कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीकाेट आगलागीमा ३ करोडको क्षति

कालीकोट — पलाता गाउँपालिका १, खाडा गाउँको आगलागीमा करिब ३ करोड रुपैयाँको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यही पुस ९ गते राति खरका छाना भएको गाउँमा आगो सल्कँदा ३९ घरका ८७ परिवार बेघरबार भएका छन् । 

कालीकाेट आगलागीमा ३ करोडको क्षति

जिल्ला प्रहरीका अनुसार ३ करोड ३ लाख २१ हजार रुपैयाँको धनमाल क्षति भएको प्रारम्भिक विवरण छ । निमित्त जिल्ला प्रहरी प्रमुख देवेन्द्रकुमार मल्लले सबै विवरण अझै आउन नसकेको बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा शनिबार मान्ममा आयोजित जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले विस्तृत अनुसन्धानका लागि प्रहरी र प्रशासनको टोली अझै गाउँमै रहेको बताए । समिति बैठकबाट प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद राहत ४२ परिवारका लागि निकासा गर्ने निर्णय भएको उनको भनाइ छ । खाडा गाउँमा आकस्मिक राहत सामग्री पुर्‍याएर वितरण गरिएको उनले जनाए ।


आगलागीपीडितलाई सहयोग गर्नेभन्दा पनि तीनै तहका सरकारले जस लिन तँछाडमछाड गरिरहेको जिल्ला बार अध्यक्ष दमनराज बमले बताए । उनले विभिन्न ठाउँमा राहत संकलन गरिरहेको जानकारी आए पनि गाउँमा थोरै मात्र पुगेको दाबी गरे ।


अग्निपीडितलाई प्रदेश सरकारले नयाँ घर बनाउन ५ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई शौचालयसहितको चारकोठे पक्की घर निर्माण गर्न प्रतिपरिवार प्राविधिक सहयोगसहित ५ लाख दिने निर्णय मुख्यमन्त्री शाहीले सुनाए । उनले सहयोगी निकायलाई राहतका नाममा कपडा र खाद्यान्न, प्लास्टिकका भाँडाकुँडा मात्र दिने भन्दा पनि गाउँपालिकासँग समन्वय गरेर घर बनाउन साझेदारी गर्न सुझाए ।


मुख्यमन्त्रीले अग्निपीडितलाई जिल्ला प्रशासनले दिने १० हजार र प्रदेश सरकारले दिने २० हजार गरी प्रतिपरिवार ३० हजारका दरले वितरण गर्न निर्देशन दिएका छन् । ‘घर पुनर्निर्माणका लागि वडा र गाउँपालिकालाई ठाउँ पहिचान गरेर योजना बनाउन निर्देशन दिइएको छु,’ शाहीले भने ।

प्रकाशित : पुस १६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?