२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

उपत्यका भित्रिने यात्रु बढे

रासस

काठमाडौँ — दसैं मनाएर काठमाडौँ उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार असोज २३ गते घटस्थापनादेखि अष्टमीसम्म दसैं मनाउन घर गएका यात्रु दसैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन् । 

उपत्यका भित्रिने यात्रु बढे

महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु भित्रिन थालेका हुन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु भित्रिएका हुन् ।


महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले विजयादशमीको टीका कात्तिक २ गते रहेकाले टीकालगत्तै काठमाडौँ फर्कने यात्रुको संख्यामा वृद्धि भएको जानकारी दिए ।


महाशाखाका अनुसार कात्तिक ३ गते एक लाख सात हजार ३४८, कात्तिक ४ मा एक लाख २१ हजार ६२६, कात्तिक ५ मा एक लाख २३ हजार ९१३ र कात्तिक ६ गते एक लाख १६ हजार ८२ यात्रु उपत्यका भित्रिएका छन् ।


'दसैं सकिएसँगै निजी सवारीसाधनदेखि सार्वजनिक सवारीसाधनसम्म मान्छे भरिएर उपत्यका भित्रिएका छन्,' उनले भने ।


यस्तै कात्तिक ३ मा १२ हजार २७९, कात्तिक ४ मा १६ हजार ४०१, कात्तिक ५ मा १४ हजार ७२४ र कात्तिक ६ मा १४ हजार ५९९ सार्वजनिक सवारी साधन विभिन्न नाका हुँदै काठमाडौँ भित्रिएका छन् । दसैं सकिएलगत्तै उपत्यकाका सडकमा गुड्ने सवारी साधनको संख्यामा समेत वृद्धि भएको महाशाखाले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?