कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५२ पोखरी, ५३ टाकुरी

रुकुमपूर्वमा अझै पनि थुप्रै ताल र पोखरी सूचीकृत भइसकेका छैनन् । पर्यटक लोभ्याउने क्षमता राख्ने यी सम्पदालाई बढीभन्दा बढी प्रचारप्रसार र पूर्वाधार विकास गर्नुपर्ने देखिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले बजेटै छुट्याएर विभिन्न योजना तय गरेका छन् ।
हरि गौतम

काठमाडौँ — साबिक रुकुम थुप्रै पोखरी र टाकुरीले परिचित थियो । नयाँ राज्य संरचनाअनुसार जिल्ला टुक्रिएसँगै अहिले यो वैभव रुकुमपूर्वको भागमा आइपुगेको छ । यो कान्छो जिल्ला पोखरी, टाकुरी र हिमालले चिनिएको छ ।

५२ पोखरी, ५३ टाकुरी

सिस्ने गाउँपालिकाका ५ र ६ नम्बर वडामा मात्रै ५२ पोखरी, ५३ टाकुरी रहेको स्थानीयले दाबी गरेका छन् । तर, सबै सग्लो अवस्थामा छैनन् । प्रदेश ५ कै अग्लो सिस्ने हिमाल यहीँ पर्छ । रुकुमपूर्वले छुट्टै जिल्लाका रूपमा काम थालेको असोज २० गते एक वर्ष पुग्दै छ ।

यहाँ १६ ताल छन् । साबिक जिविसले तिनको सूची सार्वजनिक गरिसकेको छ । अधिकांश ताल हिमालमा छन्, गाउँदेखि टाढा । तीन स्थानीय तह रहेको रुकुमपूर्वले हिमशृंखलासँगै तालैतालको जिल्लाको उपमा पाएको पर्यटनकर्मी पहलसिङ घर्तीमगरले बताए । ‘पत्ता लागेका १६ वटा ताल छन्,’ उनले भने, ‘अनुसन्धान गर्नुपर्ने र सूचीकृत गर्नुपर्ने त कति हो कति !’

सबैभन्दा बढी ताल पुथाउत्तरगंगा गाउँपालिकाको रन्मामैकोटमा छन् । हुकाम, तकसेरामा पनि छन् । पुथाउत्तरगंगामा १२, सिस्नेमा ३ र भूमे गाउँपालिकामा एक तालको पहिचान भएको छ । पुथाउत्तरगंगामा मीं, मुसींउ, खागर, पाटन, पार्वी, बुकीजस्ता हिमताल तथा मार्वी, नम्छैंगो ताल, पुपाल ताल, तोडया ताल, सुनदह, विर्गुमखानी बराहताल छन् । सिस्नेमा कमलदह, गुता दह छन् भने भूमेमा तिलाचन ताल छ ।

पुथाउत्तरगंगाको पार्वी हिमताल ।तस्बिर : सौजन्य मनबहादुर खत्री

सबैभन्दा अग्लो ठाउँमा रहेको मीं हिमताल हो । दोगारी ब्लकआसपासको यो ताल ५ हजार ८१ मिटर उचाइमा छ । अर्को ताल मुसींउ ४ हजार ५ सय २३ मिटर उचाइमा छ । पुपाल हिमशृंखलासँगैको यो ताल बहुमूल्य जडीबुटी यार्चा पाइने बुकीमा पर्छ । यहाँ पाइने अन्य हिमतालमा ४ हजार ५ सयको उचाइको खागर, ४ हजार ५ सय उचाइको पाटन, ४ हजार ४ सय ४५ मिटर उचाइको सुनदह, ४ हजार ४ सय ४० मिटर उचाइको मार्वी छन् ।

यस्तै बुकी हिमताल ४ हजार ४ सय ३५ मिटर, पार्वी ताल ४ हजार ४ सय मिटर उचाइमा पर्छन् । पार्वीको अर्थ भाले हो । नाम्छैंगो ताल ४ हजार ४ सय मिटर र पुपाल ताल ४ हजार ३ सय ५० मिटर उचाइमा छ । पुपालको गहिराइ ६ मिटर रहेको बताइन्छ । यार्सा र गुरिल्ला ट्रेलमा जोडिएको यो ताल हिमाली पदयात्रा गर्न चाहनेका लागि आकर्षणको केन्द्र हो ।

