कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतारको बिहेले पछुतो

देशभर गर्भवतीमध्ये १५–१९ वर्ष उमेर समूहका १४ प्रतिशत, कर्णाली प्रदेशमा २१ प्रतिशत, मधेसमा २० प्रतिशत
विद्या राई

काठमाडौँ — दुई वर्षअघि एसईई दिएपछि मुगु ताल्चाकी अस्मिता रावल र सदरमुकाम गमगढीनजिकै भामवाडाका सोविन्द्र रावलले भागी विवाह गरे । अस्मिता १६ र सोविन्द्र १८ वर्षका थिए । अहिले उनीहरू १६ महिनाकी छोरीको बाआमा भइसके ।

हतारको बिहेले पछुतो

विवाह गरेपछि पढाइलाई निरन्तरता दिइरहेका भए पनि घरायसी मामला झेलिरहनुपर्दा बेलाबखत पछुतो भइरहन्छ अस्मितालाई । मंसिर अन्तिम साता उनकै घरको भेटमा भनिन्, ‘सानै उमेरमा बिहे गरियो, पहिला पढौंभन्दा दिमाग गएन । अहिले छोरी सम्हाल्नुपर्छ, घर सम्हाल्नुपर्छ, ढुक्कैले पढ्न भ्याइँदैन ।’ सासूससुरासितको संयुक्त परिवारबाट अलग भइसकेका छन् रावल दम्पती । ऐच्छिक नेपाली विषय लिएर कक्षा ११ मा पढिरहेकी उनी माइती अथवा सासूससुरालाई छोरी हेर्न लगाएर स्कुल जान्छिन् । सन्तानको सुख र घरव्यवहार धान्न उनका पति भने वैदेशिक रोजगारीमा जाने तरखर गर्दै छन् । ‘बुबाआमाले पनि खेतीपाती गरेरै जीवन बिताउनुभो, यस्तै भो,’ उनले भने, ‘अब हामीले छोरीको राम्रोको लागि पढाइ, लेखाइ गराउनुपर्‍यो, यहाँ रोजगारी नभएपछि विदेश जानैपर्ने भयो ।’

रावल दम्पतीको जस्तै उमेर नपुग्दैको विवाहले किशोरकिशोरीको शिक्षा प्राप्तिमा मात्रै होइन, उमेर नपुग्दै वयस्कहरूले जसरी सन्तान र परिवारको जिम्मेवारी सम्हाल्नुपर्ने हुदा सर्वाङ्गीण विकासमा नै अवरोध पुग्ने गर्छ । जनगणना–२०६८ अनुसार मुगु जिल्लामा कुल विवाहितहरूमध्ये ५७.०१ प्रतिशत १९ वर्षभन्दा कम उमेरका छन् । कम उमेरको विवाहदर बालकको तुलनामा बालिकाको दर झन्डै दोब्बर (६४.५२ प्रतिशत) छ । यहाँका विवाहित महिलाहरूले १५ देखि १९ वर्षको उमेरमै तीन सन्तान जन्माइसकेका हुन्छन् । हालै प्रकाशित ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२’ ले पनि १४ प्रतिशत महिला १५ देखि १९ वर्ष उमेर समूहका गर्भवती हुने गरेको देखाएको छ । प्रतिवेदन अनुसार १५ देखि १९ वर्षका गर्भवती किशोरीहरू सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र मधेस प्रदेशमा २० प्रतिशत छन् । वाग्मती प्रदेशमा ८ प्रतिशत छ । २०७६ मा महिला, कानुन र विकास मञ्चले तयार पारेको ‘बालविवाहविरुद्धको अधिकार’ सम्बन्धि सामाग्रीमा नेपालमा बालविवाहको दर बासस्थान, भौगोलिक क्षेत्र, शैक्षिकस्तर, घरपरिवारको आम्दानीको स्तर, जातजातिका आधारमा फरक छ । मुख्य गरी ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी छ । बालविवाहले गर्दा गरिबी र घरेलु दासत्वको दुष्चक्र चलिरहन्छ । विवाहको असर बुझे पनि सहमति जनाउने क्षमता हुँदैन ।

