अस्ताउँदो सूर्यलाई अर्घ

सन्दर्भ : छठ महापर्व 
श्यामसुन्दर शशि

जनकपुर — मिथिलाञ्चलमा छठ पर्वमा मंगलबार अस्ताउँदो सूर्यको पूजा गरिएको छ । आइतबार नहाय–खायसँगै सुरु भएको चार दिवसीय महापर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर, महाराजसर, गोरधोइ, रुकमिनीसर, रत्नसागर सहित दूधमती र जलाद लगायतका नदीहरुमा हजारौँ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए। व्रतालुहरुको बढ्दो संख्याको कारण गंगासागरमा सोमबारदेखिसजावटका सामग्रीहरुराख्ने क्रम सुरु भएको थियो।

जनकपुरको मध्यमा पर्ने तथा चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ। यसका साथै अंगराज सर, धनुषसागर तथा रत्नसागर लगायतका क्षेत्रहरुमा पनि हजारौँले छठ मनाउँदै छन् । छठ पूजा हुने जलाशयसिगाँरिएकाे छ ।

छठ मान्ने तथा दर्शनार्थीहरुको घुइँचोका कारण जनकपुर क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो। स्थानीय प्रशासनले शिवचौकमा बेरिकेटर लगाएर मोटरसायकल,टेम्पो तथा जीप,कार लगायतका ठूला सवारीहरुको प्रवेश निषेध गर्नु परेको थियो।

पछिल्लो समय जनकपुरको छठ हेर्न आउनेको संख्याबढ्दो छ । होटल वेलकमका सञ्चालक विजय झुनझुनवालका अनुसार देशी/विदेशी पर्यटकहरुका कारण यहाँका सम्पूर्ण होटल,लज तथा धर्मशालाहरु भरीभराऊ छन्।

छठ महापर्वमा सहभागी हुन हजारौँ श्रद्धालु विभिन्न सरोवरहरुको डिलमा भेला भई अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए।

सुस्वास्थ्य,दीर्घजीवन,सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ। पण्डित वैद्यनाथ झाका अनुसार छठ पूजा गर्दा कुष्ट जस्ता चर्मरोगबाट मुक्ति हुन्छ।

व्रतालुहरु आईतबार पवित्र जलाशयहरुमा स्नानगरी चोखो खानेकुरा खाएका थिए। पर्वको दोस्रो दिन सोमबार दिनभरी उपवास बसी राति गुलियो पूरी,खीर, नून नहालेको तरकारी खाए। जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ। षडनापछि निराहार व्रतालुहरुले मंगलबार संझुका अर्घ दिएका छन् भने बुधबार बिहानसूर्यलाई अर्घ प्रदान गरी चार दिवसीय महापर्व विधिवत समापन गर्नेछन्।

यस लौकिक पर्वमा केरा,नरिवल,ऊखु,सुन्तला,नेवुवा,बेसार,चामल र गहुँकोपीठो तथा सख्खरबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया लगायतका परम्पारिक परिकारहरुको प्रयोग प्रसादको रुपमा हुन्छ। पूजा सामग्रीहरु स्थानीय स्तरमा निर्मित माटाको भाडो तथा बाँसको टोकरी, कनसुपती आदिमा राखेर पूजास्थलसम्म पुर्‍याइन्छ।

छठ महापर्वमा केराको अत्यधिक प्रयोग हुन्छ। स्थानीय उत्पादन अपुग भएपछि पूर्वी नेपालको इटहरी र भन्टावारीसँगै भारतको पटना,मोकामा,हांजीपुर तथा असामबाट करोडौँको केरा आपूर्ति गरिएको फलफूल व्यावसायीहरु बताउँछन्।

जनकपुरको अतिरिक्त धनुषाका प्रत्येक गाउँमा धूमधामसँग छठ महापर्व मनाइदै छ। पूर्वी धनुषाको कमला,मध्य धनुषाको जमुनी,जलाद लगायत पोखरी तथा जलाशयहरुमा पनि श्रद्धापूर्वक सूर्यलाई अर्घ प्रदान गरिएको छ। पूजास्थलहरुलाई सफा सुग्घर गर्नुका साथै सिगाँरिएका छन्।

प्रकाशित : कार्तिक २७, २०७५ १८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रधानमन्त्रीले उद्घाटन गरेको 'बिजुली बस' पुल्चोकमै थन्कियो

विद्या राई

काठमाडौँ — महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरेका थिए ।

उक्त बसहरु एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको थियो। तर, लुम्बिनी विकास कोषले लिखित सम्झौता साझालाई नदिएको कारण सञ्चालनमा ल्याउन नसकिएको साझाका अध्यक्ष कनकमणि दीक्षितले बताए। ‘दसैं-तिहारले हुन सक्छ लुम्बिनी विकास कोषसँग लिखित सम्झौता हुन पाएको छैन, सम्झौताको पखाईमा छौं,’ उनले भने।

लुम्बिनी-काठमाडौं तथा अन्य जुनसुकै ठाउँमा बिजुलीबस परीक्षण तथा सञ्चालन गर्न साझा सदैव इच्छुक रहेको बताउँदै उनले भने, ‘नेपालको अर्थतन्त्र, जनस्वास्थ्य र वातावरणका लागि बिजुलीबस प्रयोग अपरहार्य छ।’

उद्घाटनका दिन प्रधानमन्त्री ओली, पर्यटनमन्त्री रविन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी व्यक्तिहरुले पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ चढेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गरेका थिए। सोही कार्ययोजनाअन्तर्गत रहेर साझाले बिजुली बस चलाउने अध्यक्ष दीक्षितले बताए।

बिजुली बसमा के छ सुविधा?
यो बस एकपटक पूरा चार्ज गरेपछि दुई सय किलोमिटर कुद्छ। पूरा चार्ज गर्न तीनदेखि चार घण्टा लाग्छ। चिनियाँ कम्पनी बिवाइडीको उक्त गाडी चालकसहित बसको सीट क्षमता २० रहेको छ। बसमा उभिएर यात्रा गर्दा ३५ जना अट्छन्।

वातावरणमैत्री बस अपागंमैत्री पनि छ। दुई वटा ह्विलचेयर राख्ने स्थान छ। ह्विलचेयर उकाल्न लिफ्ट राखिएको छ। सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरको सुविधा छ। गाडीको उच्च गति १०० किलोमिटर प्रतिघण्टासम्म छ। यसले १५० किलोवाट पावर र ५५० एनएम टर्क दिन्छ। यसको मूल्य प्रतिगोटा करिब २ करोड परेको थियो।

प्रकाशित : कार्तिक २७, २०७५ १७:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×