लालपुर्जा छ, भोगाधिकार छैन- समाचार - कान्तिपुर समाचार

लालपुर्जा छ, भोगाधिकार छैन

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका–१, शान्तिनगरका बादी समुदायको आफ्नै नाममा लालपुर्जा छ  । त्यही जग्गामा उनीहरूले घर बनाएर बसेका छन्  ।

वर्षौंदेखि जग्गाको करसमेत बुझाउँदै आएका बादी समुदाय लालपुर्जा भए पनि भोगाधिकारबाट भने वञ्चित छन् ।


आफ्नो नाममा लालपुर्जा भए पनि त्यसको कानुनी रूपमा उपभोग गर्न नपाएको उनीहरूको गुनासो छ । जग्गा धितोमा राखेर ऋण निकाल्न नसक्दा अन्य व्यवसायबाट वञ्चित भएको बादी समुदायको गुनासो छ । अधिकांश घरधुरी शारदा खोला किनारमा गिट्टी/बालुवा कुटेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् । २०५५ सालमा सुकुम्बासी आयोगबाट जग्गा र लालपुर्जा पाएका बादी समुदायले गत वर्ष जनता आवास कार्यक्रममार्फत अनुदानमा घर निर्माण गरेका थिए । पक्की घरमा बस्ने अवसर पूरा भए पनि त्यसको भोगाधिकार आफूमा नरहेको उनीहरूको गुनासो छ ।


मालपोत कार्यालयले बैंक धितोका लागि जग्गा रोक्का गर्न नमान्दा ऋण नपाएको स्थानीय सिर्जना बादी मल्लले बताइन् । उनले कर्जा निकाल्न नपाउँदा व्यवसाय गर्न नपाएको जनाइन् । ‘हामीले जग्गाको प्रत्येक वर्ष तिरो तिर्दै आएका छौं, तर आवश्यक परेको बेला ऋण निकाल्न सकिँदैन,’ उनले भनिन्, ‘लालपुर्जा पाउनु/नपाउनु बराबरै भयो ।’


स्थानीय सुनीता नेपालीले कुनै व्यवसाय गर्न नपाउँदा जीविकोपार्जनमा असर परिरहेको बताइन् । उनले बैंकले कर्जा दिन खोजे पनि मालपोत कार्यालयले जग्गा रोक्का नगर्दा आफूहरू समस्यामा परेको बताइन् । ‘जग्गा भए पनि विभिन्न काममा बाधा आइरहेका छन्,’ उनले भनिन्, ‘सरकारले केही व्यवस्था गरे व्यावसाय गरी आत्मनिर्भर बन्न सहयोग हुने थियो ।’ उनले सुकुम्बासी आयोग दिएको लालपूर्जा बेकामे बनेको बताइन् । उनका अनुसार बादी समुदायका अधिकांश बेरोजगार छन् । बेरोजगारी समस्याकै कारण अहिले अधिकांशले शारदा खोलाको बालुवा निकालेर जीविकोपार्जन गरिरहेको उनको भनाइ छ ।


स्थानीय गीता नेपालीले घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सीपमूलक तालिम लिएको बताइन् । उनले ९ वर्षअघि एसएलसी उत्तीर्ण गरेको बताइन् । ‘रोजगारी कतै पाइएन,’ उनले भनिन्, ‘सिकेको सीप प्रयोग गरी व्यवसाय गर्न खोजे पनि कर्जा नपाउँदा अभावमा बस्नुपरेको छ ।’ जिल्ला मालपोत कार्यालय प्रमुख लीलाबहादुर बस्नेतले सरकारले प्रतिबन्ध लगाएका कारण सुकुम्बासी आयोगले दिएको पुर्जाको जग्गा रोक्का नहुने बताए । उक्त जग्गा बिक्री गर्न नपाइने व्यवस्था छ । ‘बैंकमा धितो राख्नु बिक्री गर्नुसरह हो,’ उनले भने, ‘माथिल्ला निकायको स्पष्ट नीति निर्देशनबिना हामी अन्य केही व्यवस्था गर्न सक्ने अवस्थामा छैनौं ।’

