नागढुंगा–पिपलामोड सडक सुचारु 

विमल खतिवडा

काठमाडौँ — नागढुंगा–पीपलामोड सडकखण्डमा पिच निर्माण भएसँगै दुइतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक पिच गर्न सुरु गरिएपछि दैनिक सवारी आवागमन प्रभावित बन्दै आएको थियो ।

शनिबार राती पिच निर्माणको काम सकिएपछि सवारी आवागमन सहज भएको सडक डिभिजन कार्यालय काठमाडौं–२ ले जनाएको छ ।


सडक पिचको काम असोज १५ गते रातीबाट थालिएको थियो । डिभिजन प्रमुख देवकुमार तामाङका अनुसार पिच सुरु भएको पहिलो दिन राती ८ बजेदेखि बिहान ५ बजे सम्म सवारी बन्द गरिएको थियो । दोस्रो दिनबाट एकतर्फी यातायात खोलेर पिच गरिएको हो ।


काठमाडौं प्रवेश गर्ने मुख्य नाका पीपला मोडदेखि नागढुंगा सम्म २ किमी सडक पिच गरिएको हो । यो खण्डमा धेरै खाल्डाखुल्डी भएकाले यात्रुले दैनिक सास्ती खेप्नु पर्ने बाध्यता थियो । पिच निर्माणको काम सकिएपछि निर्वाध रुपमा यातायात सुचारु भएको नागढुंगामा ट्राफिक प्रमुख हरी भट्टराईले बताए ।


यो खण्ड भएर दैनिक करिब १० हजार सवारी साधन आवतजावत गर्ने गरेका छन् । चाडबाडको समय नजिकिदै गर्दा पिच निर्माणको काम थालिएको थियो । जामले गर्दा यात्रुलाई राजधानी प्रवेश गर्न एक दिन बढी समय लाग्ने गरेको थियो ।

प्रकाशित : आश्विन २२, २०७५ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

लोकसेवा आयोगमा रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

रासस

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ । 

आगामी असोज ३१ गतेबाट आयोगले नयाँ पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यतालिका भए पनि मन्त्रालयले विवरण उपलब्ध गराउन ढिलाइ गरेको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयका ढिलाइका कारण पदपूर्तिका लागि रिक्त पदमा विज्ञापन गर्नसमेत समस्या पर्ने भएको छ ।

उनले असोज ७ गतेभित्र पदपूर्ति गर्नुपर्ने विवरण आयोगमा पठाउनुपर्ने भए तापनि अझै नपठाएको बताए । 'हाम्रो वार्षिक कार्यतालिकाअनुसार विज्ञापन गर्नका लागि विवरण पठाउन पटकपटक मन्त्रालयलाई आग्रह गरेका छौँ' उनले भने,'तर अहिलेसम्म विवरण पठाएका छैनन् । मन्त्रालयले बिहीबारसम्म पनि विवरण नपठाए विज्ञापन गर्न सक्दैनौँ ।'

आयोगले सामान्य प्रशासन, स्वास्थ्य सेवा, संसद सेवा र न्याय सेवाका परीक्षा लिई सरकारलाई योग्य उम्मेदवार सिफारिश गर्ने गरेको छ । आयोगमा अहिलेसम्म न्याय सेवा आयोगले मात्र सो सेवामा रिक्त पदपूर्तिको लागि विवरण उपलब्ध गराएको उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार यही असोज ३१ गतेबाट आयोगले सरकारी निकायका विभिन्न पदका लागि विज्ञापन गर्ने कार्यतालिका रहेको छ । साउनमा प्रकाशित आयोगको कार्यतालिकाअनुसार असोज ३१ गते सहसचिव र उपसचिवको विज्ञापन गर्ने योजना रहेको छ ।

आयोगले वर्षेनी सरकारबाट नियुक्त हुने विभिन्न पदको परीक्षा सञ्चालन गरेर नियुक्तिका लागि सिफारिश गर्ने गरेको छ । उपसचिव सुवेदीका अनुसार वर्षेनी करीब आठ हजार कर्मचारी आयोगले परीक्षा लिने गर्दछ ।

मुलुक संघीयतामा गइसकेपछि गत वर्ष मन्त्रालयले एकात्मक संरचनामा दरबन्दी पठाएकाले आयोगले पनि पुरानै संरचनामा विज्ञापन गरेको थियो । 'गत वर्ष एकात्मक संरचनामा हामीले विज्ञापन गरेका थियौँ' उपसचिव सुवेदीले भने,'अहिले पनि मन्त्रालयले जस्तो संरचनामा दरबन्दी विवरण पठाउँछ त्यसैगरी विज्ञापन गर्नेछौँ ।' सरकारले स‌ंघ, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले विवरण तयार भइसकेकाले चाँडै नै आयोग पठाउने जानकारी गराए ।

'हामीले रिक्त दरबन्दीको विवरण संकलन गरेका छौँ',उनले भने,'हामी एक दुई दिनमा आयोगलाई विवरण पठाउछौँ ।' यसैगरी आयोगका सचिव गुरुङले प्रदेश लोकसेवा गठन नहुँदासम्म आफूहरुले नै प्रदेश र स्थानीय तहको आवश्यक कर्मचारीको विज्ञापन गरी उम्मेदवार सिफारिश गर्ने बताए ।

कर्मचारी समायोजन ऐन २०७४ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त पदमा प्रदेश र स्थानीय तहले सरकारमार्फत माग गरेको पदपूर्तिको लागि उम्मेदवार सिफारिश आयोगले गर्न सक्ने उल्लेख गरिएको छ ।

प्रदेश लोकसेवा ऐनको मस्यौदा आयोगले बनाएर छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । संविधानमा प्रदेश लोकसेवा आयोग गठन प्रदेशसभाबाट गरिने उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन २२, २०७५ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×