सुकी स्वदेश फिर्ता

रासस

काठमाडौँ — एसिया प्यासिफिक सम्मेलनमा भाग लिन अाएकी म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी अाइतबार स्वदेश फर्केकी छन् ।

Photo: storypick.com

नेत्री सुकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सुकीबिहीबारकाठमाडौँ आएकी थिइन् । शनिबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ ।

प्रकाशित : मंसिर १६, २०७५ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

प्यारासुट रिपोर्टिङ अनुभव : डोल्पाबासीको खुशी

सञ्जीव बगाले

काठमाडौँ — सुर्खेतमा इन्धन हालेर डोल्पा उड्ने क्रममा हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग छोटो कुराकानी गर्ने मौका मिल्यो । हेलिकप्टरबाट कर्णालीका डरलाग्दा भिर हेर्दै जाँदा उनले भने, यो ठाउमा जंगल बनाएर शिकार क्षेत्र बनाउनुपर्छ अनि बल्ल यो क्षेत्रको विकास हुन्छ ।

एउटा घर र अर्को घरको दुरीका कारण जनतालाई सेवा सुविधा दिन कठिन भएको भन्दै उनले एकीकृत बस्तीको विकास गर्नुको बिकल्प नरहेको समेत मलाई सुनाए।

उनको यति कुरा सकिंदै गर्दा हेलीकप्टरले पनि आफ्नो उचाई घटाउदै लगेको थियो। जब भेरी नदीको थोरै मात्रै माथी—माथी हेलीकप्टर उड्दै थियो, तल सडकमा भने सर्वसाधरणको भिड लागेको देख्न सकिन्थ्यो। भर्खरै मात्र नेपाली सेनाले खनेको धुले सडकमा हेलिकप्टरको पंखाले उडाएको धुलोले सडक धुलोमय बनेको थियो।

दुईतिर डरलाग्दो भिर बिचमा गहिरो गरि बगेको भेरी अनि भेरी किनारमा खनिएको सडक। यस्तो अत्यास लाग्दो भिर फोरेर ट्रयाक खोल्न नेपाली सेना कसरी सफल भयो होला? जो कोहीका मनमा पनि यो प्रश्न उठिहाल्छन्।

भेरी नदीको किनारमा अवतरण गरेको हेलिकप्टरबाट ओर्लिएर सडकतिर लाग्दा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकका स्थानीयहरु यति धेरै खुशी थिए की जसलाई उनीहरुले व्यक्त गर्न नै सकेका थिएनन्। कोही खाली खुट्टै आएका थिए, कोही काखे बालक च्यापेर सडकमा गाडी हेर्न आइपुगेका थिए। हेलिकप्टरका दृष्यबाट भिर पखेरमा बनेका घरहरु देख्दा यहाँका जनता कति दु:खी होलान भन्ने मनमा लागेको थियो। तर गाडी देख्दा खुशी भएको उनीहरुको मन र हाँसिलो त्यो अनुहार देख्दा मलाई लाग्यो—संसारका सबै दु:ख लुकाउन सक्ने मनहरु यिनका अगाडी फिका हुन्छन्।

कच्ची बाटो अनि अस्थाई रुपमा गाडी गुड्न सक्ने सडक बनेर पहिलो पटक घर नजिकै गाडी पुगेपछि त्रिपुरासुन्दरीको सिरवेन्डेमा बाजागाजासहित स्थानीय आएका थिए। उनीहरुले हेलिकप्टरबाट गाडी उद्घाटन गर्न पुगेका भिआइपीहरुलाई भव्य स्वागत गरे। धुलो उडाउदै गुडिरहेका जिप र ट्याक्टरका पछाडी कुद्दा उनीहरुलाई असीम आनन्द आइरहेको थियो। ट्याक्टरमा झुण्डिन पाउदा कति रमाए होलान म व्यक्त गर्न सक्दिन।

६३ वर्षीय विश्वमती बोहराले जीवनमा गाडी देख्न पाउनु आफ्नो ठुलो भाग्य भएको बताइन्। उनले भनिन्, ‘अब त हाम्रा दु:खका दिन गए। बुढाबुढी भएपछि हिड्न गाह्रो हुन्छ। गाडी आयो अब सजिलो भयो।’

कोही स्थानीय त भन्दै थिए, सहरबाट ठुला ठुला नेताज्युहरु आउनुभयो। हामीले देख्न पायौं। हामी धन्य भयौं। कसले सडकमा गाडी गुडाउने उद्घाटन गर्‍यो को—को आए धेरैलाई थाहा थिएन। धेरैलाई यति थाहा थियो की सडक बन्यो गाडी आयो।

