलायनवादी र विसर्जनवादी चिन्तन हो,’ खनालले भनेका छन् ‘दोस्रोखाले चिन्तन देखिन्छ अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले हामीले कि एमालेमा फर्किनुपर्छ कि माओवादी पार्टीमा विलय हुनुपर्छ । यो पनि अन्तिम विश्लेषणमा पलायनवादी र विसर्जनवादी चिन्तन नै हो ।’

मंसिर ४ गते भएको निर्वाचनमा एकीकृत समाजवादीले ३ प्रतिशत पनि मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १० सिट जिते पनि भविष्यको विषयमा नेता तथा कार्यकर्ता तहमा चिन्ता व्यक्त हुँदै आएको छ । पार्टीले एकपछि अर्को गर्दै चुनावमा खासै आएको धक्काको कारण उत्पन्न भएको चिन्तालाई खनालले ‘निम्न पुँजीवादी हतासा’बाट उत्पन्न भएको चिन्ता भनी व्याख्या गरेका छन् ।

खनालले अहिले पार्टी यही अवस्थामा सञ्चालन भए पार्टी अझ बढी खुम्चिँदै जाने र अन्त्यमा चल्नै नसक्ने अवस्थामा पुग्ने बताएका छन् । ‘विगत डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको छ,’ उनले भनेका छन् । २०७८ भदौ २ मा एमालेबाट विभाजित भएर एकीकृत समाजवादीको गठन भएको थियो । खनालको प्रतिवेदनमा संगठन निर्माण विषयलाई प्राथमिकतामा दिनुपर्ने धारणा छ । अहिले एकीकृत समाजवादीको त्यही धार मूल धार भएको दाबी प्रतिवेदनमा गरेका छन् ।

नेता न्यौपानेले वामपन्थी दलहरूबीच एकता हुने समयको माग भएकोले यसलाई बुझ्न नसक्ने दण्डित हुने बताए । ‘अहिलेको समयमा दिएको निर्देशन भनेको वामपन्थी दलहरूबीचको एकता नै हो । समयले दिएको यो निर्देशनलाई जसले पालना गर्दैन, त्यसलाई समयले नै दण्डित गर्छ,’ न्यौपानेले भने ।

सोमबारको पोलिटब्युरो बैठक सुरु गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागी हुनेबारे सरकार र सात दलीय गठबन्धनको औपचारिक धारणा माग गरेका थिए । नयाँ गठबन्धन निर्माण गर्ने विषयमा दाहालले आफूसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका अध्यक्ष नेपालले सरकारले समर्थन गर्ने विषयमा औपचारिक रूपमा प्रस्ताव आउनु पर्ने बताउन थालेका छन् । चुनावलगत्तै एमालेका विभिन्न नेताहरूले अध्यक्ष नेपालसँग भेट गर्दै एकताको विषयमा छलफल गरेको जानकारी सञ्चारमाध्यमलाई बताएका थिए ।

पार्टीका प्रवक्ता खतिवडाले पछिल्लो समयको बैठकमा सरकारमा सहभागिताको बारेमा भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा छलफल केन्द्रित रहेको बताएका छन् ।

‘सरकारमा जाने विषयमा औपचारिक प्रस्ताव कसैले राखेका छैनन् । प्रस्ताव आए त्यस विषयमा छलफल गर्ने हो । अहिले सरकारलाई हेर्ने दृष्टिकोणको विषयमा छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘औपचारिक प्रस्ताव आए त्यो त्यो लायक छ कि छैन छलफल हुन्छ । औपचारिक प्रस्ताव नआई सरकारमा जाने विषयमा छलफल हुँदैन ।’ उनले प्रधानमन्त्री दाहालप्रति व्यक्तिगत रूपमा सद्भाव रहे पनि राजनीति रुपमा औपचारिक प्रस्ताव आउनुपर्ने बताए ।

प्रकाशित : पुस १८, २०७९ २२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×