कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खलोले परिवार पाल्न धौधौ

कान्तिपुर संवाददाता

सल्यान — जिल्लाका ग्रामीण भेगमा बसोबास गर्ने दलित समुदाय वैकल्पिक व्यवस्था नहुँदा खलोप्रथामै निर्भर छन् । खलो प्रथा अगालिरहेका दलितले वर्षभरी काम गरेबापत दुईपटक अन्न ज्याला पाउँछन् । त्यसले जीविकोपार्जनमै धौधौ भइरहेको उनीहरूको गुनासो छ ।

खलोले परिवार पाल्न धौधौ

केही दलित समुदायले खलोप्रथा त्यागे पनि आर्थिक अबस्था कमजोर भएका, अरु सीप नभएका र शिक्षाबाट वञ्चित भएकाहरू परम्परागत पेसा अँगाल्न बाध्य छन् । शारदा नगरपालिका १४, डाँडागाउँका ४४ वर्षीय पुसमान कामीले बरलामा सात वर्षदेखि आरन सञ्चालन गरिरहेका छन् । ‘यसबाट जीविका चलाउनै धौधौ छ, छोराछोरीलाई राम्ररी पढाउन सकिएको छैन,’ उनले भने, ‘आर्थिक समस्याका कारण पेसा परिवर्तन गर्न सकेको छैन ।’ उनले आधुनिक मेसिनको व्यवस्था भए आत्मनिर्भर बन्न सजिलो हुने बताए ।


विकल्प नहुँदा खलो प्रथा त्याग्न नसकेको स्थानीय मनवीर बिकले बताए । परम्परागत आरनमा स्थानीयका हँसिया, खुर्पा, खुकुरी, बन्चरो, कुटो कोदालोलगायत सामग्री निर्माण र मर्मत गरेर जीविकोपार्जन गरिरहेको उनी बताउँछन् । एक घरबाट वर्षमा १०/१२ पाथी मकै, गहँु र धान ज्यालाबापत आउने गरेको बिकले बताए । खलोको साटो ज्याला माग गर्न सुरु गरे पनि नपाएको उनले गुनासो गरे । ‘गाउँका अधिकांश स्थानीयवासी खेतीमै निर्भर भएकाले ज्याला दिन मान्दैनन्,’ उनले भने, ‘घरघर डुलेर अन्न उठाउनुपर्ने बाध्यता छ ।’


खलंगाका पुरमान कामीले परम्परागत आरन चलाएर घरखर्च चलाउन समस्या भएपछि भारतमा मजदुरीका लागि गए पनि फर्किएर पुरानै पेसा अँगालेको बताए । ‘भारतमा दुई वर्ष बसे पनि राम्रो काम पाइएन,’ उनले भने, ‘फेरि गाउँमै फर्किएर दुई वर्षदेखि खलोप्रथा अँगाल्न बाध्य छु ।’ फलामका भाँडाकुडा बनाउन ल्याएकाले भनेजति खाद्यान्न नदिँदा र कोइला जंगलमा सित्तैमा पाउन छाडेका कारण पेशा संकटमा परेको उनले गुनासो गरे । स्थानीयको हँसिया, हतौडा, कुटो, कोदालोलगायत फलामका सामग्री मर्मत गरेर ६ जनाको परिवार पाल्न बाध्य भएको उनको भनाइ छ ।


सामुदायिक वनले काठ कटानमा कडाइ गरेका कारण समस्या भएको उनी बताउँछन् । कसैको सहयोगले आधुनिक मेसिन उपलब्ध भए विभिन्न सजावट सामग्री बनाउन सक्ने उनको दाबी छ । ‘पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्नसके राम्रो फाइदा हुने देखिन्छ,’ उनले भने, ‘तालिम र उपकरण सहयोगका लागि विभिन्न निकायमा माग गरे पनि बेवास्ता भइरहेको छ ।’

प्रकाशित : आश्विन १५, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?