कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व गरिब बन्न सक्छ : मुद्रा कोष

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत प्रक्षेपण
कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीन–अमेरिकाबीच जारी व्यापार युद्धले विश्व झन्झन् गरिब बन्ने चेतावनी दिएको छ  । विश्व अर्थतन्त्रको समीक्षा गरिएको वल्र्ड इकोनोमिक आउटलुक मंगलबार सार्वजनिक गर्दै कोषले खतराको संकेत गरेको हो  ।

विश्व गरिब बन्न सक्छ : मुद्रा कोष

नेपालको अर्थतन्त्र आगामी वर्ष ५ प्रतिशतले बढ्ने कोषको अनुमान छ । सन् २०२३ मा नेपालको अर्थतन्त्र वृद्धि ४ दशमलव ३ प्रतिशत मात्रै रहने प्रक्षेपण गरिएको छ । आगामी वर्ष नेपालमा ४ दशमलव ६ प्रतिशतले महँगी बढ्ने कोषले जनाएको छ ।


आफूले यसअघि प्रक्षेपण गरेभन्दा विश्व अर्थतन्त्रको वृद्धिदर कम हुने तथ्यांक सार्वजनिक गरेको छ । दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच चर्किएको व्यापार द्वन्द्वले विश्व अर्थतन्त्रमा प्रभाव पार्ने प्रतिवेदनमा जनाइएको छ ।


दुई देशबीच हुने व्यापार विवादका कारण विश्वभरका परिवार, व्यापार र अर्थतन्त्र प्रभावित हुने कोषको अनुमान छ ।


‘व्यापार नीतिले राजनीति प्रतिबिम्बित गर्छ र धेरै देशमा राजनीतिक विवादको समाधान भएको छ जसका कारण थप जोखिम देखिएको छ,’ कोषका प्रमुख अर्थशास्त्री मौरिक अब्स्फेल्डले भने । भर्खरै मात्र चीनले अमेरिकाबाट आफ्नो देश भित्रिने ६० अर्ब बराबरका विभिन्न सामानमा नयाँ भन्सार दर कायम गरेको छ ।


चीनको कदमलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नीतिका कारण आफ्ना देशका किसान, उद्योगी र व्यवसायी प्रभावित भए चीनविरुद्ध नयाँ खाले कदम चालिने घोषणा गरेका छन् ।


गत महिनादेखि चीनबाट अमेरिका भित्रिने करिब २ सय अर्ब डलर बराबरका सामानमा अमेरिकाले लगाएको भन्सार दर कार्यान्वयनमा आएको छ । कोषका अनुसार सन् २०१८ र १९ मा विश्व अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतका दरले बढ्नेछ । यसअघि कोषले ३ दशमलव ९ प्रतिशतका दरले विश्व अर्थतन्त्र बढ्ने अनुमान गरेको थियो ।


न्यून दरमा विश्व अर्थतन्त्रको वृद्धिको असर युरोपियनसहित उदाउँदा धेरै देशमा पर्नेछ ।


भेनेजुयलाको अर्थतन्त्र आगामी वर्ष लगातार छैठौं वर्ष संकटबाट गुज्रँदै एक करोड प्रतिशतले महँगी बढ्ने अनुमान छ ।


भर्खरै मात्र कोषबाट ऋण स्विकारेको अर्जेन्टिनाको अर्थतन्त्र पनि आगामी वर्ष खुम्चने अनुमान प्रतिवेदनमा गरिएको छ ।


चीन र अमेरिकाबीच एक अर्को देशबाट भित्रिने सामानमा भन्सार महसुल लगाउने द्वन्द्वका कारण दुवै देशको अर्थतन्त्र वृद्धिमा असर गर्नेछ । विश्वका सबै पक्षले जीवनको गुणस्तर, शिक्षा सुधार र असमानताको अन्त्यका लागि काम नगरे विश्व झन्झन् गरिब र खतरनाक हुँदै जाने कोषले जनाएको छ ।


अमेरिकाले आफ्नो देशमा भित्रिने सामानमा २५ प्रतिशत भन्सार महसुल कायम राखे विश्व अर्थतन्त्रलाई दिगो प्रभाव पर्ने चेतावनी पनि कोषले दिएको छ ।

प्रकाशित : आश्विन २४, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?