सडकको उद्घाटन गरेर रक्षा मन्त्री र प्रधानसेनापतिसहितको हेलिकप्टर उडेको केही बेरपछि पत्रकार, केही सरकारी कर्मचारी र विकास निर्माण निर्देशनालयका उच्च अधिकृत सहभागी हेलिकप्टर उड्यो। त्यो भन्दा पहिला हेलिकप्टरसम्म पुग्नका लागि केही बेर हिड्न परेको थियो। त्यही हिड्ने क्रममा म केही सर्वसाधरणसँग कुरा गर्न अल्मलिएँ। दुर्गम क्षेत्रका जनताका बोलीलाई समाचार बनाउन सकिन्छ की भनेर मैले एकजना स्थानीयसँग कुरा गर्दै थिएँ। त्यहीबेला माथीबाट सानातिना ढुगां खस्न थाले म निमेषभरमै क्यामेरा अफ नै नगरी कुदी हालें। अलिकति अगाडि आउदा त हामी जाने हेलीकप्टर उड्न ठिक्क परेको रहेछ। धन्न म कुद्दै गएँ र मलाई सुरक्षितसाथ सेनाका जमदारले हेलिकप्टरभित्र राखे। मलाई एकछिन दौडदा यति गाह्रो भयो भने दिनरात यहाँको भिरसँग जुध्ने डोल्पालीलाई कति गाह्रो होला। सानो ढुंगा खस्दा म त्यसरी भागे यहाँका बासिन्दाहरु यस्ता धेरै र ठुला—ठुला ढुगांलाई झुक्याएर बाचिरहेका छन्।

लगभग पन्ध्र मिनेटमा हेलिकप्टर त्रिपुरासुन्दरीको छलगाडमा अवतरण गर्यो। त्यहा पनि स्थानीय उत्तिकै फुरुगं थिए। बालबालिकामा देखिएको खुशी त अझै लोभलाग्दो थियो। मैले आफ्नो बाल्यकाल सम्झिएँ झण्डै तीन दशक अघि गाउँमा डोजर पुग्दा हामी त्यसरी नै कुदेका थियौं। मलाई लाग्यो उनीहरुको गाउँ मेरो गाउँभन्दा तीस वर्ष पछाडि छ। मैले सोचे, सायद उनीहरुले कुनै दिन त्यो ठाउँमा कालोपत्रे भएको सडकमै गाडी गुडेको देख्नेछन् र रमाउन पाउनेछन्।

त्यहाँ जाजरकोट दुनै सडक ट्रयाकको उद्घाटन गर्ने सिलालेख नै राखिएको थियो। त्यही सिलालेखको अनावरण गरेर रक्षामन्त्रीले जाजरकोट (दुनै) सडक खण्डको उदघाटन गरे। त्यसपछि झण्डै डेढ घण्टा जति भाषणको कार्यक्रम सुरु भयो। म भने क्यामेरा लिएर यता उता हिडे। यि नेता र मन्त्रीको भाषण काठमाडौंमै जति सुन्न पाइएको छ। यिनका आश्वासन पनि नयाँ लाग्दैनन् भनेर गाडी हेर्न आउनेका अनुभुतिहरु संगाल्न थाले। स्थानीयलाई गाडी आएपछि दुई थरी परिवर्तन हुन्छ भन्ने लागेको छ। कोही गाडी आएपछि डोल्पाका स्याउ, ओखरलगायतका उत्पादनहरु बिक्री हुने बताउछन् भने कोही भने गाडी आएपनि गरिबका लागि केही नहुने भनेर निराशा व्यक्त गर्छन। स्थानीयले बेच्न ल्याएको एउटा स्याउको पाँच र ओखरको पनि पाँचै रुपैया पर्थ्यो। यति सस्तो हुँदाहुँदै पनि बिक्री भइरहेको थिएन। के अब बन्ने सडकले यो स्याउ र ओखरको मुल्य दिन्छ होला?

