कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन प्रलोभनमा हत्या

महोत्तरी — औरही २, फूलबरियाका ४० वर्षीय किसान बेचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानले देखाएको छ । गौशाला प्रहरीका अनुसार अर्काको शारीरिक सम्बन्ध लुकाउन महतोको हत्या भएको हो ।

फूलबरियाकै २२ वर्षीया जितनीदेवी महतोलाई गत बिहीबार प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेपछि हत्याको रहस्य खुलेको हो । प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार हत्यामा ‘यौन प्रकरण’ मुख्य देखिएको छ । बेचु तरकारी खेती गर्थे ।


घरदेखि अलि पर करिब २ कठ्ठा खेतमा उनले काउली लगाएका थिए । नीलगाईले काउली खाएर दु:ख दिन थालेपछि उनी केही समयदेखि खेतमै बस्थे ।


मंसिर २४ गते पनि रात परेपछि उनी खेत पुगे । आफ्नो खेत र उखुबारी नजिक उनले केही हलचल भएको देखे ।


‘सायद नीलगाई लुकेको हुन सक्छ,’ उनले शंका गरे । त्यहाँ पुग्दा उनले छिमेकी जितनी र अर्का २४ वर्षीय छिमेकी सुशील सहनीलाई आपत्तिजनक अवस्थामा देखे । बेचुलाई देखेर सुशील भागे । जितनी अक्कनबक्क परिन् ।


‘मलाई उसले (बेचु) हप्कीदप्की गर्‍यो,’ जितनीको भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘मोबाइल पनि खोस्यो र लोग्नेलाई भनिदिने धम्की दियो ।’ ५ वर्षीय छोराकी आमा जितनीका पति विजय केही समयदेखि सिरक बनाउन काठमाडौंमा छन् । प्रहरीलाई जितनीले दिएको बयानमा मंसिर २५ गते बेचुले आफूसँग यौन सम्पर्क नगरे मोबाइल नदिने र घटना भनिदिने धम्की दिए ।


धम्कीको कुरा जितनीले प्रेमी सुशीललाई सुनाइन् र यौन प्रलोभनमा पारेर उनको हत्या गर्ने योजना भयो । योजनाअुसार जितनीले बेचुलाई यौन सम्पर्कका लागि राति सोही खेतमा बोलाइन् । रातको समयमा खेतमा जितनी पुगिन् । बेचु पनि पुगे । नजिकै सुशील र उनका छिमेकी अनिलकुमार ठाकुर लुकेर बसे । त्यो कुरा बेचुलाई थाहा थिएन ।


जितनीसँग गफ गरिरहेका बेचुलाई सुशीलले पछाडिबाट आफैंले लगाएको ज्याकेटले घाँटी कसेर हत्या गरे । उनीहरूले शव घिसारेर २ सय मिटर पर रामराजा ठाकुरको उखुबारीमा राखे । बेचुकी पत्नी राधादेवीका अनुसार हत्याको राति बेचु ८ बजेतिर खेतबाट फर्किएका थिए । सँगै सुतेका बेचु कति बेला गए उनलाई थाहै भएन ।


मध्यरातसम्म बेचुको नआएपछि राधादेवीले हल्ला गरिन् । छिमेकी र प्रहरी खोज्दै खेतमा पुग्यो । त्यहाँ नदेखेपछि खोज्ने क्रममै मंसिर २६ गते बुधबार बेचुको शव उखुबारीमा भेटियो ।

प्रकाशित : पुस २, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?