तातोपानीमा बन्दरगाह निर्माण तीव्र

अनिश तिवारी

लार्चा (सिन्धुपाल्चोक) — चिनियाँ ठेकेदारले बाह्रबिसे तातोपानीको लार्चामा सुक्खा बन्दरगाहको निर्माणलाई तीव्रता दिएको छ । भूकम्पपछि रोकिएको निर्माणले तीव्रता पाएको हो । चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामा पूरा गर्ने लक्ष्य राखेर निर्माण अघि बढाएको छ । 

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको तातोपानी लार्चास्थित सुक्खा बन्दरगाहको संरचनाको निर्माण तीव्र । चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामै काम सक्ने लक्ष्यका साथ बन्दरगाहको कार्य गरिरहेको छ । तस्बिर : अनिश तिवारी/कान्तिपुर

अहिले बन्दरगाहको बिल्डिङ, रङरोगन, कम्पाउन्डलगायतको काम गरिरहेको छ । ‘बन्दरगाहको झन्डै ६० प्रतिशत काम सकिएको छ,’ सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालले भने । उनले बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ, बन्दरगाह जोड्ने पुलको निर्माण थालेको जानकारी दिए ।

ठेकेदार कम्पनीका अनुसार ७ एक्साभेटर, १० वटा टिपरलगायत अत्याधुनिक उपरकणद्वारा प्रयोग गरेर बन्दरगाहको निर्माण भइरहेको छ । नेपाली र चिनियाँका ४५ कामदार दैनिक काममा छन् । बन्दरगाहको एक वर्षमै हस्तान्तरण गर्ने योजना बनाएको उनले जनाए । बन्दरगाहको मुख्य कार्यालय, भन्सार यार्ड, क्वाटरलगायतका प्रमुख संरचना क्षतिग्रस्त छन् । पहिलेको संरचनालाई सम्भार गर्दै थप पुनर्निर्माणको कार्यलाई गति दिइएको छ ।

भूकम्पले क्षतिग्रस्त कोदारी राजमार्ग सीआरसीसीले चाँडै बन्दरगाह सकेर सडक स्तरोन्नति गर्नका लागि कार्ययोजना बनाएको छ । गत भदौ १७ मा भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङलीउसहितको टोलीले बन्दरगाहको कार्य र सडक निरीक्षण गरेको थियो । छुङलीउले चाँडै र राम्रोसँग बन्दरगाहको कार्यलाई सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । भोलिपल्ट बसेको बैठकले भौतिक संरचना पूर्ण रूपमा तयार भए नाका खुल्ने आश्वासन चीनले दिएको थियो । बन्दरगाहको कार्य सकिने अवस्थामा पुगे पनि अन्य संरचनाको अवस्था भने जीर्ण छ ।

चीनको आर्थिक सहयोगमा २०६९ पुसबाट निर्माण सुरु भएको बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ । यसको लागत १ अर्ब २० करोडको रहेको छ । निर्माण थालेको २ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखे पनि जुरे पहिरो, भूकम्प र बाढीले रोक्दै आएको थियो । राजमार्गबाट बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुलको निर्माण अन्तिम चरणमा पुग्न लाग्दा २०७१ मा बाढीले बगाएको थियो । पुन: साउन १७ मा आएको जुरे पहिरो र ०७२ को भूकम्पले बन्दरगाहको निर्माण पूरा ठप्प बनाएको थियो ।

‘नाका खोल्न बन्दरगाह बनाइएको हो कि भन्ने लागेको छ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले भने, ‘सरकारले सडक निर्माणमा जोड दिनुपर्‍यो ।×’ खण्डहरमा परिणत भइसकेको बन्दरगाह चीनले बनाउन थालेपछि नाका खोल्ने संकेत देखेर उत्साहित भएको उनले सुनाए ।

‘बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गतको लिपिङदेखि बन्दरगाह जोड्ने सडक, पुल र अन्य संरचनालाई व्यवस्थित नगरे नाका सञ्चालन हुन सक्दैन,’ श्रेष्ठले भने । सीआरसीसी लागिपरेको छ । बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोस्ट, बैंक र आवासको निर्माण र मर्मत भइरहेके छ । प्रस्तावअनुरूप गोदाम घरमा १ सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । यस्तै सय टन सामग्री एकैपल्ट तौलिने यन्त्र बन्दरगाहमा राखिनेछ ।