स्थानीयसँग कुरा गर्दे जाँदा थाहा भयो ट्रयाक खुलेपनि दुनैसम्म सवारी साधन पुग्न कठिन छ। छलगाडदेखि दुनैसम्मको १४ किमि ट्रयाक बिभिन्न संघसंस्था र सांसद विकास कोषको सहयोगमा जिल्ला विकास समितिले खोलेको छ। तीन मिटर मात्रै चौडा भएकोले त्यसलाई अझै स्तरोन्नती गर्नुपर्ने छ। त्यो सडक पनि सेनाले बनाओस भन्ने स्थानीयको चाहना छ। स्थानीयसँग कुरा गर्दै गर्दा मञ्चमा भाषण गरेको सुनियो, सिरानीमा सुन राखेर नुन खोज्ने डोल्पालीका दिन अब सुध्रन्छन्। मलाई भने पाँच वर्षअघि मुगुमा सडक पग्दा नेताहरुले यही बाक्य भनेको याद आयो। फरक यति हो त्यती बेला सेनाले खनेको सडकको उदघाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराई सहितको जम्बो टोली मुगु सदरमुकाम गमगढी पुगेको थियो। यस पटक भने सेनाले नै खनेको सडक उद्घाटन गर्न रक्षा मन्त्री इश्वर पोखरेलसहितको मिनि टोली त्रिपुराकोट आइपुगेको छ। नेताहरु आश्वासन कति सजिलै दिन्छन् तर पुरा कहिले हुन्छ कुनै ठेगान छैन। भाषण सकियो भिआइपीहरुसँगै हामी पनि फर्किन पर्ने भयो। डोल्पाको प्यारासुट रिपोर्टीङ पनि सकियो।

जाजरकोटदेखि डोल्पा (दुनै)सम्मको ११७ किमि मध्ये नेपाली सेनाले दश वर्षमा १०३ किमि सडकको ट्रयाक खोल्ने काम सकेको हो। यद्यपी सुरुका दुई वर्ष जाजरकोट र रुकुमका स्थानीय वीचको रेखाङ्कन विवादले निर्माण कार्य अवरुद्ध भएको जजारकोट—डोल्पा (दुनै) सडक निर्माण कार्यदलका प्रमुख एवम् प्राविधिक प्रमुख सेनानी विश्बन्धु पहाडीले बताए। उनका अनुसार यो सडकमा साना ठुला गरि २० वटा पुल हाल्नुपर्छ।
त्यो सडकमा तत्काल तीनवटा बेलीब्रीज हाल्न सके हिउँदमा दुनैसम्म गाडी चल्ने सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठको भनाई छ। तर, यो पुल हाल्ने काम सम्पन्न हुन पनि कुनै अभाव भएन भने ६ महिना लाग्छ। अहिले यो सडक ५ देखि साढे ५ मिटर चौडाको छ। यसलाई स्तरोन्नती गर्नका लागि कम्तीमा पनि ७ मिटर चौडा बनाउनुपर्छ।
बजेट अभाव नभइकन काम गर्ने हो भने अब यो सडक कालोपत्रे हुन ४ वर्ष लाग्ने सडक पुर्वाधारका जानकारहरु बताउँछन्।

त्यसका लागि २०७६/०७७ को बजेट भाषणमा यो आयोजना पर्नुपर्छ। त्यसपछि डिपीआर बनाउने र सडक स्तरोन्नतीको काम एकैसाथ अगाडि बढाउन सकिन्छ। यो काम तत्काल सुरु होला नहोला अनि सरकारले बजेट पनि छट्टाउला नछुट्टाउला त्यो सरकारको योजनामा भर पर्ने कुरा हो। तर, तत्कालका लागि तीनवटा बेलीब्रीज राख्न सके पनि ठुलै राहत हुनेछ। किनकि सडक पुग्दै नपुगेको भन्दा पुगेको राम्रो, कच्ची भएपनि सवारी साधन चलेको राम्रो, कालोपत्रे भएको त झनै राम्रो। म सोच्दैछु कालोपत्रे सडकमा भेरी किनारै—किनार हिड्दा मन कति रमाउछ होला। धुले सडक हेर्न आउने अधिकांश महिला र केटाकेटी थिए, सायद पुरुषहरु रोजगारीका लागि भारतका सहरहरुमा गएका छन्। यातायात सहितका पुर्वाधारले डोल्पालाई विकसित बनायो भने यहाँको स्याउ ओखर जडिबुटी सम्झेर युवाहरु विदेसीने छैनन् होला। बरु पर्यटक बनेर देशभरबाट छुट्टी मनाउन डोल्पा उक्लिनका भिड लाग्छ होला। त्यसपछि त यसरी प्यारासुट रिपोर्टिङको अवसर कुरेर बस्नै पर्दैन।

प्रकाशित : मंसिर १६, २०७५ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्