चौधरीलाई तत्काल जेलमुक्त गर्न लोकतान्त्रिक पार्टीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लोकतान्त्रिक पार्टीले कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई तत्काल जेलमुक्त गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा र कानुनमन्त्री भानुभक्त ढकाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक पार्टीले चौधरीलाई जेलमुक्त गरी यथाशीघ्र शपथग्रहण गराइ पदवहाल गराउन माग गरेको हो ।

चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी भूमिगत रुपमै चुनाव लडेर कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा अदालतसमक्ष आत्मसर्मपण गरेका थिए ।

उक्त पार्टीले टीकापुर घटनाको आरोपित बन्दीहरुलाई बिनासर्त यथाशीघ्र रिहाइ गर्नुका साथै विभिन्न चरणमा थरुहट, मधेस, आदिवासी आन्दोलन आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दाहरु खारेज गर्न सरकारसँग माग गरेको छ । ११ बुँदे ज्ञापन पत्रमा बलात्कारपछि हत्या गर्ने मानवताविरोधी कार्य रोक्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तसहित विभिन्न ठाउँका घटनाका दोषी पत्ता लगाइ हदैसम्मको कारबाही गर्नुपर्ने, भूकम्पीडितको समस्या हल गराउन कानुन प्रक्रिया सहज गराउनुपर्ने, युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न, गौहत्याको झुट्टो आरोपमा जेल सजाय भोगिरहेका नागरिकलाई तुरुन्त रिहा गर्नुपर्ने माग समेटिएका छन् ।

ज्ञापन पत्र बुझेपछि गृहमन्त्री र कानुनमन्त्रीले आफ्ना मन्त्रालय मातहतका विषयलाई सम्बोधन गर्न गम्भीर रहेको बताएका लोकतान्त्रिक पार्टी महासचिव देवबहादुर दुराले जानकारी दिए । मन्त्रीद्वय थापा र ढकाललाई भेट्न लोकतान्त्रिकका अध्यक्ष भानुराम थारु, वरिष्ठ नेता शिवलाल थापालगायतका नेता गएका थिए ।

हेर्नुहोस् अन्य मागहरु


प्रकाशित : मंसिर १९, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालन गर्ने

प्रताप विष्ट

हेटौडा — प्रदेश ३ सरकारले विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्थाको सहकार्यमा बस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसहितको उपस्थितिमा हेटौंडामा बुधबार भएको संयुक्त बैठकमा विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने जानकारी गराइएको थियो ।

प्रदेश सरकारले चालु आवमा विद्युतीय बस खरिद गर्न ३० करोड रुपैयाँ र काठमाडौं महानगरपालिकाले १० करोड विनियोजन गरेका छन् । प्रदेश सरकारले वि.सं २०८५ सम्ममा काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने नीतिअनुरुप विद्युतीय बस सञ्चालनको तयारी गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशको १३ जिल्ला र प्रदेश-प्रदेशको अन्तरसम्बन्ध जोडिने गरी विद्युतीय बस सञ्चालन हुने बताए ।

मेयर शाक्यले काठमाडौंबाट साना सवारीका साधनहरु विस्थापित गर्ने उद्देश्यले साझा यातायातसँग काठमाडौं महानगरले सहकार्य गर्दै आएको बताए ।

छलफलमा प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, प्रदेश सांसद दीपक निरौला, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. देवकोटा, सदस्य श्याम बस्नेत, साझा यातायातमा प्रतिनिधित्व गर्ने काठमाडौं महानगरपालिकाका कानुन महाशाखाका प्रमुख वसन्त आचार्यलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : मंसिर १९, २०७५ १७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्