मुलुकी अपराध संहिता-२०७४ ले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । यसरी उमेर नपुगी विवाह गर्न/गराउन पाइँदैन । बालविवाह गरिसकेपछि गैरकानुनी हो भन्ने थाहा पाएकाहरू अपरिचितहरूसँग झट्टै खुल्दैनन् । अस्मिताले थपिन्, ‘पहिले ख्याल गरिएन, कानुन लाग्छ भन्ने बिहे गरिसकेपछि थाहा भयो । छोरी नि भइसकी बिहे फिर्ता गर्न मिलेन ।’ स्वास्थ्य सर्वेक्षणअनुसार अशिक्षित ३३ प्रतिशत र केही माध्यमिक शिक्षा लिएका ८ प्रतिशत महिलाहरूले १५ देखि १९ वर्षको उमेर समूहमा बच्चा जन्माउने सम्भावना बढी हुन्छ । ‘यसको असर महिलामा बढी हुन्छ, किनकि किशोरावस्थामै गर्भधारणपछि शिक्षा छुट्ने भो । महिलाको आर्थिक सशक्तीकरण हुन पाउँदैन, परनिर्भर हुनुपर्छ, यसले लैगिक हिंसा निम्त्याउँछ,’ महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा बालविवाहविरुद्धको अधिकारसम्बन्धी सामग्री लेखकहरूमध्येका सविन श्रेष्ठले भने, ‘विवाह दर्ता, बच्चाको जन्मदर्ता नहुने हुँदा कानुनी लडाइमा कठिनाइ भइदिन्छ । आङ खस्नेजस्ता प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्, मातृमृत्युको उच्च जोखिम हुन्छ ।’

मानव विकास सूचकांकसम्बन्धी दुई वर्षअघि प्रकाशित प्रतिवेदनअनुसार प्रदेशहरूमध्ये कर्णालीमा सबैभन्दा बढी लैगिक असमानता सूचकांक ०.५५८ छ । कर्णाली प्रदेशमै बाल मृत्युदरमा सबैभन्दा बढी कुपोषणले १५.१ प्रतिशत गर्दा हुने गर्छ । सातै प्रदेशहरूमध्ये मधेस प्रदेश र कर्णालीमा बहुआयामिक गरिबी बढी छ । राष्ट्रिय योजना आयोगको गत वर्षको बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनअनुसार सातै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा बढी गरिबी ३९.५ प्रतिशत छ । ७ वर्षअघि विवाह गरेका २६ वर्षीय रूपकर्ण थापा यही गरिबीको जालोमा छन् । खेतीकमाइले तीन महिना खान पुग्दैन । ग्रामीण पहुँच कार्यक्रमको सडक निर्माण योजनामा स्टोर किपरको कार्यअवधि सकिएपछि परिवारको पालनपोषणमा समस्या बल्झिएको छ ।

गमगढीदेखि पारि रुगाँ गाउँका थापाले १९ वर्षकै उमेरमा विवाह गरेका थिए । दुई छोरी र एक छोराका बाबु भइसके । कान्छी छोरी ३५ दिनकी भइन् । ‘घरपरिवार पाल्न, बच्चाको पढाइ खर्च जुटाउन मैले कमाउनुपर्छ, गाउँमा रोजगारी छैन, अब विदेश जाने सोचमा छु,’ उनले भने । उनले यसो भनिरहँदा सानै उमेरमा विवाह गरेर गल्ती गरेको भाव देखाउँथे । आठ वर्षअघि मुगुमा कार्यक्रम गर्न पुगेका संघसंस्थाका कर्मचारीहरूसित भेट्दा उनीहरूले आफूलाई पढ्न उक्साएको कुरा बेवास्ता गरेकामा दुःख माने । ‘यहाँ आएको सरहरूले पढ्न काठमाडौं जाऔं भन्नुभएको थियो, बिहे गरियो, पढाइ छुट्यो,’ थापाले भने, ‘अहिले पछुतो लागिरहेको छ । पढेको भए शिक्षक सेवातिर तयारी गर्न सकिन्थ्यो ।’ उनले एसईई उत्तीर्ण गरेका छन् । कक्षा ११ मा थिए तर पोहोर परीक्षा दिने बेलैमा आमा बितेपछि पढाइ रोकियो । उनकी श्रीमती २४ वर्षकी भइन् । उनले पनि पढाइलाई निरन्तरता दिन पाइनन् ।

प्रकाशित : पुस १९, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?