काठमाडौँ — सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संसद् भवन तत्काल मर्मत तथा सुधार गर्न निर्देशन दिएका छन् ।
मन्त्री राईले सचिव डा. रमेशप्रसाद सिंह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम शाक्यलाई पुस पहिलो साताभित्र मर्मत तथा सुधार गर्न निर्देशन दिएका हुन् । ‘भवनको भुइँमा रहेको मार्बल उप्किएको छ, शौचालय गनाएर भित्र पस्न सक्ने अवस्था छैन, भवनभित्रै पानी चुहिएको छ, संसद् भवन जस्तो छैन,’ उनले भने ।
निरीक्षण क्रममा उनले लथालिंग अवस्थामा रहेको संसद् भवनको आन्तरिक तथा बाह्य स्वरूपलाई रङरोगन गरी आकर्षक बनाउनसमेत कर्मचारीलाई निर्देशन दिए । ‘समयसीमाभित्र काम नगरे कारबाही गर्छु,’ मन्त्री राईले कान्तिपुरसँग भने, ‘भित्रै घाँस उम्रेको छ, भुइँमा लेउ लागेको छ, कर्मचारीलाई केही मतलब छैन ।’
संसद् भवन निरीक्षण गर्दै उनले काम नगर्ने कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउनसमेत सचिव सिंहलाई निर्देशन दिए । संसद्को हिउँदे अधिवेशन सुरु हुन करिब एक महिना बाँकी रहँदासमेत भवन मर्मत तथा सुधार नभएको भन्दै उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले चरम लापरबाही गरेको बताए ।
सचिव सिंहले समितिका कर्मचारीलाई समयमै काम नगरे सेवाबाट हटाउने चेतावनी दिए । नियमावली परिवर्तन गरेर भए पनि कर्मचारी सरुवा गर्ने उनले बताए । समितिका कर्मचारीलाई सरुवा गर्न नमिल्ने भएकाले हाकिमलाई समेत टेर्न छोडेको भन्ने सूचना पाएको उनले जनाए । ‘शक्तिको आडमा जागिर खाएका होलान् तर काम त गर्नुपर्यो नि ! शक्ति छ भन्दैमा काम चोर बन्नु भएन,’ उनले भने, ‘अधिकार माग्नुपर्छ, जिम्मेवारी पनि पूरा गर्नुपर्छ ।’अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम शाक्यले मंसिर महिनाभित्र मर्मत–सम्भारका सबै काम सम्पन्न गर्ने बताए ।
प्रकाशित : मंसिर २०, २०७५ ०९:१०