कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौबिसे–नागढुंगा सडक मर्मतले रातभरि सडकमै

यात्रुको आक्रोश– कहिलेसम्म यस्तो कष्ट सहने ?
ठेक्का असार मसान्तमै काम सक्ने गरी, काम बल्ल सुरु
विमल खतिवडा

काठमाडौँ — नसासम्बन्धी रोगको उपचार गर्न मंगलबार बुटबल खैरहनीबाट हिँडेका ७३ वर्षीय भीमलाल भण्डारी बुधबार बिहानसम्म काठमाडौं आइपुगेका थिएनन् । बिहान करिब ५ बजे उनी नौबिसे–नागढुंगा उकालोको झयाप्ले खोलामा थिए ।

नौबिसे–नागढुंगा सडक मर्मतले रातभरि सडकमै

छिटो अस्पताल पुग्न छिमेकी प्रदीप भण्डारीको गाडीमा अघिल्लो दिन बिहान ६ बजे हिँडेका उनी भोलिपल्ट बिहान गाडीभित्रै छटपटाइरहेका थिए ।

एकतर्फी गाडी रोकेर सडक कालोपत्रे गर्दै कामदार । तस्बिर : कबिन अधिकारी


काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्राय: जाम भइरहन्छ । तर, अहिले अरू बेला जस्तो छैन । रातभरि गाडी बाटामै लाम बसेका छन् । मर्मतका लागि सडक एकतर्फी गरिएपछि रोकिएका गाडीको लस्कर मंगलबार ३० किलोमिटर लामो भएको थियो । भण्डारी यसकै मारमा परेका हुन् । ‘बल्लबल्ल दाउन्नेको जाम छिचोलेर आइयो तर काठमान्डु पुग्न सकिएन,’ भीमलालका छोरा श्यामले भने, ‘रातभर गाडीमै बस्नुपर्‍यो, खाना खाने ठाउँसमेत पाइएन । बिरामी बुबालाई १० घण्टासम्म सडकमा बस्नुपर्दा साह्रै गाह्रो भयो ।’

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा प्राय: जाम भइरहन्छ । तर, अहिले अरू बेला जस्तो छैन । रातभरि गाडी बाटामै लाम बसेका छन् । मर्मतका लागि सडक एकतर्फी गरिएपछि ३० किलोमिटरसम्म जाम हुन थालेको छ । राजधानी हिँडेका यात्रु भोलिपल्ट मात्रै आइपुगेका छन् । बिरामीहरूको बिजोग भएको छ ।


भैरहवाबाट १२ जना यात्रु लिएर हिँडेका माइक्रो बसचालक अर्जुन तिवारी पनि यही जाममा फसे । ‘हिजो साँझ ८ बजे झ्याप्ले खोला आइपुगेको थिएँ,’ बुधबार बिहानसम्म जाम खुल्ने प्रतीक्षामा रहेका उनले भने, ‘रातभरि न मैले खान पाएँ न यात्रुले । दसैंको मुखमा पिच गरेर हामीलाई किन यस्तो बिजोगमा पारेको होला ?’


मंगलबार साँझ नौबिसेबाट उकालो लागेका गाडी राति १२ बजे बल्ल नागढुंगा आइपुगेका थिए । ८ बजेभन्दा पछि आइपुग्ने गाडी बिहानसम्म पनि बाटैमा थिए । नौबिसे–नागढुंगा खण्डमा खासै होटल छैनन् न त प्रशस्त खानेकुराका पसल । जामको हेक्का नभएकाले प्राय: यात्रुले खानेकुरा बोकेका थिएनन् ।

स्याङ्जाका निश्चल अर्याल यसैगरी सडकमा अलपत्र परे । मंगलबार राति ११ बजे वैदेशिक रोजगारीका लागि दुबई उड्न आएका उनी साँझ ७ बजे नागढुंगा आइपुगे । ‘उकालामा आएर बस रोकियो । कतै ट्याक्सी पाइन्छ कि भनेर पैदलै यहाँसम्म आएँ तर पाइएको छैन,’ उनले कान्तिपुरसँग भने । बिहान ७ बजे घरबाट हिँडेका उनी दिउँसो ३ बजे नौबिसे आइपुगेका थिए । लगेजसहित सडकमा उभिइरहेका उनले भने, ‘यो जाम छिचोल्न नसके विमान छुट्छ ।’


पोखराबाट एम्बुलेन्समा बिरामी बोकेर आएका चालक प्रेमबहादुर गुरुङ पनि सडकमै रोकिए । मंगलबार बिहान ६ बजे पोखराबाट हिँडेका उनी दिउँसो साढे २ बजे मात्र नागढुंगा आइपुगे । ‘नौबिसेबाट जाममा परियो, एम्बुलेन्समा मुटुका बिरामी थिए,’ बुधबार पोखरा फर्किने क्रममा नागढुंगाको जाममा भेटिएका उनले भने, ‘गंगालाल हृदयरोग केन्द्र पुर्‍याउन साह्रै सकस भयो ।’ नागढुंगाबाट सुरु हुने ओरालामा मर्मत भइरहेकाले सडकको दुवैतर्फ जाम छ । ‘साँझ बल्ल अस्पताल पुर्‍याइयो, बिरामीका आफन्त निकै आत्तिए,’ उनले भने ।