प्रकाशित : आश्विन २४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

विश्व गरिब बन्न सक्छ : मुद्रा कोष

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत प्रक्षेपण
कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीन–अमेरिकाबीच जारी व्यापार युद्धले विश्व झन्झन् गरिब बन्ने चेतावनी दिएको छ  । विश्व अर्थतन्त्रको समीक्षा गरिएको वल्र्ड इकोनोमिक आउटलुक मंगलबार सार्वजनिक गर्दै कोषले खतराको संकेत गरेको हो  ।

नेपालको अर्थतन्त्र आगामी वर्ष ५ प्रतिशतले बढ्ने कोषको अनुमान छ । सन् २०२३ मा नेपालको अर्थतन्त्र वृद्धि ४ दशमलव ३ प्रतिशत मात्रै रहने प्रक्षेपण गरिएको छ । आगामी वर्ष नेपालमा ४ दशमलव ६ प्रतिशतले महँगी बढ्ने कोषले जनाएको छ ।


आफूले यसअघि प्रक्षेपण गरेभन्दा विश्व अर्थतन्त्रको वृद्धिदर कम हुने तथ्यांक सार्वजनिक गरेको छ । दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच चर्किएको व्यापार द्वन्द्वले विश्व अर्थतन्त्रमा प्रभाव पार्ने प्रतिवेदनमा जनाइएको छ ।


दुई देशबीच हुने व्यापार विवादका कारण विश्वभरका परिवार, व्यापार र अर्थतन्त्र प्रभावित हुने कोषको अनुमान छ ।


‘व्यापार नीतिले राजनीति प्रतिबिम्बित गर्छ र धेरै देशमा राजनीतिक विवादको समाधान भएको छ जसका कारण थप जोखिम देखिएको छ,’ कोषका प्रमुख अर्थशास्त्री मौरिक अब्स्फेल्डले भने । भर्खरै मात्र चीनले अमेरिकाबाट आफ्नो देश भित्रिने ६० अर्ब बराबरका विभिन्न सामानमा नयाँ भन्सार दर कायम गरेको छ ।


चीनको कदमलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नीतिका कारण आफ्ना देशका किसान, उद्योगी र व्यवसायी प्रभावित भए चीनविरुद्ध नयाँ खाले कदम चालिने घोषणा गरेका छन् ।


गत महिनादेखि चीनबाट अमेरिका भित्रिने करिब २ सय अर्ब डलर बराबरका सामानमा अमेरिकाले लगाएको भन्सार दर कार्यान्वयनमा आएको छ । कोषका अनुसार सन् २०१८ र १९ मा विश्व अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतका दरले बढ्नेछ । यसअघि कोषले ३ दशमलव ९ प्रतिशतका दरले विश्व अर्थतन्त्र बढ्ने अनुमान गरेको थियो ।


न्यून दरमा विश्व अर्थतन्त्रको वृद्धिको असर युरोपियनसहित उदाउँदा धेरै देशमा पर्नेछ ।


भेनेजुयलाको अर्थतन्त्र आगामी वर्ष लगातार छैठौं वर्ष संकटबाट गुज्रँदै एक करोड प्रतिशतले महँगी बढ्ने अनुमान छ ।


भर्खरै मात्र कोषबाट ऋण स्विकारेको अर्जेन्टिनाको अर्थतन्त्र पनि आगामी वर्ष खुम्चने अनुमान प्रतिवेदनमा गरिएको छ ।


चीन र अमेरिकाबीच एक अर्को देशबाट भित्रिने सामानमा भन्सार महसुल लगाउने द्वन्द्वका कारण दुवै देशको अर्थतन्त्र वृद्धिमा असर गर्नेछ । विश्वका सबै पक्षले जीवनको गुणस्तर, शिक्षा सुधार र असमानताको अन्त्यका लागि काम नगरे विश्व झन्झन् गरिब र खतरनाक हुँदै जाने कोषले जनाएको छ ।


अमेरिकाले आफ्नो देशमा भित्रिने सामानमा २५ प्रतिशत भन्सार महसुल कायम राखे विश्व अर्थतन्त्रलाई दिगो प्रभाव पर्ने चेतावनी पनि कोषले दिएको छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×