प्रकाशित : आश्विन २, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्

आमाबाट नागरिकता पाउनै मुस्किल 

कान्तिपुर संवाददाता

ललितपुर — ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा बसे ।

तर, महिला गर्भवती भएको ८ महिनापछि पुरुष छाडेर भागे । त्यतिबेला महिलाको परिवारले जातीय भेदभावका कारण पुरुषको खोजी गरेनन्, बरु छोरीलाई माइतीमै राखे ।

हाल ती महिलाका छोरा २१ वर्ष पुगिसके । छोराले स्थानीय युवतीसँग प्रेम विवाह गरेर उनको पनि छोरा भएको २ वर्ष बितिसक्यो । तर, बुबाले नै नागरिकता पाएका छैनन् । ‘छोराले २०७० मा तत्कालीन ठेचो गाविसबाट बुबा बेपत्ता भएको उल्लेख गरेर मेरो नाम राखेर जन्मदर्ता गराए,’ बेपत्ता तामाङकी श्रीमतीले भनिन्, ‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर धाएको २ वर्ष बितिसक्यो ।’

आमाको भने वंशजका आधारमा नागरिकता छ । तर, उनका नातिलाई भने विद्यालयमा भर्ना गर्न जन्मदर्ता नभएर समस्या परेको छ ।

ठेचोकै एक महिलाको पनि गलैंचा कारखानामा भेट भएका तामाङ केटासँग प्रेम विवाह भयो । श्रीमान्/श्रीमती भागेर भक्तपुरमा केही वर्ष बसे । तामाङ दम्पतीबाट एक छोरा र एक छोरी जन्मिए । अहिले छोरा २५ वर्ष र २२ वर्षीय छोरी छन् ।

छोरीको विवाह भइसकेको छ । छोरीले श्रीमानको नामबाट नागरिकता पाइन् । तर, उनका दाइले भने अहिलेसम्म पाएका छैनन् । उनी भन्छिन्, ‘संविधानमा आमाको नामबाट नागरिकता दिने व्यवस्था छ । तर, प्रमुख जिल्ला अधिकारी पत्र बुझ्नसमेत गाह्रो मान्छन् ।’ कार्यालयमा धाउँदाधाउँदै हैरान भइसकेको उनको भनाइ छ ।

‘छोराबुहारीले विवाह भएको ५ वर्ष बितिसक्दा पनि नागरिकता नभएका कारण बच्चा जन्माएका छैनन्,’ उनकी आमाले सुनाइन् । छोराको जन्मदर्तासमेत गर्न लिन सकेका छैनन् । भक्तपुरमा छोराको जन्म भएको थियो । ललितपुरको साविक ठेचो गाविसबाट बसाइसराइको प्रमाणपत्र लिइसकेको छ । तैपनि नागरिकता पाइएको छैन ।

हाल उनीहरू भक्तपुरमा बस्छन् । श्रीमानको मृत्युको ८ वर्ष बितिसक्यो, मृत्य प्रमाणपत्र पनि पाइएको छैन । ‘सनाखतका लागि पत्रिकामा सुचना पनि निकालेका थिए । तर, सम्पर्कमा कोही आएनन्,’ उनले भने ।

ठेचोकी अर्की एक महिलाको समस्या पनि उस्तै छ । तामाङसँग प्रेमविवाह गरेर भागेपछि माइती पक्षले फर्काएर ल्याए । गर्भवती महिलाले सन्तान माइतीमै जन्माए । अहिले २५ वर्षीय छोरी छ । शिक्षण पेसा गर्छिन् । नागरिकता नभएर स्नाकोतर तह पढ्नबाट वञ्चित छन् । आमाको मृत्यु भइसकेको छ ।

आमाको नागरिकता फेला परेको छैन । दुवैको बालविवाह भएको थियो,’ उनले सुनाइन् । संविधानको भाग २ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता प्रदान गरिने व्यवस्था छ ।

आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले भदौ २२ मा नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका थिए । सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी भन्छन्, ‘ऐन संशोधन नभएर सर्वसाधारणले सास्ती भोग्नुपरेका छन् । संविधानमा भएर के गर्नु कार्यान्व्यन गर्न कानुन चाहिन्छ ।’

प्रकाशित : आश्विन २, २०७५ २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्