रातभर सडक खुल्ने आसमा गाडीमा बसेका यात्रु बिहान आक्रोशित थिए । ‘चाडबाडकै बेला यसरी सडक रोकेर किन पिच गर्नुपरेको ?’ धेरैको प्रश्न थियो, ‘हामीले कहिलेसम्म यस्तो कष्ट सहने ? सडकमा भोकभोकै कहिलेसम्म बस्नुपर्ने हो ?’


अधिकांश यात्रु र चालकलाई सडक बन्द गरेर पिच गरिँदै छ भन्ने जानकारी थिएन । सडकमा खटिएका प्रहरीमाथि यात्रुको आक्रोश पोखिइरहेको देखिन्थ्यो । खाद्यान्न, तरकारी, दूध, फलफूल बोकेका गाडीको लस्कर निकै लामो देखिन्थ्यो । यही लस्करको बीचमा थिए, सर्लाहीबाट मकैको ट्रक लिएर सोमबार हिँडेका रविन बस्नेत । मंगलबार साँझ अबेर उनी नागढुंगानजिकको उकालामा थिए । ‘गल्छीदेखि जाम सुरु भयो,’ उनले सुनाए, ‘चाँडो फर्किने भनेर हिँडेको, नसोचेको जाममा परियो ।’


यो सडकमा दैनिक १० हजार सवारी साधन आवतजावत गर्ने ट्राफिक प्रहरीको अनुमान छ । दसैंजस्तो ठूलो चाडका बेला यो संख्या झन् बढ्छ । तर, असारमा सकिनुपर्ने गरी ठेक्का लगाइएको सडक मर्मतको काम बल्ल थालिएको छ । सडक डिभिजन कार्यालय काठमाडौं २ का अनुसार सडक पिचको काम १५ असोजको रातिबाट सुरु भएको हो ।


२ किमि सडक पिच गर्नुपर्ने भए पनि अहिलेसम्म ५ सय मिटर मात्र सकिएको छ । नागढुंगा–पिपलामोडसम्मको पिच गर्ने ठेक्का कृश र महाकाली जेभीले लिएको छ । ठेक्का रकम १ करोड ५३ लाख हो । ‘एकतर्फी रूपमा सवारी साधनलाई जान दिएर पिच गरिएको छ,’ सडक डिभिजन २ का डिभिजन प्रमुख देवकुमार तामाङले भने, ‘सरासर काम गर्न पाए ६ दिनमा सकिन्छ ।’


असार सुरुमा ठेक्का लागेको थियो, असार मसान्तमै सक्नुपर्ने गरी । ‘बर्खाका कारण पिच गर्न सकिएन,’ तामाङले भने, ‘त्यसैले असोज मसान्तसम्म सक्ने गरी म्याद थप गरिएको छ ।’ अहिले पनि जामले गर्दा पिच गर्न समस्या भएको उनले बताए । असोज मसान्तसम्म म्याद भए पनि दसैंमा घर जाने यात्रुले चिल्लो पिचमा गुड्न पाउने उनले दाबी गरे । एक साताका लागि यो सडकमा राति ८ देखि ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।


विकल्प सीतापाइला–धार्के
नागढुंगा–नौबिसे खण्डको विकल्प धार्के–सीतापाइला सडक बन्ने धादिङ सडक कार्यालयको भनाइ छ । सडक डिभिजन कार्यालय धादिङका प्रमुख हरि ठकुरीले यो सडक ग्राभेल गर्न ठेक्का भइसकेको बताए । ‘खाल्डाखुल्डी पुरेर सम्याउने काम भइसकेको छ, ग्राभेल भएपछि यो सडकले विकल्पको काम गर्नेछ,’ उनले भने । यो सडक २३ किलामिटर छ ।

काठमाडौंबाट भीमढुंगासम्म १० र धादिङतर्फ १३ किलोमिटर । ‘यो वैकल्पिक मार्गकै रूपमा खुलेको हो,’ उनले भने, ‘२३ किलोमिटरसम्म गत असारअघि ट्रयाक खुलिसकेको थियो, वर्षाले ठाउँ–ठाउँमा कटान गरेको छ । वाल लगाउने, कजवे बनाउने काम बाँकी छ ।’ कच्ची बाटो भएकाले मालवाहक गाडी चलाउन नमिले पनि हलुका सवारीका लागि यो उपयुक्त हुने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १८, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?