पुथाउत्तरगंगाको तकसेरामा अवस्थित अर्को ताल हो, तोडया । २ हजार ५ सय ९१ मिटरको उचाइमा यो तालमा बाह्रै मास पानी जम्ने स्थानीय बताउँछन् । कोलस्थित बिर्गुमखानी बराहताल २ हजार ४ सय ६० मिटर उचाइमा छ । यो तालको पानी सधैं तामा रंगको देखिन्छ । यहा तामाखानी रहेको र केही समय टक्सार पनि बसेको बताइन्छ ।

सिस्नेमा कमल, ठूलो गुप्ता र सानो गुप्ताबाहेक पनि अरू स–साना नौवटा दह छन् । चर्चित कमल दह समुद्री सतहदेखि १ हजार ५ सय ८१ मिटर उचाइमा छ । यसको गहिराइ औसतमा ३५ मिटर छ । जिल्लाका सजिलै र धेरै पर्यटक पुग्ने ताल यही हो । कमल फुल्ने यस दहमा कमलको जरा र दाना बिक्री गरेर स्थानीयले आम्दानी गर्छन् । नजिकै अर्को छिप्रीदह पनि छ । यहाँ हिउँदमा पानी हु्ँदैन । सिस्ने हिमालको सम्मुख रहेको ठूलो गुप्ता दह ३ हजार ३ सय ५० मिटर उचाइमा छ ।

८ मिटर गहिराइको यो दहमा नुहाउनाले पापनाश हुने धार्मिक विश्वास छ । अर्को दह सानो गुप्तामा सिस्ने हिमालको छाया टल्कन्छ । ३ हजार ४ सय १० मिटर उचाइको यही दह हुँदै सिस्ने हिमालको बेसक्याम्प पुगिन्छ । भूमे गाउँपालिकाको एउटा मात्रै ताल हो, तिलाचन । ३ हजार ४ सय ७५ मिटर उचाइको यो ताल रुकुमपूर्वसहित रोल्पा र बागलुङको संगमस्थलमा पर्छ । मध्यपहाडी लोकमार्गको पाथिहाल्न खण्डबाट एक घण्टा उकालो चढेपछि तिलाचन पुगिन्छ ।

आकर्षक तालतलैया भए पनि प्रचारप्रसार र विकास हुन नसकेको पुथाउत्तरगंगा–१, का भरतकुमार पुनले बताए । अनगिन्ती ताल सूचीकृत हुन बाँकी रहेको उनले जनाए । ‘जिविसले केही तालको सूची त बनाएको छ,’ उनले भने, ‘तर सबैको बनाएर प्रचारप्रसार गर्न सके थप पर्यटक आकर्षित हुने थिए ।’ पुनको बुझाइमा स्थानीयलाई नै परिचालन गर्दा तालको पहिचान, संरक्षण, प्रचारप्रसार र विकास हुन सक्छ । स्थानीय तह, प्रदेश र संघीय सरकारले एकैपटक ताल सूचीकृत गरे प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।

पुथाउत्तरगंगा गाउँपालिकाले यसका लागि कार्यक्रम बनाइएको जनाएको छ । अध्यक्ष ओमप्रसाद घर्तीमगरले गाउँपालिकाको समग्र पर्यटन प्रवद्र्धनका लागि कार्ययोजना बनाइएको बताए । चालू वर्ष पर्यटनतर्फ पाँच लाख बजेट विनियोजन गरी तालतलैयाको पहिचान तथा नापजाँच योजना बनाइएको हो । ‘कतिपय ताल रहेको स्थानको उचाइ नापिएको छ, गहिराइको नाप लिइएको छ,’ घर्तीले भने, ‘कतिपयको तालको पहिचान, उचाइ र गहिराइ नाप्ने काम चालु वर्षमा गर्ने योजना छ ।’

सिस्ने गाउँपालिकाले पर्यटन विकासका लागि गुरुयोजना नै बनाएको छ । २० वर्षे गुरुयोजनामा हरेक वर्ष पर्यटन विकासमा बजेट विनियोजन गरिने र तालहरूको प्रचारसाथै विकासमा लागिने अध्यक्ष कुमारी बरालले बताइन् । गाउँपालिकाको विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका हुने भएकाले त्यसका लागि आवश्यक पूर्वाधारमा ध्यान दिइने उनको भनाइ छ । ‘पर्यटकीय क्षेत्रहरूसम्म पुग्ने सडक वा पैदल मार्ग निर्माण गर्दा तालतलैयासाथै अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा टेवा पुर्‍याउने गरी काम गरिरहेका छौं,’ बरालले भनिन् ।

प्रकाशित : आश्विन ६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?