ए डिभिजन लिगका आज दुई खेलः शनिबारदेखि स्थगन

कान्तिपुर संवाददाता

काठमाडौँ — शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार दुई वटा खेल हुँदैछन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार पल्सर सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै मछिन्द्र (सेतो) र च्यासल क्लबका खेलाडीहरू । खेल गोलरहित बराबरीमा टुंगिएको थियो । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः शुरु भएको थियो ।

लिग फुटबलअन्तर्ग शुक्रबार पहिलो चरणका खेल सकिँदैछ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेलहरु अब छठपछि सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । “पहिलो चरणका खेलहरु आज सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैं, तिहार, छठ लगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ”– लिग निर्देशक सञ्जिव मिश्रले भने ।

लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिनुभयो ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

एनआरएनएको पहिलो विधानसभा शुरु

रासस

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए ।

यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो। सल्लाहकार डा. हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा संशोधन प्रस्ताव पेश गरेको घिमिरेले जानकारी दिए। शुक्रबार दिनभर सो प्रस्तावमाथि छलफल हुनेछ।

हाल तीन उपाध्यक्ष रहेकामा थपेर विषयगतरूपमा पाँच उपाध्यक्ष पुर्‍याउने गरी संशोधन प्रस्ताव पेश गरिएको छ। वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न लागिएको हो। एनआरएनएको दुईवर्षे कार्यकाललाई तीन वर्षे बनाउने प्रस्तावमा उल्लेख छ।

प्रतिएक हजार सदस्य बराबर १०० जना सम्मेलन प्रतिनिधि रहने गरेकामा यसपटक त्यसलाई समेत संशोधन गरिने प्रवक्ता घिमिरेले बताए। पारित संशोधन प्रस्ताव तीन महीनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ।

विश्व विज्ञ सम्मेलन

विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ शुक्रबार साँझदेखि शुरु हुँदैछ। साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ। विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्रिया हुनेछ। सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ। कूल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ।

प्रकाशित : आश्विन २६, २०७५ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्